होम आइसोलेसनमा बसेकालाई अक्सिजन कम भयो भनेर स्टेरोइड दिँदै हुनुहुन्छ ? एकछिन पर्खनुहोस्

  २०७८ जेठ ५ गते ९:०५     विकासन्युज

काठमाडौं । कोभिड संक्रमणका कारण होम आइसोलेसनमा बसेका व्यक्तिहरुमा अक्सिजनको तह एकदमै कम (अक्सिमिटरले नाप्दा ९४ भन्दा कम) भयो भने के गर्ने ? सबैभन्दा पहिला त नजिकको स्वास्थ्य केन्द्र वा अस्पतालमा लगिहाल्नु पर्छ ।

तर, कोभिड संक्रमणको दोस्रो लहर असाध्यै व्यापक मात्रामा बढेर धेरै व्यक्तिहरु एकैपटक विरामी परेका कारण अस्पतालमा बेड उपलब्ध छैनन्, बेड पाए पनि अक्सिजनको अभाव छ, भेन्टिलेटर र आइसीयु बेड खाली छैनन् भन्ने जस्ता समाचारहरु तपाई हामीले सुन्दै आएका छौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही साता अघि सार्वजनिक अपील प्रकाशित गरी अस्पतालमा बेड (शैय्या) उपलब्ध गराउन नसक्ने अवस्था आएकोले विशेष सतर्कता अपनाउन सर्वसाधारणसँग अनुरोध नै गरेको थियो ।

शरीरमा अक्सिजनको कमी भयो भने त्यस्तो व्यक्ति जिवित रहन गाह्रो हुन्छ । किनभने मानिसको लागि अक्सिजन नै प्रायवायु हो । अक्सिजनबिना मानिस बाँच्न सक्दैन ।

शरीरमा अक्सिजनको मात्रा एकदमै कम भयो तर तत्काल अस्पताल पुर्याउन पाइएन भने तत्कालको लागि आपतकालिन प्रयोगको रुपमा स्टेरोइड नामक औषधी प्रयोग गर्न सकिने संक्रमण रोग विषेशज्ञ डा. अनुप सुवेदीले केही दिनअघि सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गराएका थिए । ‘घरमा बस्दाबस्दै अक्सिजनको मात्रा घट्न थाले कोभिडका विरामीले के गर्नैपर्छ ? (भर्ना गरेर अक्सिजन, अन्य उपचार लिन नपाउँदा)’ भन्ने प्रश्न राखेर डा. सुवेदी आफ्नो सुझाव सुरु गर्छन् । र, जवाफमा उनी लेख्छन्– स्टेरोइड खान शुरु गरिहाल्ने ।

डा. सुवेदीको यो सुझावले नेपालमा तरंग नै पैदा गरिदियो । कतिपय डाक्टरहरुले नै सामाजिक सञ्जालमार्फत डाक्टरको प्रेस्किप्सन आउन हुँदैन भनेर असहमति जनाए । सर्वसाधारणले भने महामारीको यो बेलामा डा. सुवेदीले आम मासिनको ज्यान बचाउन पहल गरेको भन्दै उनलाई धन्यवाद दिए । स्वास्थ्य क्षेत्रसँग सम्बन्धित केही अधिकारीहरुले भने डा. सुवेदीको यो सुझावको कारण धेरैले स्टेरोइड किनेर राखेका कारण अस्पताल र डाक्टहरुले आवश्यक प्रयोगका लागि पनि नपाइने अवस्था आएको आरोप लगाए । डा. सुवेदीको सुझाव अनुसार जसले पनि स्टेरोइड प्रयोग गर्ने र त्यसको कारण उत्पन्न जोखिम भयावह हुने डर पनि विज्ञहरुमा देखिएको थियो ।

अखिर के हो स्टोरोइड ?

