एफएनसीसीआईले काठमाडौंका ४ ठाउँमा २ सय बेडका आइसोलेसन कक्ष बनाउँदै, आजै घोषणा

  २०७८ वैशाख २८ गते १०:५८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले काठमाडौं उपत्यकाका विभिन्न चार ठाउँमा आइसोलेसन बेड निर्माण गरिरहेको छ । महासंघले काठमाडौं उपत्यकाका विभिन्न ४ ठाउँमा २ सय बेडको आइसोलेसन कक्ष निर्माण गरिरहेको हो ।

महासंघका अध्यक्ष शेखर गोल्छाले काठमाडौंको कमलादी, क्षेत्रपाटी, ललितपुरको पाटन र भक्तपुरमा ५०/५० वटा बेडको आइसोलेसन कक्ष निर्माण भइरहेकाे बताए । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिँदै गएकोले संक्रमितहरुलाई राख्नको लागि आइसोलेसन कक्ष निर्माण भइरहेको उनले बताए । उनका अनुसार ती आइसोलेसन कक्षहरु सम्भवतः आज घोषणा हुनेछन् ।

‘यस्तो महामारीको समयमा कोरोना भाइरसको जोखिम कम गर्न सबैले आ–आफ्नो ठाउँबाट पहल गर्न आवश्यक छ, हामी पनि सहयोग गरिनै रहेका छौं, महासंघबाट पनि विभिन्न पहलहरु भइरहेका छन्, सबैले सतर्कता अपनाउन आग्रह गर्छु,’ उनले भने ।

उनका अनुसार यी बेडहरुमा उद्योगी व्यवसायीहरुसँगै अरुले पनि सेवा पाउनेछन् । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पनि महासंघले कोरोनाको जोखिम कम गर्नको लागि विभिन्न कामहरु गरिरहेको बताए । उनका अनुसार निर्माण भइरहेको आइसोलेसन बेडले पनि कोरोना संक्रमितहरुलाई सुरक्षित र सहज रुपमा बस्नको लागि सहयोग पुग्ने बताए ।

‘हामीले हटलाइनको सेवा पनि सुरु गरिसकेका छौं, कोरोनाको जोखिम कम गर्न विभिन्न कार्यक्रमहरु ल्याउने तयारी पनि गरिरहेका छौं, अक्सिजन आपुर्तिका लागि पनि विभिन्न उद्योगहरुलाई आग्रह र समन्वय गर्दै आइरका छौं, बन्द भएका उद्योग पनि सञ्चालनमा ल्याउन पहल गरिरहेका छौं, यतिबेला खटिएर लाग्नु पर्ने हाम्रो पनि दायित्व हुन्छ,’ उनले विकासन्युजसँग भने ।

हालै मात्र महासंघले हेलो डक्टर सेवा पनि प्रारम्भ गरेको छ । यसबाट पनि धेरैले सहज सेवा पाउन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.