गाउँपालिकामै कोभिड अस्पताल निर्माण गरेका छौं – अध्यक्ष केसीसँगको कुराकानी

  २०७८ वैशाख ३१ गते १६:०७     विकासन्युज

नेपालको कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लाको पूर्वी उत्तर क्षेत्रमा अवस्थित प्राकृतिक रूपमा सुन्दर एवं रमणीय गाउँपालिका हो सिम्ता गाउँपालिका । ९ ओटा वडा रहेको यस गाउँपालिकामा २०६८ सालको जनगणना अनुसार २५ हजार ८ सय ४५ जनाको बसोबास रहेको छ । यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा चर्चित हुनुका साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक रूपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ । यस गाउँपालिकामा कृषि विकासका लागि के–कसरी काम हुँदै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष कबिन्द्र कुमार केसीसँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानी गरेका छन् ।

कोरोनाको संक्रमण पुनः बढ्न थालेको छ, संक्रमण दरलाई न्यूनिकरण गर्नको लागि कस्तो भूमिका खेल्दै हुनुहुन्छ ?

कोरोना संक्रमण दर बढ्न थालेपछि नागरिकहरूलाई स्वास्थ्य मापदण्ड अपनाउन अपिल गरेका छौं । कोभिड अस्पताल निर्माण गरी आइसोलेसन कक्ष पनि तयार गरेका छौं । पालिकामा हाल ५० ओटा आइसोलेसन कक्ष रहेको छ । हालसम्म आइसोलेसनमा कसैलाई पनि राख्नुपर्ने अवस्था आएको छैन । हामीले भोजभतेर तथा आमसभाका नाममा धेरै भिडभाड नगर्न पनि आग्रह गरेका छौं । पालिकामा प्रवेश गर्दा मास्क तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरेका छौं । संक्रमण विस्तार रोक्न बजार, विद्यालय, विभिन्न संघ संस्थाहरूमा भिडभाड कम गर्न पनि आग्रह गरेका छौं । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै पालिकाले सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गरेका छौं ।

पालिको तथ्याङ्क अनुसार गत वर्ष भारतबाट फर्किने मानिसको संख्या ४१ सय भन्दा माथि थियो । हाल भारतबाट आएका ५३ जनाको पीसीआर गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरू पनि हाल केही निको भएका छन् भने केही होम आइसोलेसनमा छन् । भाइरल ज्वरोको मौसम भएको कारणले पालिकाको धेरै नागरिकहरूलाई कोभिडसँग सम्बन्धीत लक्षण देखिएको छ । हामीले २ ओटा स्वास्थ्यकर्मीको टिम बनाएर नागरिकको घरघरै पुगेर स्वास्थ्य सेवा सुचारु पनि गरेका छौं । कोरोना भाइरसले विश्वलाई नै त्रसित बनाएको अवस्थामा पालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टिम जनताको घरदैलोमा पुगी स्वास्थ्य परीक्षण तथा उपचार अभियान सञ्चालन गरेका छौं । अन्य बिरामी भए पनि कोरोनाको शङ्का आम नागरिकलाई उब्जिएको अवस्थामा पालिकाले जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै कोरोना बाट बच्ने सचेतनासँगै घरदैलोमा स्वास्थ्य सेवा दिइरहेको छ ।

कोभिड संक्रमणलाई नियन्त्रण गर्नको लागि अक्सिजन सहितको एबुलेन्सको व्यवस्था पनि मिलाएका छौं । संक्रमण दर गत सालभन्दा भयावह भइरहेको छ तर हालसम्मको अवस्थालाई मध्यनजर गर्दा कोरोनाको प्रभाव उच्च भइसकेको छ । कोरोना न्यूनिकरण गर्नको लागि पूर्वतयारी अवस्थामा जुटेका छौं । कोभिडको बिरामीहरूलाई पालिकामा नै उपचार गर्ने तयारीमा छौं । यस समयमा बाहिरी जिल्लाबाट पालिकामा प्रवेश गर्ने नागरिकहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्नको लागि अपिल गरेका छौं ।

गाउँपालिकाले कृषिक्षेत्रतर्फ के–कस्ता काम गरिरहेको छ ?

