पालिकाले करोडौं रुपैयाँ खर्च गरी घर घरमा बिजुली पुर्याउने काम गरिरहेको छ – अध्यक्ष अधिकारी

  २०७८ वैशाख २७ गते १२:४८     विकासन्युज

सुनकोशी गाउँपालिका प्रदेश १ अन्तर्गतको ओखलढुङ्गा जिल्लामा पर्ने भौगोलिक विविधतामा एकता कायम रहेको, प्राकृतिक हिसाबले निकै सुन्दर र विकासका अनेक सम्भावनाहरू भएको गाउँपालिका हो । १० ओटा वडा रहेको यस गाउँपालिका १ सय ४३ दशमलव ७५ वर्ग किलोमिटरसम्म फैलिएको छ ।

यस गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा चर्चित हुनुका साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक रूपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ । यस गाउँपालिकामा कृषि विकासका लागि के–कसरी काम हुँदै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष रुद्र प्रसाद अधिकारीसँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानी ।

सर्वप्रथम कृषिबाटै सुरु गरौं, गाउँपालिकाले कृषिक्षेत्रतर्फ के–कस्ता काम गरिरहेको छ ?

यहाँका धेरै नागरिकहरूले कृषि पेसा नै अँगालेका छन् । धेरै नागरिकहरू कृषि पेशामा आवद्ध भएकाले हामीले पनि पशु र कृषिक्षेत्रलाई नै प्राथमिकतामा राखेका छौं । गाउँपालिकाभित्र भइरहेको परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने हाम्रो लक्ष्य रहेको छ । पालिकाको भूगोल अनुसार ब्लक र पकेट क्षेत्र छुट्याएका छौं भने पालिकामा कृषि समूहहरूको पनि गठन भएको छ । पालिकामा १६ ओटा पकेट क्षेत्रहरू रहेका छन् । कृषिका विभिन्न कार्यक्रमहरू पनि सञ्चालन हुँदै आइरहेका छन् भने पालिकामा व्यवसायिकरुपमा कृषि खेती पनि हुन थालेको छ । पालिकामा कृषकलाई सहयोग गर्ने कार्यक्रम पनि रहेको छ । हामीले पालिकामा सुरुको चरणमा प्लास्टिक टनेल र कृषकलाई आवश्यक पर्ने सामानहरू वितरण गरेका थियौं तर गत सालको लकडाउनबाट यो कार्यक्रम पनि स्थगित भएको छ । कृषकहरूलाई व्यवसायिक बनाउने किसानको आर्थिक रूपमा सबल बनाउने तथा बैदेशिक रोजगारबाट फर्केका युवालाई रोजगारीमूलक बनाउने भनेर अगाडि बढि रहेका छौं ।

पालिकामा यो २ वर्ष भित्र ५० ओटा व्यवसायिक फार्महरू दर्ता भएका छन् र यी फार्महरू निरन्तररूपमा सञ्चालन हुँदै आएका छन् । हामीले कृषकहरूलाई लागत साझेदारीको रूपमा अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । कृषिका विभिन्न कार्यक्रमहरू पनि सञ्चालन हुँदै आइरहेका छन् भने पालिकामा व्यवसायिक रूपमा कृषि खेती पनि सुरु हुन थालेको छ । कृषिलाई निर्वाहमुखी मात्र नभएर व्यवसायिक बनाउनु पर्छ भनेर किसानहरूलाई प्रोत्साहन पनि गर्दै आएका छौं । गाउँपालिकालाई समृद्ध बनाउने आधार नै कृषि हो । गाउँपालिकाभित्र तरकारी र फलफूल खेती नै मुख्य रूपमा हुने गरेका छन् ।

गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध छन् होला ?

यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । पालिकाको मुख्य पेशा खेती किसानी भएको कारण यहाँ प्राय सबै नागरिकले कृषि पेशा नै अँगालेका छन् । हामीले राम्रो कृषि उत्पादन गर्ने किसानलाई प्रोत्साहन स्वरूप सहयोग गर्ने गरेका छौं ।

कोरोनाको संक्रमण पुनः बढ्न थालेको छ, संक्रमण दरलाई न्यूनिकरण गर्नको लागि के–कस्तो भूमिका खेल्दै हुनुहुन्छ ?