खासमा भन्ने हो भने कोभिड विरामीको लागि स्टेरोइड महत्वपूर्ण र प्राणदायी औषधी हो । स्टेरोइड शरीरको प्रतिरोधात्मक क्षमता घटाउन र सुन्निएको भागहरु कम गर्न प्रयोग गरिन्छ । गंगालाल अस्पतालको कोभिड वार्डमा काम गरिरहेकी नर्स बिना शेर्पाका अनुसार कोरोनाको असरले बिरामीको फोक्सो सुन्निएको अवस्थामा त्यसलाई कम गर्न स्टेरोइड प्रयोग गर्ने गरिएको छ ।

मिर्गाैला प्रत्यारोपण गरेका व्यक्तिहरुलाई स्टेरोइड नियमित रुपमा सेवन गराउने गरिएको डाक्टरहरु बताउँछन् । शरीरले बाहिरी अंगहरुलाई स्वीकार नगर्ने भएकोले मिर्गाैला प्रत्यारोपण गर्दा नयाँ मिर्गाैला आफ्नो अंग होइन भनेर शरीरले चिन्ने र सो अनुसार व्यवहार गर्दा प्रत्यारोपण गरिएको मिर्गाैलाले काम नगर्ने उनीहरुको भनाई छ । त्यसैकारण शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाएर प्रत्यारोपण गरिएको मिर्गाैला आफ्नै हो कि प्रत्यारोपण गरिएको हो भन्ने शरीरले नचिन्ने भएकोले सो मिर्गाैलाले काम गर्ने भएकोले स्टेरोइड औषधी प्रयोग गर्ने गरिएको छ ।

स्टेरोइडले शरीरमा रोग प्रतिरोधात्मक शक्तिलाई कमजोर बनाउने डाक्टरहरुले बताएका छन् । स्टेरोइड कोभिड महामारी अघिसम्म नेपालमा सहजै उपलब्ध हुने र प्रतिट्वाबलेट ३ रुपैयाँको हाराहारीमा पर्ने गरेको उत्पादकहरुले बताएका छन् । यो औषधी नेपालमा पनि उत्पादन हुने गरेको छ । स्टेरोइडको प्रयोग गरेपछि सो व्यक्तिमा सुगरको मात्रा अत्याधिक बढ्ने पनि डाक्टरहरुले बताएका छन् ।

औषधी उत्पादक संघका महासचिव विप्लप अधिकारीका अनुसार ५/६ वटा कम्पनीहरुले यसको उत्पादन गर्दछन् । यो औषधी उत्पादन गर्नेमा ओम्निका, लोमस जस्ता कम्पनीहरु छन् । नेपालमा नै यो औषधीको पर्याप्त उत्पादन हुने उनले बताए । उनका अनुसार नेपालमा मुख्य गरेर लो डोजको स्टेरोइडको प्रयोग हुन्छ ।

गत वर्षको भदौमा न्यूयोर्क टाइम्सले एउटा समाचार सामग्री प्रकाशित गरेको थियो । सो समाचारमा कोभिड विरामीको लागि स्टेरोइड उपयोगी हुन सक्ने प्रमाणित भएको उल्लेख गरिएको थियो ।

न्यूयोर्क टाइम्समा सो सामाचार सार्वजनिक भएपछि हिमालखबरडटकमले सो सम्बन्धी समाचार प्रकाशित गरेको थियो । ‘ कोरोनाबाट हुने मृत्युको जोखिम कम गर्न स्टेरोइड प्रभावकारीः अध्ययन’ शिर्षकमा प्रकासित समाचारमा कोभिड विरामीको जीवन बचाउन स्टेरोइड उपयोगी हुने निष्कर्ष निकालिएको उल्लेख गरिएको थियो ।

यस्तो थियो हिमालको समाचार

कोरोनाबाट हुने मृत्युको जोखिम कम गर्न स्टेरोइड प्रभावकारीः अध्ययन

एक अन्तर्राष्ट्रिय अध्ययनले कोभिड-१९ का गम्भीर बिरामीको जीवन बचाउन सस्तो र सहजै उपलब्ध स्टेरोइड उपयोगी हुनसक्ने निष्कर्ष निकालेको छ ।