हामीले कृषि विकासको लागि धेरै काम गर्दै आएका छौं । यहाँका धेरै नागरिकहरूले कृषि पेसा नै अँगालेका छन् । कृषि विकासको लागि पहिलो गाउँसभाबाट केही लक्ष्य तय गरेका थियौं । ‘जनतासँग सिम्ता गाउँपालिका’ अन्तर्गत शिक्षा स्वास्थ्य, खानेपानी, कृषि रोजगारसँग सम्बन्धित कार्यक्रम छुट्यायौं । पालिकामा रहेको ३९.१ प्रतिशत गरिबीमध्ये ५ वर्षको अवधिमा १० प्रतिशत गरिबी चाहिँ हटाउने भन्ने लक्ष्यका साथ काम गर्यौं ।

कृषिको समग्र विकासका लागि त.अ.आ.टी. शुत्रलाई अगाडि सार्यौं । ‘त’ भन्नाले तरकारी, ‘अ’ भन्नाले अलैँची, अमिलो, ओखर, ‘आ’ भन्नाले सबै प्रकारका उत्पादनहरू र ‘टी’ भन्नाले चाहिँ पालिकाको माथिल्लो भेगमा उत्पादन हुने टिम्मुर लगायतका जडीबुटी भन्ने बुझिन्छ । पालिकाको १ अर्ब ५४ करोड रुपैयाँ रकममध्ये ४६.६४ प्रतिशत कृषिमा परनिर्भर रहेको छ । नेपाल आफैंमा कृषिप्रधान देश भएकोले हाम्रो पालिका कृषिमा नै आत्मनिर्भर रहेको छ । कुल आम्दानीको झन्डै ५० प्रतिशत कृषिमै निर्भर भएकाले पालिकाको आर्थिक विकास कृषिबाट हुन्छ भनेर कृषि क्षेत्रको विकासमा पनि जोड दिएका छौं । पालिकाको अधिकांश खेतीयोग्य जमिनहरू आकाशे पानीमा भर परेको छ भने सिँचाइको पर्याप्तता छैन । धेरै नागरिकहरू कृषि पेशामा आवद्ध भएकाले हामीले पनि पशु र कृषिक्षेत्रलाई नै प्राथमिकतामा राखेका छौं ।

प्रदेश, संघ र स्थानीय सरकार तथा विभिन्न गैरसरकारी संस्थाको साझेदारीमा कृषिका कार्यक्रमहरू अगाडि बढेका छौं । कृषि सहकारीको साझेदारीमा काम गरेका छौं भने स्थानीयस्तरमा दर्ता भएका कृषि समूहमार्फत पालिकाको समग्र कृषि विकासको लागि काम गर्दै आएका छौं । पालिकामा कृषि समुहको पनि गठन भएको छ । पालिकाको दलित बस्ती भएको ठाउँमा सामूहिक कृषि खेती प्रणालीको पनि प्रारम्भ गरेका छौं भने यो कार्यक्रम २ वर्ष अगाडि देखी सञ्चालन हुँदै आएको छ । कृषि सहकारीसँग आवद्ध भएका कृषकहरूलाई अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । पालिकाको सबै वडालाई कृषि पकेट क्षेत्रको रूपमा छुट्याई कृषि विकासको कामहरू अगाडि बढाएका छौंं । धान, मकै, गहुँ, अदुवा, बेसार आदिको पकेट क्षेत्र छुट्याएका छौं भने पशु पकेट क्षेत्र पनि रहेको छ । हाम्रो लक्ष्य भनेको कृषि र पशुपालनबाट कृषिमा ५.६ प्रतिशतले आर्थिक वृद्धि गर्ने रणनीति तथा योजनाहरू तय गरेअनुरूप हामी अगाडि बढिरहेका छौं । गाउँपालिकाभित्र भइरहेको परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने हाम्रो लक्ष्य रहेको छ । गाउँपालिकालाई समृद्ध बनाउने आधार नै कृषि हो । गाउँपालिकाभित्र तरकारी र फलफूल खेती नै मुख्य रूपमा हुने गरेको छ ।

गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध छन् होला ?

यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । पालिकाको मुख्य पेशा खेती किसानी भएको कारण यहाँ प्रायः सबै नागरिकले कृषि पेशा नै अँगालेका छन् । हामीले राम्रो कृषि उत्पादन गर्ने किसानलाई प्रोत्साहन स्वरूप सहयोग गर्ने गरेका छौं । यो आर्थिक वर्षमा किसानहरूलाई कोभिडको कारण पुरस्कृत गर्न सकेका छैनौं । आगामी आर्थिक वर्षमा क्षेत्रगत रूपमा कृषकहरूलाई पुरस्कार दिने योजना रहेको छ ।

शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आएको छ त ?