गाउँपालिकामा स्वास्थ्यचौकीहरु धेरै छैन् र अस्पतालहरू बनाउने तयारीमा लाग्दै छौं । पूर्वाधारको समस्या पनि रहेको छ तर पनि नागरिकहरूलाई स्वास्थ्य मापदण्ड अपनाउनको लागि अपिल गरेका छौं । हामीले भोजभतेर आमसभा, धेरै मानिहरु भिडभाड नहुन पनि आग्रह गरेका छौं । पालिकामा प्रवेश गर्दा मास्क तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरेका छौं । संक्रमण विस्तार रोक्न बजार, विद्यालय, विभिन्न संघ संस्थाहरूमा भिडभाड कम गर्न पनि आग्रह गरेका छौं । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै पालिकाले सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गरेका छौं ।

गत वर्ष हामीले १ सय बेड बराबरको क्वारेन्टिन स्थापना पनि गरेका थियौं । हाल पनि हामीसँग क्वारेन्टिन व्यवस्थापन गर्नको लागि आवश्यक सामाग्रहरु रहेको छ र ५ बेडसम्मको अक्सिजन सहितको अस्थायी कोभिड अस्पताल निर्माणको पनि तयारीमा लागेका छौं । संक्रमण दर गत सालभन्दा भयावह भइरहेको छ तर हालसम्मको अवस्थालाई मध्यनजर गर्दा भने यस पालिकामा कोरोनाको प्रभाव खासै रहेको छैन । कोरोनाको प्रभाव नपरे तापनि कोरोना न्यूनिकरण गर्नको लागि पूर्वतयारी अवस्थामा जुटेका छौं । कोभिडको बिरामीहरूलाई पालिकामा नै उपचार गर्ने तयारीमा छौं । यस समयमा बाहिरी जिल्लाबाट पालिकामा प्रवेश गर्ने नागरिकहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्नको लागि अपिल गरेका छौं ।

शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आएको छ त ?

हाम्रो पालिकामा ४० ओटा सामुदायिक विद्यालयहरू रहेका छन् । भूकम्पले गर्दा पालिकाका सबै विद्यालयहरू तहसनहस् भएका थिए । यी विद्यालयको पुनः निर्माण गर्न पनि पालिका लागि परिरहेको छ । पालिकाका ७० प्रतिशत विद्यालयको भवन निर्माणको काम पुरा गर्ने चरणमा छौं । प्राविधिक शिक्षालाई पनि हामीले विशेषे जोड दिइरहेका छौं । विद्ययार्थीहरुलाई निरन्तर विद्यालयमा पठाउनका लागि अभिभावकहरूलाई जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम पनि चलाइरहेका छौं । विद्यालयहरूका भौतिक सुधारको कार्यक्रम गरिरहेका छौं । गरिब, जेहेन्दार तथा विपन्न बालबालिकालाई छात्रवृत्ती दिने कार्यक्रम पनि रहेको छ ।

शैक्षिक सुधारको लागि हामीले विशेष जोड दिएका छौं । गाउँपालिकामा बाल विकास केन्द्रलाई पनि विशेष जोड दिई परीक्षा प्रणालीलाई व्यवस्थित गर्ने काम पनि भइरहेको छ । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । प्रविधि मैत्री शिक्षा हुनु पर्छ भने पनि हामी लागि परेका छौं । विद्यालयलाई आर्थिक सहायता देखि शिक्षकको तलब व्यवस्थापन पनि गरेका छौं ।

तपाईंहरु निर्वाचित भएर आएको करिब ३ वर्ष पुरा भयो, यो बिचमा जनता सामु गरेका बाचा के–कति पुरा भए अनि कति बाँकी छन् होला ?

हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेभन्दा धेरै कामहरू पुरा गर्न सफल भएका छौं । विगतका दिनमा पनि राजनैतिक पार्टी र सामाजिक क्षेत्रमा काम गरिरहेको मान्छे हौं । त्यस कारणले गर्दा हामीले काम नै गर्न नसक्ने कुराहरू घोषणा पत्रमा लेखेको थिएनौं । काम गर्न सक्ने कुराहरूमा मात्र हामीले प्रतिबद्धता गरेका थियौं । कोभिडको संक्रमण नबढेको भए सायद घोषणापत्रमा लेखेको काम भन्दा धेरै पुरा गर्ने थियौं होला । पर्यटन विकास, शैक्षिक सुधार आदिको काम गर्ने भनेर हामीले घोषणापत्रमा लेखेका थियौं । पूर्वाधारको विकासमा पनि हामीले जोड दिइरहेको छौं ।

केही कामहरू त बाँकी पनि रहेको छ तर हाम्रो कार्यअवधी सकिदा बाँकी कामहरू पनि सक्छौं भन्ने आशा रहेको छ । घोषणापत्रमा लेखेको कुराले मात्र पालिकाको विकास हुँदैन । हामीले गर्छौं भनेको कुरा बाहेक अन्य विभिन्न कुराहरू पनि महत्वपुर्ण हुन सक्छन् भन्ने ठानेर समग्र पालिकाको विकास निर्माणमा जुटेका छौं । हामी निर्वाचित नहुदा कुनै पनि घरमा केन्द्रीय प्रसारणको लाइन पुगेको थिएन, अब केही समय पछि पालिकाको धेरै घरमा बिजुली पर्याउन पनि सफल हुने छौं । पालिकाले करोडौं रुपैयाँ खर्च गरी घर घरमा बिजुली पुर्याउने काम गरिरहेको छ ।

तपाईंको पालिकामा सडक सञ्जालको अवस्था कस्तो छ ?

