छाङ्गरुदेखि कालापानी जाने बाटो निर्माण गर्दै दार्चुलाकाे व्यास गाउँपालिका

  २०७८ जेठ ४ गते १३:५९      नरेन्द्रसिह कार्की

फाइल फाेटाे

दार्चुला । व्यास गाउँपालिका ­१ छाङ्गरुदेखि भारतले अतिक्रमण गरेको कालापानी भूमि पुग्ने गरी घोेरेटो बाटो निर्माण सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको व्यास विषेश कार्यक्रम अन्तर्गत घोरेटो बाटो निर्माण भइरहेको हो ।

व्यासको छाङ्गरुबाट कालापानी जाने बाटो ठाउँठाउँमा पहिरो गएर भत्किएपछि अहिले प्रदेशको विशेष कार्यक्रमअन्तर्गत निर्माण भइरहेको हो । यसअघि सो क्षेत्रमा पञ्चायतकालमा घोरेटो बाटो निर्माण गरिएको थियो । पञ्चायतकालयता मर्मत हुन नसकेको बाटो अहिले आएर प्रदेश विशेष योजनाअन्तर्गत निर्माण भइरहेको छ ।

प्रदेश सरकारको ३० लाखमा छाङ्गरुदेखि कालापानी जोड्ने बाटो निर्माण तथा बाटो मर्मतको काम भइरहेको वडा नं १ का वडाध्यक्ष अशोकसिंह बोहराले बताए । छाङ्गरुदेखि कालापानीसम्म झण्डै १४ किलोमिटर बाटो पर्दछ । उनले भने, ‘यो क्षेत्रमा पञ्चायतकालमा छाङ्गरुको स्थानीय कालापानी भएर तिब्बत व्यापारमा जाने बाटो हो । त्यो बेला यो क्षेत्रमा फराकिलो र घोरेटो बाटो थियो ।’ भत्किएका केही ठाउँमा नयाँ बनाइएको उनले जानकारी दिए । उनी भन्छन्, ‘अहिले यो बाटो विगतकै जस्तो चौडा बाटो निर्माण भइरहेको छ ।’

विगतमा स्थानीयवासीले आवतजावत गर्दै आएको यो बाटो पछिल्लो समय भारतले कालापानीमा आफ्नो सेना राखेपछि स्थानीयलाई आवतजावतमा रोक लगाएको छ । तीन वर्ष अघिसम्म स्थानीयले सहज रुपमा कालापानी क्षेत्रसम्म पूजा गरेर आउँथे । नेपालले आफ्नो भूमि भएको दाबी गर्दैै नक्सा प्रकाशन गरेपछि भारतले झन नेपालको भूमि मिचेर अगाडि बढेको उनको भनाइ छ ।

‘हाम्रा बुबा बाजेहरु चीनको तिब्बत जाने, घोडा खच्चड लिएर हिड्ने पुख्र्यौली बाटो यहि हो’, व्यास १ का विमल बोहराले भने, ‘ठाउँठाउँमा अहिले पनि खच्चड बस्ने पडाउहरु छन् । भत्किएका घरहरु अहिले पनि देखिन्छन् । अहिले भारतले माथिल्लो कौवाभन्दा माथि जान रोक लगाएको छ ।’

निर्माणाधीन बाटोको जनप्रतिनिधि र सशस्त्र प्रहरीको टोलीले संयुक्त टोलीले अनुगमन गरेको छ । वडाध्यक्ष बोहरा तथा छाङगरुस्थित ५० नम्बर गुल्मका सशस्त्र प्रहरीका डिएसपी धीरेन्द्र शाह नेतृत्वको सशस्त्र टोली टोलीले केही सिमयअघि घोरेटो बाटोको अनुगमन गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले व्यासमा विशेष कार्यक्रम सञ्चालन गरेको छ । भारतले लिपुलेक सडकको उद्घाटनपश्चात त्यस क्षेत्रमा भ्रमणमा पुगेका सुदरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले व्यास क्षेत्रका लागि प्रदेश सरकारले विषेश प्याकेज ल्याउने घोषणा गरेका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.