हामीले शैक्षिक क्षेत्रको विकासको लागि धेरै काम गर्दै आएका छौं । पालिकामा विभिन्न शैक्षिक सुधारको कार्यक्रमहरु पनि रहेको छ । सबै विद्यालयहरूमा पालिकाको तर्फबाट भौतिक पूर्वाधार विकासको निमित्त हामीले भौतिक संरचनाको पनि निर्माण छौं । हामीले अब व्यवसायिक शिक्षा विद्यार्थीलाई दिनुपर्छ जोड दिएका छौं । शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न लागि विभिन्न विज्ञयहरुबाट तालिम पनि दिँदै आएका छौं । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । प्रविधि मैत्री शिक्षा हुनु पर्छ भनेर हामी लागि परेका छौं ।

गरिब, जेहेन्दार तथा विपन्न बालबालिकालाई छात्रवृत्ती दिने कार्यक्रम पनि रहेको छ । शैक्षिक सुधारको लागि हामीले विशेष जोड दिएका छौं । परीक्षा प्रणालीलाई व्यवस्थित गर्ने काम पनि भइरहेको छ । संघ र प्रदेशको साझेदारीमा विद्यालयको भौतिक पूर्वाधार देखि शिक्षाका विभिन्न कार्यक्रम पनि सञ्चालन गर्दै आएका छौं । कोरोनाको कारण गाउँपालिकाका शैक्षिक क्षेत्रहरु पनि प्रभावित बन्दै गाएका छन् । विद्यालयको आवश्यकता अनुसार शैक्षिक सामाग्रीको उपलब्धता गराएका छौं । छात्राहरूको लागि प्याड पनि वितरण गर्दै आएका छौं ।

तपाईंहरु निर्वाचित भएर आएको करिब ४ वर्ष पुरा भयो, यो बिचमा जनता सामु गरेका बाचा के–कति पुरा भए अनि कति बाँकी छन् होला ?

हाम्रो अलिकति महत्वकाङ्क्षी घोषणापत्र थियो । घोषणापत्रलाई पहिलो गाउँसभाबाट नै ३ तहमा रुपनतरण ग¥यौं । पहिलो लक्ष्य भनेको सिम्ता उज्यालो कार्यक्रम रहेको थियो । हामी निर्वाचित भएको बेलमा ५ हजार ५ सय ९५ घरधुरीमध्ये ५ सय ९२ घरधुरीमा मात्र बिजुली प्रसारण भएको थियो । गरिब तथा विपन्न वर्गको घरमा सोलर पनि वितरण गरेका थियौं । हाम्रो ५ वर्षको कार्यअवधिमा उज्याले कार्यक्रम सम्पन्न गर्न योजना रहेको छ । ५ हजार ५ सय ९५ घरधुरीमा यो ५ वर्षको कार्यकालमा बिजुली पुर्याउने भन्ने उद्देश्यका साथ पहिलो गाउँ सभाबाट नै सिन्ता उज्यालो कार्यक्रमको गौरवको लक्ष्य तय ग¥यौं । यसलाई परिपूर्ति गर्नको निम्ति हाम्रो बजेटले भ्याउन सक्ने अवस्था थिएन त्यस कारणले संघीय संसदको सहरी विकास कोष र सामुदायिक कुरामा विधुतिकरण विभागसँग हामिल २ वर्ष अगाडिको आर्थिक वर्ष भित्र २५ करोड रुपैयाँको बजेटमा टेन्डर गरेका थियौं । यो विद्युत प्रसारण लाइनको काम सम्पन्न हुने चरणमा पुगेको छ । विभागसँग समझदारी गरेअनुसार २ ओटा ठेकेदार कम्पनी मार्फत २५ करोड रुपैयाँको लागतको बिदुतको काम सम्पन गर्ने यो असार मसान्तसम्म मात्र म्याद छ । केही टोल वस्तिमा बिजुली पुर्याउर्न बाँकी रहयो भने आगामी आर्थिक वर्षमा बिजुली पुर्याउने लक्ष्य राखेका छौं । जनतासँग सिम्ता गाउँपालिका भनेर महिला दलित जनजातिको समग्र विकासको लागि जोडेका छौं । आर्थिक सामाजिक र संस्थागत विकासको निमित्त पूर्वाधार सुशासन युक्त समृद्ध सिम्ता गाउँपालिकाको आधार भन्ने जुन सपना छ त्यो सपना पुरा गर्नमा हामी लागी परेका छौं ।

तपाईंको पालिकामा सडक सञ्जालको अवस्था कस्तो छ ?