हामी निर्वाचित हुँदा पालिकाको धेरै ठाउँमा सडक पुगेको थिएन भने यातायात सञ्चालन हुन पनि समस्या थियो । हाल पालिकाको सबै ठाउँमा सडक पहुँच पुगेको छ । पालिकाका सबै नागरिकहरूको घरको नजिकैबाट सवारीको प्रयोग गर्न सक्छन् । सबै वडामा सडक पुगे पनि कच्ची सडक पालिकामा धेरै रहेका छन् । पालिकाको कुनै पनि सडक पिच भएको छैन पिचको लागी संघीय र प्रदेश सरकारसँग अनुरोध गरेका छौं । पालिकाका केही सडकको स्तरोन्ती पनि गरेका छौं ।

तपाईंहरुको पालिका पर्यटकीय स्थल भनेर चर्चित छ, आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ?

हाम्रो पालिका पर्यटनको प्रचुर मात्रमा सम्भावना बोकेको ठाउँ हो । स्थानीय तहमा स्रोत र साधनको अभाव छ । प्रदेश र संघीय सरकारले आफ्नै तरीकाले काम गर्ने भएको कारणले गर्द स्थानीय तहमा समस्या भएको छ । प्रदेश र संघले धेरै काम र बजेट देखाउने स्थानीय तहले बजेट छनोट गरी काम गर्ने परिस्थिति नै छैन । पालिकामा पर्यटकीयस्थलहरु पनि धेरै रहेको छ तर पनि हामीले पर्यटन विकासको लागि धेरै काम गर्न सकेका छैनौं । प्राकृतिक संरक्षणमा हामी लागि त परेका छौं तर अपेक्षा गरे अनुसार हामीले पर्यटन विकास गर्न सकेका छैनौं । यहाँका ककनी झरना, काली गुफा पर्यटकीय गन्तव्यको रूपमा चर्चित छन् । हाम्रो गाउँपालिका प्राकृतिकरूपले निक्कै सुन्दर छ । पर्यटन विकासको लागि पर्यटन पूर्वाधार तयार पारेका छौं । पर्यटन विकासको लागि हामीले विशेष जोड दिइरहेका छौं ।

गाउँपालिकाले विकासको लागि कुनक्षेत्रलाई बढी प्राथमिकता राखेको छ ?

हामीले विद्युत्, खानेपानी, यातायात, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेका छौं । कृषिको विकासको लागी पनि हाम्रो विशेष पहल रहेको छ ।

गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

युवाहरू प्रति लक्षित गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम लागु भएको छ । यस रोजगार कार्यक्रम अन्तर्गत धेरै मानिसहरुले रोजगारी पाएका छन् । यो रोजगारमा काम गर्ने युवाहरुले दिनमा ५ सय रुपैयाँ प्रप्त गर्छन् । बाध्यात्मक परिस्थिति बाध्यात्मक एन कानुको निर्माण गरी निर्देशकता खालको संघीय सरकाले संरचना पठाउँछ । रोजगारीको कुरा पनि बजेटसँग नै जोडिँदो रहेछ तर पलिकामा बजेटको कमीे छ ।

युवाहरू कृषि उत्पादनसँग जोडिनु पर्छ भनेर हामीले जोड दिएका छांै । पालिकामा युवाहरूले व्यवसायिक खेती गरी रोजगारीमूलक पनि बनि रहेका छन् । काम गर्न चाहने युवाहरूका लागि धेरै ठाउँमा अवसर छ । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । गाउँपालिकाका धेरैजसो युवाहरू कृषि पेशामा संलग्न छन् । हामीले युवाहरूलाई कृषिको तालिम पनि दिँदै आएका छौं । पालिकामा हामीले युवाको सिप विकासको लागि विशेष जोड दिइरहेको छौं । कतिपय युवाहरू आफूमा सिपको विकास गर्न सफल भइसकेका छन् भने केही युवाहरूले व्यवसायिक कृषि खेतीको पनि सुरुवात गरेका छन् ।

कर्मचारी र जनप्रतिनिधिहरू बिचको सम्बन्ध कस्तो छ नि ?