अन्तर्राष्ट्रिय रुपमा गरिएको स्टेरोइड समुहका औषधिको क्लिनिकल परीक्षण बारे बुधबार यस्तो नतिजा सार्वजनिक भएसँगै विश्व स्वास्थ्य संगठनले स्टेरोइड प्रयोगको निर्देशिका पनि जारी गरेको छ ।

निर्देशिकामा यो स्टेरोइडले कोरोनाका सामान्य लक्षण देखिएकामा नभइ गम्भीर बिरामीको उपचारमा निकै उपयोगी हुनसक्ने बताइएको छ ।

नयाँ अध्ययनले तीन वटा स्टेरोइड समूहका औषधी बारे सात वटा क्लिनिकल परीक्षण गरेको थियो । यी तीन स्टेरोइड औषधी १७ सय बिरामीमा परीक्षण गरिएको थियो । वैज्ञानिकले सुझाएका यी स्टेरोइडमा डेक्सामेथासोन, हाइड्रोकोर्टिसोन र मिथाइलप्रेड्निसोलोन रहेका छन् ।

द जर्नल अफ दि अमेरिकन मेडिकल एसोसिएसनमा प्रकाशित उक्त प्रतिवेदन र यससँग सम्बन्धित अन्य तीन अध्ययनहरुले कोरोनाका गम्भीर बिरामीमा फस्र्ट लाइन औषधिका रुपमा यी स्टेरोइड्स प्रयोग गर्न सकिने जनाएको छ ।

‘यसले कोरोना संक्रमित बिरामीको उपचारमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ’, अध्ययनलाई व्याख्या गर्दै जर्नलको सम्पादकीयमा लेखिएको छ ।

अध्ययनले स्टारोइड औषधिले कारोनाका बिरामीकोे मृत्युलाई एक तिहाईले घटाउने दाबी पनि गरेको छ । कोरोना उपचारमा डेक्सामेथासोन औषधिले अहिलेसम्मकै सबैभन्दा राम्रो नतिजा निकालेको छ ।

यो स्टेरोइड प्रयोगबाट तीन फरक परीक्षणमा १२८२ कोरोना संक्रमित बिरामीको उपचार गरिएकोमा ३६ प्रतिशतले मृत्युदर घटाएको अध्ययनले जनाएको छ ।

पख्नुस् ! आफै प्रयोग नगर्नुस्

संक्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदीले घरमा बसेका कोरोना संक्रमितलाई अक्सिजनको मात्र घट्दै गए भर्ना गरेर अक्सिजन दिनुपर्ने र यदि सम्भव नभए स्टोरोइड औषधी खान सुझाव दिएका छन् । सँगै उनले अक्सिजन नघटी यो सुरु गरे हानी हुनसक्ने तर, अक्सिजन घट्न थाल्ने बित्तिकै यो औषधी शुरु गर्दा प्राण जोगाउन मद्दत गर्ने देखिएको भनेका छन् ।

डाक्टरहरुका अनुसार सामान्य लक्षण र अवस्था भएका कोभिड विरामीले स्टेरोइडको प्रयोग गर्नु पर्दैन । यदि, एक हप्तासम्म अक्सिजनको लेभल ९४ प्रतिशतभन्दा घट्दै गएर घाँटी र फोक्सोमा समस्या भएर ज्वरो आएको अवस्थामा स्टेरोइड प्रयोग गर्न डाक्टरहरु सुझाव दिन्छन् ।

विज्ञका अनुसार एउटा बिरामीलाई स्टेरोइड दिने कि नदिने भन्ने एउटा मात्र कारण छैन । यस्ता धेरै कारणहरु छन्, जसले बिरामीलाई स्टेरोइड दिन आवश्यक छ कि छैन भनेर निर्धारण गर्दछ । यो बिरामीपिछे फरक पर्न सक्छ । कुनै पनि बिरामीको कोभिडकले फोक्सोमा गरेको असरको कारण सास फेर्न समस्या भइरहेको छ भने उसलाई अनिवार्य स्टेरोइड दिइनुपर्छ ।

