बजेट लेखन चटक्कै छोडेर विष्णु पौडेल राजनीतिक रौनकमा

  २०७८ वैशाख २६ गते १७:१४     सन्ताेष राेकाया

काठमाडौं । नेपालको संविधान अनुसार जेठ १५ गते अर्थमन्त्रीले संसदमा बजेट प्रस्तुत गर्ने दिन हो । अर्थमन्त्रीले बजेट भाषण गर्न अब २० दिन मात्रै बाँकी छ । विगतका वर्षहरुमा यो समयमा अर्थमन्त्रीहरु निकै व्यस्त हुन्थे । उनीहरु बिहानै अर्थ मन्त्रालय पुगेर बेलुका अबेर निवासतर्फ फर्कन्थे ।

अर्थमन्त्रीको दिनभर भेटघाट हुन्थ्यो त केबल बजेटका लागि सुझाव दिनेहरुसँग मात्रै । यही नियम अवलम्बन गर्दै अर्थमन्त्री विष्णु पौडेलले पनि गत वर्ष चैतमा बजेट लेखन टोली बनाए । उनले पनि विगतका वर्षहरु जस्तै बिहान सबेरै मन्त्रालय पुग्ने र बेलुका अबेर निवास फर्कने दैनिकी बनाए ।

बिहान ८ बजे नै मन्त्रालय पुग्ने, बजेट निर्माण गर्ने कर्मचारीहरुको टोलीसँग छलफल गर्ने, विभिन्न मन्त्रालयका अधिकारीहरुलाई अर्थ मन्त्रालयमा बोलाएर छलफल गर्र्ने, केही जानै पर्ने कार्यक्रम छ भने जाने नभए अरु नै कोही प्रतिनिधि पठाएर आफु मन्त्रालयमै काममा व्यस्त हुने उनले दैनिकी बनाएका थिए । चैत महिनाभर र बैशाखको पहिलो साता पनि उनको दैनिकी यसरी नै बित्यो ।

तर, बैशाखको दोस्रो साता सुरु हुन नपाउँदै उनले आफ्नो बजेटको कार्यतालिकामा लात मारे । अर्थात उनले आफ्नो दैनिकी उथलपुथल बनाए । अहिले उनी एकछिन मन्त्रालयमा हुन्छन् भने एकछिनपछि कहाँ जानु पर्छ ? कसलाई भेट्नु पर्छ ? स्वयम् अर्थमन्त्री पौडेललाई समेत थाहा हुँदैन ।

पछिल्ला दिनहरुमा उनले बजेट लेखनलाई भन्दा पनि राजनीतिक भेटघाट र नेता मनाउनमै दिन कटाउने गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र चुलिएको विवादलाई मिलाउन उनी दैनिक नेताहरुसँगको भेटघाटलाई तीव्रता दिइरहेका छन् । नेताहरु मनाउन खप्पिस मानिने अर्थमन्त्री पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीका प्रीय पात्र भएकै कारण पनि उनीमाथि अरु नेताहरुभन्दा बढी जिम्मेवारी थपिएको छ । त्यसैले पनि प्रधानमन्त्री ओलीले माधव कुमार नेपाल पक्षका नेताहरुसँग भेटघाट तथा छलफल गर्न उनलाई नै बढी पठाउने गरेका छन् ।

अर्थमन्त्री पौडेलको यो बजेट लेखनको महत्वपूर्ण समय हो । उनले तयार पारेको बजेटको कार्यतालिकाका अनुसार वैशाख २ देखि २५ गतेसम्म अन्य मन्त्रालयहरुसँग बजेट बजेट कार्यक्रम र खर्च शीर्षकमा छलफल गर्ने, यही अवधिमा नै वैदेशिक स्रोत अन्तर्गत प्राप्त हुने रकम यकिन गरी बजेटमा राख्ने, राजनीतिक दलका प्रतिनिधि, पूर्व अर्थमन्त्री, पूर्व गभर्नर, पूर्व अर्थसचिव र अर्थविदहरुसँग सुझाव संकलन गर्ने, विनियोजन विधेयकका सिद्धान्तहरु र प्राथमिकताको मस्यौदा तयार गर्ने र यसलाई दुवै सदनमा पेश गर्ने, गैरसरकारी संस्था मार्फत परिचालन हुने सहायता यकिन गर्ने, आर्थिक सर्वेक्षण तयार गरी छपाइका लागि प्रेसमा पठाइने लगायतका महत्वपूर्ण कामहरु यही समयमा उनले गरी सक्नु पर्थ्यो ।
तर विडम्बना, उनले यी सबै कामलाई थाति राखेर राजनीतिक भेटघाट र मोलमोलाईमै दिन कटाउने गरेका छन् । यो अवधिमा उनले एक दर्जनभन्दा बढी राजनीतिक भेटघाट तथा छलफल गरिसकेका छन् ।

यो अवधिमा उनले नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा,एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, नेपाल पक्षका नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई, एमालेकै उपाध्यक्ष वामदेव गौतम लगायत नेतासँग छलफल तथा भेटघाट गरिसकेका छन् ।
अर्थमन्त्रालय स्रोत पनि उनी आजभोलि बजेट लेखनभन्दा पनि राजनीतिक भेटघाटमै व्यस्त हुने गरेको बताउँछ । अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘देश नै राजनीतिक संकटमा छ, अर्थमन्त्रीज्यू आफै पनि बजेट ल्याउन पाउँछु कि पाउँदैन भन्ने दोधार हुनुहुन्छ, यो सरकारलाई जोगाउनै लागि भएपनि उहाँ कसरत गरिरहुनु भएको छ ।’

आगामी आर्थिक वर्षको बजेट लेखनका लागि अर्थमन्त्रालयले ५ वटा टोली बनाएको छ । मन्त्रालयका अनुसार मन्त्रालयका विभिन्न ५ महाशाखा प्रमुख संलग्न रहेको बजेट लेखन टोली बनेको हो । सो टोलीको संयोजक आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखको जिम्मेवारी वहन गरिरहेका सहसचिव डा। रामप्रसाद घिमिरे छन् ।

सदस्यहरुमा बजेट तथा कार्यक्रम महाशाखाको प्रमुखको जिम्मेवारी बहन गरिरहेका सहसचिव धनिराम शर्मा, वैदेशिक सहायता महाशाखाका प्रमुखको जिम्मेवारी वहन गरिरहेका सहसचिव श्रीकृष्ण नेपाल, राजस्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी वहन गरिरहेका सहसचिव रामेश्वर दंगाल र योजना, मूल्यांकन तथा अनुगमन महाशाखा प्रमुखको जिम्मेवारी वहन गरिरहेका सहसचिव सुमन दाहाल छन् ।

अहिले पनि अर्थमन्त्री पौडेल र सुवास नेवाङ एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग छलफलमा बसिरहेका छन् । नेपाल पक्षका सासंदहरुले सामुहिक राजीनामा दिने तयारी गरेसँगै प्रधानमन्त्री ओलीले उनीहरुलाई छलफलका लागि पठाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.