बैंकका कर्मचारीको बेथाः जति चोटी मर्ज, उति चोटी नोकरी चट्

  २०७८ जेठ ३ गते १२:०४     सुशिल घिमिरे ‘त्रैलोक्य’

आज विहान कार्यालय जाने क्रममा धेरै दिन पछि मेरे एकजना बैंकमा काम गर्ने पुरानो साथी भेट् भयो । धेरै दिनपछि भेट भएकोले म खुशीले गद्गद् हुदै उसको हालखवर सोध्न थाले ।

के छ यार ? धेरै दिन पछि भेट् भयो… के छ तिम्रो खवर ? के छ परिवारको खवर…?

सोधेको मात्र थिएँ– उसले ठिक छैन् यार भन्दै निदाउरो अनुहार लगायो ।

मैले फेरि सोधेँ– किन र के भयो ? पुनः प्रश्न गरें ।

जवाफमा उसले हाम्रो बैंक मर्जरमा जाने भयो नि ! उसले भन्यो ।

अनि मैले फेरि भनेँ– यो त खुशीको कुरा होइन र ? मेरो सहानुभूतिका शब्दप्रति उसको कुनै चासो देखिएन । काम गरिरहेको विकास बैंक मर्जरमा जाने र मर्जरमा गएपछि आफूले काम गरिरहेको सानो संस्थाका कर्मचारी राख्न पनि सक्ने वा नराख्न पनि सक्ने कुरा सुनायो । राखिहाले पनि परीक्षा दिनु पर्ने र पास भएपछि मात्र राख्नको लगि सिफरिस हुने कुरा सुनायो । उसको त्यस्तो कुरा सुनेर मेरो मन खिन्न भयो ।

यो त एउटा उदाहरण मात्र हो ।

नेपाल रास्ट्र बैंकको विगतको अदुरदर्शी निर्णयले ५० र ६० को दशकमा देशमा इजाजतपत्र प्राप्त गर्दै धमाधम बैंक, विकास वंैक , माइक्रोफाइनान्स, बीमा लगायत आर्थिक कारोबार गर्ने संस्थाहरु खुले । त्यस लगतै शहर केन्द्रित र मुनाफमुमी भएको भन्दै फेरि रास्ट्र बैंकले नाफामुखी संस्थालाई वाध्यात्मक परिस्थितिको सिर्जना गराई गाउँ गाउँमा शाखा विस्तार गनुपर्ने नभए शहरमा शाखा विस्तार गर्न नपाउने कुराले अकुंश लगायो ।

फलस्वरुप धमाधम शाखाहरु गाउँ गाउँमा खुले । शाखा खुलेपछि कर्मचारी आवश्यक भयो । र, एउटा युवा जमात जो अमेरिका, अस्ट्रेलिया वा कुनै युरोपियन देश जाने र आफनो भविश्य सुरक्षित गर्ने सपना देखिरहेको थियो उसले आफ्नै देशमा धमाधम बैंक र वित्तीय संस्थाको शाखाहरु आफ्नै गाउँ गाउँमा खुलेको देख्दा राजगारी देख्यो । सुन्दर भविष्यको सपना देख्यो ।

विगतमा नेपालमा कसैले पनि सायद सोचेको थिएन् होला, नेपालको वित्तीय क्षेत्र यति ठुलो बन्छ र करिब एक लाखलाई रोजगारी दिन सक्छ भनेर । तर, आज पनि बैंकिङ क्षेत्रमा रोजगारी र भविश्य देखिरहेको अर्को नयाँ पुस्ता वित्तीय क्ष्ोत्रमा रोजगारीको पर्खाइमा भइरहेको वेला, आर्थिक वर्ष २०७२/७३ को मौदिक नीतिमार्फत नेपाल रास्ट्र बैंकले वाणिज्य बैंकहरुलाई चुक्ता पुँजी दुई अर्ब रुपैयाँबाट आठ अर्ब रुपैयाँ पुर्याउनु पर्ने व्यवस्था गर्यो । साविकको चुक्ता पुँजीबाट चार गुणा पुँजी वढाउनुपर्ने कुरा सवै बैंकहरुलाई टाउको दुखाइको विषय र काम भयो ।

बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा जानुको विकल्प रहेन । यसले नयाँ पुस्ता प्रवेशको वाटो मात्र असहज वनाएन कि मर्जरले दोहोरिएको शाखाहरु धमाधम बन्द भए, ठूला भनिएका संस्थाहरुले प्राप्ति भई आएका संस्थाका कर्मचारी राख्ने कि नराख्ने भन्नेसम्मका निर्णय गर्ने भए । पहिला जागिर गरिरहेको संस्था मर्जर एक्वीजीसनपछि भएको नयाँ संस्थामा काम गर्नको फेरि परीक्षा दिनु पर्ने वाध्यात्मक पस्थितिको सिर्जना भयो । जसले खाइरहेको पदभन्दा घटुवामा नोकरी गर्नुपर्न वाध्यता सिर्जना भयो । सम्मानमा ठेस पुगेको भन्दै कयौंले नोकरी छोडे ।

एउटा संस्थाले अर्को संस्थालाइ मर्ज गर्छ वा प्राप्ती गर्छ भने उसले त्यो संस्थाको पुँजी तथा दायित्व सवै स्वीकारेको हुन्छ । राम्रो नराम्रो सवै स्वीकारेको हुन्छ संस्था स्वीकारेपछि । त्यही संस्थालाई विगतदेखि यहाँसम्म ल्याइपुर्याउने र रातदिन नभनी काम गर्ने कर्मचारीलाई समान पदमा स्वीकार्न किन हिचकिच ? परीक्षा भनेको त प्रमोशनको लागि पो लिने कुरा हो नि, हैन ? समान पदमा बस्नको लागि पनि परीक्षा दिनु पर्ने ? झन् ठूला संस्थाहरुले सानो संस्थाहरुका कर्मचारीलाई कसरी सहज वातावरणमा काम गर्न सकिन्छ भन्दै सोच्नु पर्ने होइन ? संम्बन्धित बैंक तथा वित्तीय संस्थाका व्यवस्थापकले र नेपाल रास्ट्र बैंकले पनि मर्जपछि कर्मचारीको हक हितको कुरालाई लिएर स्पस्ट नीति बनाउनु पर्ने देखिन्छ । अन्यथा संस्था मर्ज हुने तर कर्मचारी मर्ज नहुने हो भने कर्मचारीका लागि मर्ज भन्ने कुर जति चोटी मर्ज उति चोटी नोकरी चट नहोला भन्न सकिदैन ।

One comment on "बैंकका कर्मचारीको बेथाः जति चोटी मर्ज, उति चोटी नोकरी चट्"

  • Kamal Kumar Pradhan says:

    अचानाेकाे पिर खुकुरीलाई के थाह ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.