कर्मचारी र जनप्रतिनिधि बिचको सम्बन्ध सुमधुर रहेको छ । जनप्रतिनिधि र कर्मचारीको सामूहिक भावनाले मात्रै पलिकाको विकास निर्माणको काम देखि लिएर अन्य काम गर्ने सकिन्छ । सम्बन्ध राम्रो भएको कारण विकास निर्माणको कामले पनि तिव्रता पाएको छ । हालसम्म कर्मचारी र जनप्रतिनिधिको मनमुटाब भएको छैन । पालिकाको संमृद्ध बनाउन र नागरिकको आवश्यकता पुरा गर्नमा जनप्रतिनिधि र कर्मचारी खटी रहेका छौं । जनताको सेवाको लागी तत्पर रहन सबै कर्मचारीहरूलाई आग्रह गरेको छु । कर्मचारीको सहयोगमा नै विकास निर्माणको काम अगाडी बढाउने हो । जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध नङ र मासुको जस्तो हुन्छ । अहिलेसम्म सम्बन्ध राम्रो नै रहेको छ ।

नागरिकको घरदैलोमा कत्तिको पुग्नुभएको छ र नागरिकहरूमा कस्ता समस्याहरू धेरै पाउनुभएको छ ?

सधै हामी नागरिकको घरदैलोमा नै हुन्छौं । नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै नै पालिकाको विकास निर्माण गर्ने हो । पालिकाको विकास निर्माण गर्दा नागरिक, राजनैतिक दल आदि सबै मिलेर गर्ने हो । गाउँपालिकाको नागरिकहरु प्रायः जसो खानेपानी, बाटोघाटो, घरनक्सा पास, राहत सहयोग, न्याय निरूपण, पशुपन्छीको रोग, कृषिसम्बन्धी लगायतका समस्याहरू लिएर आउने गरेका छन् । तर पनि यी सबै समस्याको समाधान गरेर मात्र हामी अगाडि बढी रहेका छौं । आवश्यकताअनुसारको नै समस्या सुनिने गरेको छ । व्यक्तिगत विकास गर्ने भन्दा सामूहिक विकासतर्फ विशेष ध्यान दिएका छौं ।

तपाईंको कार्यकालमा भएको सबैभन्दा ठुलो उपलब्धि केलाई ठान्नुहुन्छ ?

भौतिक पूर्वाधार, शिक्षा सुधार र स्वास्थ्य क्षेत्रको विकास नै मेरो कार्यकालको ठुलो उपलब्धि हो भन्न सकिन्छ । पालिकाको सबै वडाको कार्यालय भवन पनि निर्माण भइसकेको छ । पालिकामा हाल नागरिकहरूले २४ घन्टा नै सेवा पाउन सक्छन् ।

अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ?

अब हाम्रो कार्यकाल धेरै बाँकी छैन । पालिकाका विकास निर्माणको कामहरू योजना बनाएर नै गरिरहेका छौं । सडकहरूको स्तारोन्ती गरेर पिचको काम गर्ने योजना पनि रहेको छ । जनताको आर्थिक स्थिति सुधार गर्नको लागि कृषि र पशुको क्षेत्रको विकास गर्नको लागि विशेष जोड दिएका छौं । प्रत्येक घरमा बिजुली पुर्याउने पनि हाम्रो लक्ष्य रहेको छ । खानेपानीको स्रोतको परिचालन गरी नागरिकको घरसम्म खानेपानी पुर्याउने पनि हाम्रो योजना रहेको छ । यहाँका जनताले भोलिका दिनमा पनि मैले गरेका कामहरूबाट लाभ लिइरहन सकुन् भन्ने चाहना छ । हामीले पालिका स्तरको योजना तयार पारेका छौं । यो योजना पुरा गर्नमा हामीले विशेष जोड दिएका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दिर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासको कुरामा पनि हामी ध्यान दिइरहेका छौं ।

अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ?

नागरिकहरूको सहयोगमा नै विकास निर्माणको काम पालिकामा धेरै भएको छ । मलाई लाग्छ २ तिहाई नागरिकहरू पालिकाले गरेको कामबाट सन्तुष्ट छन् होला । नागरिकको सन्तुष्ट मापनलाई अझ बढाउने चाहान्छौं । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु । सबै नागरिकहरूलाई स्वास्थ्यमा विशेष ध्यान दिऔं, स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड अपनाऔं, आफू बचौं, अरूलाई पनि बचाऔं भन्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.