तल्लाे डाेल्पामा नमस्ते मोबाइल फोनका टावर संचालन, रुख चढेर फोन गर्नुपर्ने अवस्था हट्यो

  २०७८ जेठ ४ गते १४:२०     ­रामचन्द्र न्यौपाने

डोल्पा । तल्लो डोल्पाअन्तर्गत पर्ने मुड्केचुला गाउँपालिकाले एकै पटक तीनवटा मोवाइल टावर सञ्चालनमा ल्याएको छ । लामो समयदेखि सञ्चार सेवाको असुविधा भोग्दै आएको गाउँपालिकाले एकैपटक ‘टु जी’ इन्टरनेट सेवासहितका तीनवटा नमस्ते मोबाइल फोन सेवाका टावर सञ्चालनमा ल्याएको हो ।

भौगोलिक विकटताका कारण विगतदेखि नै फोन सेवाको समस्या भोग्दै आएको मुड्केचुलामा करीब ४२ लाख खर्चमा नमस्ते सेवाका मोवाइल तीनवटा टावर एकैपटक सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।

‘टावर निर्माणका लागि आवाश्यक यन्त्र उपकरण नेपाल टेलिकमले उपलब्ध गराएको हो, निर्माणस्थलसम्म सामान ढुवानी गर्न तथा जडानका लागि लागेको सबै रकम गाउँपालिकाले खर्च गरेको छ’, अध्यक्ष शाहीले भने ।

टावर निर्माणसँगै गाउँपालिकाका नौवटै वडामा सञ्चार सेवामा जोडिनुका साथै जाजरकोट र रुकुम केही क्षेत्रमा पनि फोनले राम्रो काम गर्ने गरेको अध्यक्ष शाहीले बताए । गाउँपालिका भित्र पर्ने ओक्ट, प्यारी लेक, पाती हाल्नामा टावर खडा गरिएको छ ।

घरबाटै फोन सेवा

गाउँपालिकाले टावर निर्माण गरेसँगै स्थानीयवासी खुशी भएका छन् । घर आँगनबाटै देश विदेशमा कुरा गर्न पाउँदा निकै खुशी लागेको वडा नं १ बस्ने स्थानीय ओमबहादुर रोकायले बताए । ‘पहिला फोन गर्न अग्लाडाँडा, ढुङ्गा र रुख चढ्नु पथ्र्यो, खबर आदानप्रदान गर्न मान्छे नै कुदाउनु पर्ने अवस्था थियो, अहिले घरमै बसेर टाढाटाढा रहेका आफन्तहरुसँग ढुक्कले कुराकानी गर्न पाइएको छ’, रोकायले भने ।

यसअघि भरपर्दो फोन सेवा नहुँदा पुरानै युगमा बाँचे जस्तो हुने गरेतापनि अहिले गाउँघरका सबै सर्वसाधारणले सुविधा पाएको रोकायको भनाइ छ । कर्णाली प्रदेश सांसद वीरबहादुर शाहीको विशेष पहलमा तीन वर्षअघि जगदुल्ला, मुड्केचुला गाउँपालिका र त्रिपुरासुन्दरी नगरपालिकामा छ वटा मोवाइल टावर स्वीकृत भएका थिए ।

आजभन्दा तीन वर्षअघि काठमाण्डौ पुगेको स्थानीय जनप्रतिनिधिसहितको टोलीले एउटा स्थानीय तहमा दुईवटा टावर बनाउने गरी छ वटा टावर सुचना तथा सञ्चार प्रविधि मन्त्रालयबाट स्वीकृत गराएको सांसद शाहीले बताए । ‘त्यसमध्ये मुड्केचुलाले बनाइसकेको छ, जगदुल्लामा गाउँपालिकामा सक्रियतामा टावर निर्माणको ७० प्रतिशत धेरैकाम भइसकेको छ, त्रिपुरासुन्दरीमा स्थानीय तहले चासो नदिँदा दुईवटै टावर नेपालगञ्जमा अलपत्र परेको छ’, सांसद शाहीले भने ।

आफ्नो निर्वाचन क्षेत्रमा पर्ने उपल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउँपालिकाअन्तर्गत पर्ने साल्दाङ्ग, शे–फोक्सुण्डोलगायतका क्षेत्रमा टावर स्वीकृत गराउनका पनि आफूले सहयोग गरेको बताउनुभयो । टेलिफोन जस्तो आधारभूत सेवा प्राप्त गरेपछि स्थानीयवासी सूचना र सञ्चार प्रविधिमा जोडिन पाएको भन्दै खुशी भएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.