‘कोभिड विरामीको उपचारका लागि हामीले स्टेरोइड प्रयोग गर्ने गरेका छौं तर, कस्तो व्यक्तिलाई दिने, कति मात्रा दिने, त्यसको प्रयोगका कारण अर्काे प्रकारको समस्या देखियो भने के कस्ता औषधी प्रयोग गर्ने भन्ने जस्ता धेरै पक्षको अध्ययन गरेर असाध्यै संवेदनशील भएर मात्र स्टेरोइड प्रयोग गर्ने गरेका छौं,’ टेकु अस्पतालका संक्रमण रोग विषेशज्ञ डा. शेरबहादुर पुन भन्छन् ।

विज्ञका अनुसार कोभिड संक्रमण भएको ४ देखि ५ दिनसम्मम स्टेरोइड नदिई शरीरकै रोग प्रतिरोधात्मक क्षमतालाई रोगसँग लड्न दिनुपर्छ । किनभने स्टेरोइडले शरीरको प्रतिरोधात्मक क्षमतालाई दबाउँछ, जसले संक्रमणसँग लड्न सक्ने क्षमतालाई कम गर्दछ । त्यसैले स्टेरोइडलाई संक्रमण भएको कम्तिमा पनि पहिलो ५ दिन प्रयोग गर्नुहुँदैन । डा. पुन भने आफूहरुले संक्रमण पुष्टी भएको वा लक्षण देखिएको ८ देखि १० दिनपछि मात्रै आवश्यक परेमा स्टेरोइड दिने गरेको बताउँछन् ।

भारतमा फेला पर्यो अर्काे डरलाग्दो तथ्य

बीबीसी हिन्दीले बैशाख २६ गते (मे ९ मा) कोभिड र म्यूकरमायोकोसिस रोगबारे एउटा लामो स्टोरी प्रकाशित गरेको छ । सौतिक विश्वासको बाइलाइनमा लेखिएको सो स्टोरीमा कोभिड विरामीलाई दिइएको स्टेरोइडका कारण म्यूकरमायोकोसिस भएको उल्लेख गरिएको छ । म्यूकरमायोकोसिसका कारण कोभिड संक्रमितलाई निको भएपछि ‘ब्ल्याक फंगसन’ भएको सो समाचारमा उल्लेख छ ।

ब्ल्याक फंगसन कोभिडबाट निको भएका तर स्टेरोइड औषधी सेवन गरेका व्यक्तिहरुलाई हुने गरेको सो समाचारमा उल्लेख गरिएको छ । केही व्यक्तिहरुका आँखामा ब्ल्याक फंगसन देखिएको, कसैको नाक वा घाटीमा देखिएको समाचारमा उल्लेख गरिएको छ । यसको संक्रमणले दिमागमा पनि असर पर्ने बताइएको छ । आँखामा ब्ल्याक फंगसन देखिएका एक विरामी महिलाका आँखा नै झिकिएको विषय पनि समाचारमा उल्लेख गरिएको छ ।

म्यूकरमायोकोसिस एक दुर्लभ संक्रमण हो । यसको संक्रमण भएका व्यक्तिहरुको मृत्यूदर ५० प्रतिशतसम्म हुने दाबी गरिएको छ । कोभिड संक्रमणका कारण अहिलेसम्म मृत्यू हुनेको संख्या ४ प्रतिशतको हाराहारीमा भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरिरहेका छन् ।

म्यूकरमायोकोसिस संक्रमण भएका व्यक्तिहरुमा आँखाको ज्योति गुम्ने, दिमाग बिग्रने जस्ता धेरै असर देखिने सो समाचारमा उल्लेख गरिएको छ । यो रोगको संक्रमण भएमा एन्टी फंगसन इक्जेक्सन दिनु पर्ने र सोको मूल्य प्रतिडोज ३५ सय भारु पर्ने बीबीसी हिन्दीले जनाएको छ । यो खोप ८ हप्तासम्म प्रत्येक दिन लगाउनु पर्ने पनि उल्लेख गरिएको छ ।

सम्बन्धित सामग्री

होम आइसोलेसनमा बसेकालाई अक्सिजन कम भए कुन औषधी खाने ? डा. अनुप सुवेदीको सल्लाह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.