यो ५ वर्षको कार्यअवधिमा ९ ओटै वडाको वडा केन्द्रको गौरवको आयोजना मार्पmत पहुँच मार्गको निर्माण गरेका छौं । पालिकामा २ ओटा गौरवको आयोजनाहरू रहेका छन् । वडा नं. १ देखी ९ सम्म जोडने सडकलाई गौरवको आयोजनाको रूपमा अगाडि सारेका छौं । यसलाई प्रत्येक आर्थिक वर्षमा २ करोड रुपैयाँसम्म लगानी छुट्याएर संघ र प्रदेशसँगको साझेदारीमा काम गरेका छौं । हाम्रो पालिकाबाट वीरेन्द्रनगरसम्म पुग्नको लागि दुक्र मार्ग जुन हामी ३० किलोमिटर भन्दा छोटो दुरी पर्छ यो सडकको पनि हामले स्तारोन्ती गरिसेका छौं । बर्खे वाहेक गाउँपालिकाको सडकहरू बाह्रै महिना सञ्चालन हुने अवस्था छ । पालिकाको आफ्नै एउटा डोजर पनि छ । पालिकाको सबै वडामा सडको पहुँच पुगेको छ भने एउटा वडा बाट पसेपछि पालिकाको सबै वडामा पुग्न सकिने गरी सडक निर्माण भएको छ ।

गाउँपालिकाले विकासको लागि कुन क्षेत्रलाई बढी प्राथमिकता राखेको छ ?

यो कोभिडको समयमा गत आर्थिक वर्षको बजेट अधिवेशनबाट तय गरेका योजनाहरू केही संघ र प्रदेश विभिन्न साझेदार संघ सस्थाहरु मार्फत हामीले रेड बुकमा राखेका बाहेक पनि थप योजनाहरू समपुर विशेषमा आउन सक्छन् । रेड बुकमा बनाइएको योजनालाई बजेट तय गरी योजनालाई अधिकतम रूपमा सम्पन्न गर्ने योजनामा छौं । योजनाहरूको धेरै भुक्तानी भइसकेको छ भने केही कामहरू निर्माणाधीन अवस्थामा पनि छन् । कोभिडको कारणले विकास निर्माणको केही काममा समस्या पनि भएको छ । हामीले विद्युत्, खानेपानी, यातायात, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेका छौं । कृषिको विकासको लागी पनि हाम्रो विशेष पहल रहेको छ ।

स्थानीय स्तरका युवाहरूलाई रोजगारीको सिर्जना गर्नमा पालिकाले कस्तो भूमिका खेलेको छ ?

रोजगारी सिर्जना गर्नको लागी जनतासँग सिम्ता गाउँपालिका भित्र पर्ने जति पनि लक्ष्यहरू पर्छन् त्यसलाई नै हामीले स्वरोजगारसँग जोडेका छौं । आर्थिक विकाससँग अन्तरसम्बन्धीत पालिकाले प्रयोग गरेको योजनालाई रोजगार सिर्जना हुने गरी कृषिमा युवाहरूलाई जोडिनको लागि आग्रह गरेका छौं । युवाहरू कृषि उत्पादनसँग जोडिनु पर्छ भनेर हामीले जोड दिएका छांै । रोजगारीको खोजीमा धेरै युवाहरू भारत तर्फ पनि जाने गरेका छन् । पालिकामा युवाहरूले व्यवसायिक खेती गरी रोजगारी मुलक पनि बनिरहेका छन् ।

हामीले युवाहरूलाई कृषिका विभिन्न तालिम पनि दिँदै आएका छौं । युवाप्रति लक्षित गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम लागु भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गरिबीका रेखामुनि रहेका र बेरोजगार युवाहरू मात्र छनोट भएका छन् । यस रोजगार कार्यक्रम अन्तर्गत धेरै मानिसहरुले रोजगारी पाएका छन् । पालिकाको विकास निर्माणमा पनि युवाहरूलाई जोडेर स्वरोजगार बनाउँदै आएका छौं । युवाहरूलाई घरेलुसँग अन्तर सम्बन्धित तालिमहरु पनि दिँदै आएका छौं । पालिकामा लघु उद्यम कार्यक्रम पनि सञ्चालन हुँदै आएको छ ।

कर्मचारी र जनप्रतिनिधिहरू बिचको सम्बन्ध कस्तो छ नि ?

