सरकार भन्छ अक्सिजन अभाव हुँदैन, काठमाडौंका ५ अस्पतालले अक्सिजन नभएको भन्दै थप उपचार रोके

  २०७८ वैशाख २६ गते ११:४२     विकासन्युज

काठमाडौं । नेपाल सरकारले कुनै पनि अस्पतालमा अक्सिजन अभाव नहुने जनाए पनि राजधानीलगायत देशभर अक्सिजनको चर्को अभाव देखिएको छ । शुक्रबार मात्रै भक्तपुरको एक अस्पतालमा अक्सिजनको आपूर्ति बन्द हुँदा दुई संक्रमितको मृत्यु भएको थियो । त्यहाँ उपचाररत अन्बय संक्रमितलाई रातरात अन्य अस्पतालमा सारिएको थियो ।

चिकित्सकहरूले कोरोनाको ‘न्यू भेरियन्ट’बाट ग्रसित अधिकांश बिरामीलाई अक्सिजनको जरुरी हुने बताउँदै आएका छन् । अक्सिजनको पर्याप्त उपलब्धता भए मात्र थुप्रै संक्रमितको ज्यान जोगाउन सकिने उनीहरूको भनाइ छ ।

पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्यामा बृद्धि भएसगैँ अक्सिजनको अभाव हुन थालेको छ । अक्सिजन अभावका कारण कोरोनाका धेरै विरामीहरु उपचार नै नपाई अकालमा ज्यान गुमाएका छन् ।

सरकारले प्रशस्त मात्रामा अक्सिजन रहेको दाबी गरिरहाँदा काठमाडौंका केही अस्पतालले उपचार गर्न नसक्ने जनाएका छन् । केही निजी अस्पतालले कोभिडका विरामीलाई चर्काे शुल्क लिने घोषणा गरेका छन् भने केही अस्पतालले अक्सिजन अभावका कारण नयाँ विरामी लिन नसक्ने भन्दै सूचना नै जारी गरेका छन् ।

आईतबारसम्म काठमाडौँ उपत्यकाका पाँच अस्पतालले अक्सिजन अभावहुँदा कोरोनाका थप विरामी लिन नसक्ने भन्दै सूचना नै जारी गरेका हुन् ।

अक्सिजनको अभाव भएपछि केही अस्पतालले पूर्ण क्षमतामा कोरोना संक्रमितको उपचार गर्न नसकिएको जनाएका छन् । ती अस्पतालले अक्सिजनको नियमित आपूर्ति नभएसम्म सीमित शय्या मात्र सञ्चालनमा ल्याइने बताइएको छ ।

५ अस्पतालले थप उपचार गर्न नसक्ने

काठमाडौं उपत्यकाका पाँच अस्पतालले अक्सिजन अभावका कारण कोभिडका थप विरामी राख्न नसक्ने जनाएका छन् ।

जसमा चाबहिलमा सञ्चालन गरिएका चार अस्पतालहरु मेडिकेयर, नेपाल–भारत मैत्री अस्पताल, दीर्घायु तथा हेल्पिङ ह्याण्ड्स अस्पताल र ललितपुरको महालक्ष्मीस्थानमा रहेको गणेशमान सिंह मेमोरियल अस्पतालले अक्सिजन आपूर्तिमा समस्या भएको जनाएका छन् ।
चावहिलका चार अस्पतालले शनिबार संयुक्त विज्ञप्ती र गणेशमानले आईतबार बिहान एक विज्ञप्ती जारी गर्दै अक्सिजन अभावका कारण कोरोना संक्रमितलाई भर्ना गरी उपचार गर्न नसक्ने घोषणा गरेका हुन् ।

अक्सिजनको नियमित आपूर्ति नहुँदासम्म सीमित शय्यामा मात्र सेवा प्रदान गर्ने जनाइसकेका छन् ।

यस्तै, शुक्रबार नै ललितपुरको जावलाखेलमा रहेकोे अल्का अस्पतालले अक्सिजन अभाव भएको भन्दै अक्सिजनको आपूर्ति सहज बनाईदिन सरकारलाई आग्रह गरेको थियो ।

One comment on "सरकार भन्छ अक्सिजन अभाव हुँदैन, काठमाडौंका ५ अस्पतालले अक्सिजन नभएको भन्दै थप उपचार रोके"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.