भेन्टिलेटर तथा अक्सिजन प्लान्ट बनाउन भक्तपुरका तीन अस्पताललाई आठ करोड रूपैयाँ

  २०७८ जेठ ३ गते १८:२८     विकासन्युज

फाइल फाेटाे

काठमाडौं । कोभिड-१९ को दोश्रो लहरको महामारीमा भक्तपुरमा कोभिड सङ्क्रमितको उपचार गर्ने दुई अस्पताल र नयाँ बन्दै गरेको अस्पताललाई सरकारले ८ करोड एक लाख ७० हजार रूपैयाँ बजेट विनियोजन गरेको छ । अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालय मार्फत स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजना अन्तर्गत अस्पतालमा आवश्यक भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्क बनाउन सो रकम दिने भएको हो ।

भक्तपुर अस्पताललाई तीन करोड ८० लाख रुपैयाँ, मध्यपुरथिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई तीन करोड १२ लाख ७० हजार रुपैयाँ र सूर्यविनायक नगर अस्पताललाई एक करोड नौ लाख रुपैयाँको बजेट विनियोजन भएको सांसद महेश बस्नेतले जानकारी दिए । अस्पतालहरुमा कोरोना सङ्क्रमित बिरामीको चाप बढ्दै गएपछि स्वास्थ्य पूर्वाधार विस्तार गर्न अर्थमन्त्रीलगायतसँग छलफल गरेर बजेट व्यवस्थापन गर्न सकिएको सांसद बस्नेतले बताए ।

त्यसैगरी सांसद बस्नेतको सांसद विकास कोष र सूर्यविनायक नगरपालिकाको बजेटमा आगामी १० दिनभित्र सूर्यविनायक नगरपालिका-८ जगातीमा सञ्चालनमा आउन लागेको ५० शय्याको नवनिर्मित सूर्यविनायक नगर अस्पतालमा १५ शय्याको हाइ केयर युनिट (एचडियु) सञ्चालन गर्न सरकारले उक्त रकमको व्यवस्था गरेको हो ।

सरकारले बजेटको व्यवस्था गरे पनि आउन समय लाग्ने भएकाले बजेटको निकासा छिटो गरिदिन वा सोही बजेट बराबरको सामान तत्काल उपलब्ध गराइदिनुपर्ने अस्पतालहरुको माग छ । सङ्घीय सरकारले प्रदेश सरकार मार्फत बजेट पठाउने भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.