स्थानीय सरकारको व्यवस्थापनको सन्दर्भमा २ ओटा पक्ष जस्तो कर्मचारी र जनप्रतिनिधि पक्ष्य हुन्छ । कर्मचारी र जनप्रतिनिधि बिचको सम्बन्ध सुमधुर रहेको छ । जनप्रतिनिधि र कर्मचारीको सामूहिक भावनाले मात्रै पलिकाको विकास निर्माणको काम देखि लिएर अन्य काम गर्ने सकिन्छ । सम्बन्ध राम्रो भएको कारण विकास निर्माणको कामले तीव्रता पाएको छ । हालसम्म कर्मचारी र जनप्रतिनिधिको मनमुटाब भएको छैन । पालिकाको समृद्ध बनाउन र नागरिकको आवश्यकता पुरा गर्नमा जनप्रतिनिधि र कर्मचारी खटी रहेका छौं । जनताको सेवाको लागी तत्पर रहन सबै कर्मचारीहरूलाई आग्रह गरेको छु । कर्मचारीको सहयोगमा नै विकास निर्माणको काम अगाडि बढाउने हो । जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध नङ र मासुको जस्तो हुन्छ । अहिलेसम्म सम्बन्ध राम्रो नै रहेको छ ।

अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ?

अब हाम्रो कार्यकाल धेरै बाँकी छैन । पालिकाका विकास निर्माणको कामहरू योजना बनाएर नै गरिरहेका छौं । सडकहरूको स्तारोन्ती गरेर पिचको काम गर्ने योजना पनि रहेको छ । जनताको आर्थिक स्थिति सुधार गर्नको लागि कृषि र पशुको क्षेत्रको विकास गर्नको लागि विशेष जोड दिएका छौं । प्रत्येक घरमा बिजुली पुर्याउने पनि हाम्रो लक्ष्य रहेको छ । खानेपानीको स्रोतको परिचालन गरी नागरिकको घरसम्म खानेपानी पुर्याउने पनि हाम्रो योजना रहेको छ । यहाँका जनताले भोलिका दिनमा पनि मैले गरेका कामहरूबाट लाभ लिइरहन सकुन् भन्ने चाहना छ । हामीले पालिका स्तरको योजना तयार पारेका छौं । यो योजना पुरा गर्नमा हामीले विशेष जोड दिएका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दिर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासको कुरामा पनि हामी ध्यान दिइरहेका छौं । विकास निर्माणको कामलाई तीव्रता दिने योजना रहेको छ ।

अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ?

लोकतान्त्रिक गणतन्त्र आफैमा नयाँ व्यवस्था र नयाँ संरचना हो । त्यसभित्र प्रदेश आफैमा नयाँ हो । गाउँपालिका ३ ओटै सरकारको क्षेत्र भित्र पर्छ । ३ ओटै सरकारको महत्वपुर्ण भूमिका र जिम्मेवारी हुन्छ । पछिल्लो चरणमा २० देखी २५ वर्ष जनप्रतिनिधि विहीन भइरहेको अवस्थामा जनप्रतिनिधिबाट सम्पूर्ण कुरा हुन्छ भन्ने जुन खालको बिचार छ त्यसलाई मध्यनजर गर्दै अगाडि बढेका छौं । नागरिकहरूको सहयोगमा नै विकास निर्माणको काम पालिकामा धेरै भएको छ । मलाई लाग्छ नागरिकहरू पनि पालिकाले गरेको कामबाट सन्तुष्ट छन् होला । नागरिकको सन्तुष्ट मापनलाई अझ बढाउने चाहान्छौं । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु । सबै नागरिकहरूलाई स्वास्थ्यमा विशेष ध्यान दिऔं, स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड अपनाऔं, आफू बचौं, अरूलाई पनि बचाऔं भन्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.