केन्द्र र प्रदेशले वास्ता नगरेपछि धनगढी उपमहानगरले गर्यो सहयोगको अपील, पैसा उठाउन अभियान सञ्चालन

  २०७८ जेठ ३ गते १६:३६     राजिव न्याैपाने

काठमाडौं । समस्या समाधानको लागि भनेर एउटा सरकारी निकायले सर्वसाधारसँग पैसाको सहयोग मागेको तपाईंले बिरलै सुन्नु भएको होला । तर, सुदूरपश्चिमको धनगढीमा यस्तै भएको छ । कैलालीको धनगढी उपमहानगरपालिकाले कोरोना नियन्त्रणका लागि खर्च चाहिने भन्दै सर्वसाधारण, नागरिक अभियान्ता दातृ निकाय तथा व्यवसायीहरुलाई सहयोगको अपील गरेको छ ।

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढी उपमहानगरपालिकाले मेयर कल्याणकारी कोष भन्दै पैसा जुटाउन एक अभियान सञ्चालन गरेको हो । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि धनगढीमा आवश्यक स्वास्थ्य सामग्री नभएपछि उपमहानगरपालिकाले स्वास्थ्य सामग्री जुटाउन सहयोगको अपील गरेको हो ।

कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि केन्द्र र प्रदेश सरकारले वास्ता नगरेको र कोरोना संक्रमितको मृत्यु हुने संख्या दिनप्रतिदिन बढ्दै गएको भन्दै उपमहानगरपालिकाले सहयोगका लागि अभियान सञ्चालन गरेको धनगढी उपमहानगरपालिकाकी उप–मेयर सुशिला मिश्र भट्टले बताइन् ।

‘अहिले धनगढीमा कोरोना संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ, मृत्यु हुनेहरुको संख्या पनि बढ्दै गएको छ, आजसम्म हामीले केन्द्र र प्रदेश सरकारले सहयोग गर्छ भनेर पर्खेर बसेका थियौं, तर अहिले सम्म त्यस्तो कुनै सहयोग र कोरोना नियन्त्रणका लागि प्रयास नगरेपछि हामीले हतारिएर यो अभियानको सञ्चालन गरेका हौं,’ उपमेयर मिश्रले विकासन्युजसँग भनिन् ।

उनका अनुसार उपमहानगरपालिकाले एक हप्ता अगाडि मात्रै सो कोष स्थापना गरेको हो । कोरोना संक्तमितहरुको संख्या बढ्दै गएपछि जिल्लामा अक्सिजनको समेत अभाव भएको उनको भनाई छ । उनका अनुसार हालसम्म सो कोषमा .४५ लाख रुपैयाँ जम्मा भइसकेको छ ।

‘हामी कोषमा जम्मा भएको रकमले अक्सिजन प्लान्ट जडान, अक्सिजन सिलिण्डर व्यवस्थापन, कोभिड–१९ जोखिम नियन्त्रण, रोकथाम तथा उपचार व्यवस्थापनका लागि खर्च गर्नेछौं, सो कोषमा उपमहानगरपालिकाको आपतकालिन् कोषको पैसा पनि राख्नेछौं, त्यसमा जनप्रतिनिधि र कर्मचारीहरुले पनि सहयोग गर्नेछन्, जन,प्रतिनिधि र कर्मचारीले सो कोषमा कति रकम राख्ने भन्न बारे कार्यपालिकाले निर्णय गर्नेछ, अहिलेको हाम्रो मुख्य प्राथमिकता नै कारोना भाइरसको नियन्त्रण गर्ने हो,’ उनले भनिन् ।

आर्थिक सहयाेग थाप्दै मेयर नृप वड

उनले सहयोग गर्न चाहने सर्वसाधारण, व्यवसायी दातृ निकाय तथा सामाजिक अभिायान्ताहरुले उपमहानगरपालिकाको खाता नम्बर १४७०१०००३०७०२०००२ मा सहयोग गर्न पनि अनुरोध गरेकी छन् ।

धनगढीमा एउटा मात्रै अक्सिजन प्लान्ट रहेको पनि उनले जानकारी दिइन् । धनगढीमा एउटा मात्रै अक्सिजन प्लान्ट छ, त्यो पनि डेढ घण्टमा ९ वटा मात्रै सिलिन्डर भर्न सक्ने क्षमताको छ, अक्सिजन अभावकै कारण धेरैले ज्यान गुमाएका कारण र केन्द्र र प्रदेश सरकारले कुनै वास्ता नगरेपछि हामीले हतारिएर यस्तो अभियान सुरु गरेका हौं,’ उनले गुनासो गरिन् ।

कैलाली छिमेकी देश भारतसँग जोडिएको भएकाले पनि धेरै जोखिम भएको उनको भनाई छ । कोरोनाको जोसिखम नियन्त्रण गर्नकै लागि जिल्ला प्रशासन कार्यालय कैmलालीले जेठ १६ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

‘उपमहानगरपालिका पनि आफै आर्थिक संकटमा छ, गत वर्षदेखि राजश्व उठेको छैन, यो वर्ष पनि फेरि निषेधाज्ञाले समस्या भएको छ, यो अवस्था कलिेसम्म लब्निे हो थाहा छैन, अहिलेको प्रमुख दायित्व नागरिकको ज्यान बचाउनु नै हो,’ उनले भनिन् ।

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै पालिकाले सचेतनाका मूलक विभिन्न सूचनाहरू पनि प्रकाशन गरी माइकिङ पनि गर्दै आएको पनि उनले बताइन् । उनका अनुसार धनगढी उपमहानगरपालिकाले पीसीआर परीक्षण पनि निःशुल्क गर्दै आएको छ ।

सुदूरपश्चिम प्रदेशमा कुल संक्रमितको संख्या ३० हजार ४ सय २० पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमणबाट ३ सय ३४ जनाको मृत्यु भएको छ ।

सहयाेगीहरूकाे नामावली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.