गुन (लघुकथा)

  २०७८ जेठ ६ गते १७:०१     विकासन्युज

काठमाडाैं । बैगुनी छ मान्छे । कोभिड-१९ को नयाँ भेरियन्ट देखा परेसँगै आक्रान्त छ मुलुक ।

कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढिरहेको छ । नफर्कने बाटो लाग्नेहरु बढिरहेका छन् । त्यसको त आत्मबल र उपचारका कारण सङ्क्रमण मुक्त हुनेहरुको सङ्ख्या पनि कम छैन । ७२ वर्षीय प्रेममाया पनि ५ दिनको उपचार पछि निको भएर आज अस्पतालबाट घर जाँदै छिन् । खुसी हुनुपर्ने हो तर अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा उनी रोएको देखियो ।

एकदिन भेन्टिलेटरमा प्रयोग गरिएको अक्सिजन र उपचार खर्च तिर्ने बेला उनी रोएको देखेर डाक्टरहरुले भने ‘नरुनोस् हामी तपाईंको उपचार खर्च बरु मिनाहा गर्दिन्छौं ।’

यो सुनेर उनले भनिन्- ‘म यो पैसा तिर्न नसकेर रोएकी होइन बाबु । म लागेको पैसा तिर्न सक्षम छु । मैले तिरेको पैसाले बरु अरु कोही दुःखीले उपचार पाओस् ।’

‘अनि किन रुनु भएको त ?’  नर्सको प्रश्नमा आमैले जवाफ दिइन् । ‘मैले ७२ वर्षसम्म प्रकृतिले दिएको वायु लिँदा कतै कहिल्यै एक रुपैयाँ पनि तिरिनँ । आज एकदिन अक्सिजन लिएको यति धेरै पैसा तिर्दै छु । प्रकृतिले कत्रो गुन लगाएको रहेछ हामीमाथि । भोलिका पुस्ताले प्रत्येक पल यस्तो महङ्गो ग्यासँ बोकेरै हिड्नुपर्ने अवस्था आउने हो कि भन्ने सम्झेर आँसु झरे बा ।’

यस्तो गुन बिर्सेर मान्छे प्रकृतिको दोहनमा लागेको पाउँदा दुःख लाग्छ । प्रकृतिको ऋण चुकाउन कम्तिमा प्रत्येक जन्मदिनमा एउटा वृक्षरोपण गरौं । अब चेतौँ है ! मेरो यही सन्देश छ सबैलाई । अन्तमा आमै मुस्कुराइन् ।

तारकेश्वर गापा-१ दाङसिङ नुवाकोट
हाल पोखरा-११

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.