धेरैले मलाई तपाईं राष्ट्र बैंकको प्रवक्ता हो र भन्छन्, तर म अझै भन्छुः हामीलाई कम तर ठूलो बैंक चाहिन्छ

  २०७८ वैशाख २४ गते १८:४५     पर्शुराम कुवँर क्षेत्री

फाइल फोटो

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहर सुरु भएको छ । दोस्रो लहर सुरु भएसँगै सरकारले निषेधाज्ञा पनि जारी गरिसकेको छ । कोरोनाको समयमा विश्वमा दुई मोडल लागु भए । एउटा अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले लागु गरेको मोडल । जसले भ्याक्सिन लगाउँदै जाने र काम पनि गर्दै जाने र अर्को चीनले अवलम्बन गरेको मोडल । सबै व्यापार व्यवसाय तथा सम्पूर्ण गतिविधिहरु बन्द गरेर कोरोनाको जोखिम कम गर्ने मोडल ।

तर, नेपालले विभिन्न समयमा ती दुवै मोडल अवलम्बन गर्यो । जसले संक्रमणदर कम हुन सकेन । बैंकिङ क्षेत्रमा मा मुख्य विषय भनेको कर्जा रतरलता नै हो । यस्तो विषम परिस्थितिमा राष्ट्र बैंकले राम्रो काम गरिरहेको छ । रिसेड्युल, रिस्ट्रक्चरिङ लगायतको व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

धेरैले अहिले बैंकहरुको नाफा घट्यो भनिरहेका छन् । तर, म भन्छु कि यस्तो विषम परिस्थितिमा पनि यो नाफा धेरै हो । दक्षिण एसियाको कुरा गर्दा नेपाली बैंकिङ क्षेत्र राम्रो छ । हामी त्यति आतिनु पर्ने स्थिती छैन । नाफा सन्तोषजनक नभए पनि अहिलेको यो अवस्थामा ठीकै हो । हामी यो अवस्थामा बाँच्ने हो । अहिलेको यो फिगर राम्रै छ जस्तो मलाई लाग्छ ।

अहिले बैंकिङ क्षेत्रले मात्र होइन सबै क्षेत्रले डिजिटलाइजेसनलाई प्रवद्र्धन गर्नु पर्ने देखिन्छ । छिमेकी राष्ट्र भारतमा धेरैले बैंकमा नछिरिकनै काम गरिरहेका छन् । भारतमा ८६ प्रतिशत डिजिटल ट्रान्जेसन हुन्छ ।

हामीले पनि डिजिटलाइजेसनलाई प्रवद्र्धन गर्ने खालको थप नीतिगत व्यवस्था गर्नु पर्ने देखिन्छ । एक लाख भन्दा बढीको रकम डिजिटल ट्रान्जेसनबाट मात्रै गर्ने व्यवस्था गर्न सकिन्छ । भारतले सवा एक अर्ब नागरिलाई डिजिटलाइजेसन सिकाइरहेको छ भने हामीले ३ करोड जनतालाई हात समाएर सिकाउन सक्छौं ।

हरेक च्यानलमा डिजिटल विज्ञापन आओस् । हरेक नागरिकमा डिजिटलको खाँचो छ । बैंकहरुले डिजिटलाइजेसनलाई प्रवद्र्धन गर्नको लागि फण्ड सिर्जना गर्नु पर्छ । सबै बैंकले व्यक्तिगत रुपमा विज्ञापन गर्न आवश्यक छैन । एनबीएले नै त्यसको विज्ञापन गरोस् । अब यो समयमा साना किसानहरुलाई सहज हुने खालको काम गर्न आवश्यक छ । हुनत बैकंहरुकै कारण कृषि क्षेत्रको समस्या आएको आरोप लाग्दै आएको छ । तर, यो मात्रै हुन सक्दैन ।

लकडाउन बढ्यो भने कृषकको उत्पादन फेरि बारीमै कुहिने अवस्था आउन सक्छ । सडकमै फ्याँक्ने समस्या देखिन सक्छ । त्यसको ग्यारेन्टीको व्यवस्था गर्नु पर्छ । कृषकका लागि बीमाको मेकानिज्म बढाउनु पर्छ । पूर्वाधार बढाउनु पर्नेछ । वडा वडाबाट बीमा सम्बन्धि साक्षरता बढाउनु पर्छ ।

युवाहरुलाई सूचना प्रविधिमा अभ्यस्त हुने कार्यक्रमहरु ल्याउन आवश्यक छ । इ–कमर्सलाई जोड दिनु पर्छ । विशेष गरेर प्रविधि, सीप तथा तालिम र रि– इञ्जिनियरिङको बढावा दिनु नै आजको आवश्यकता हो । अहिले प्रविधिको प्रयोग नै बैंकिङ क्षेत्रका लागि अपरिहार्य बनिसकेको छ । बैंकमा ढुङ्गे युगको प्रविधि छ । पूरानो प्रविधि प्रयोग भइरहेको छ । जति डिजिटलको प्रयोग बढ्छ त्यति नै रोजगारी बढ्छ । ग्राहकको दृष्टिकोणबाट सोच्नुपर्छ ।

अर्को मुख्य विषय भनेको तालिम तथा सीप हो । बैंक तथा वित्तीय संस्थाले तालिममा खर्च गर्नु पर्छ । त्यो पनि लगानी हो । यसले भोलि राम्रो प्रतिफल दिन्छ भन्ने कुरा बिर्सनु हुँदैन ।

अर्को महत्वपूर्ण विषय भनेको रि–इन्जिनियरिङ हो । पुरानो प्रविधिको सट्टामा नयाँ प्रविधिको प्रयोग गरी काम गर्नु पर्ने हुन्छ । हामी पुरानै सफ्टवेरमा काम गरिरहेका हुन्छौं । त्यसलाई परिवर्तन गरेर नयाँ सफ्टवेरमा काम गर्न आवश्यक छ ।

नेपाल राष्ट्र बैंकले मर्जरको नीति ल्याएदेखि म त्यसको समर्थक हो । मर्जर हुनु पर्छ भनेर म पहिलेदेखि नै बोल्दै आएको छु । धेरैले मलाई तपाईं राष्ट्र बैंकको प्रवक्ता हो र भनेर प्रश्न गर्छन् । तर, म स्वतन्त्र भएर बोल्छु । राम्रो कुराको समर्थन गर्छु ।

भारतमा १ करोड १० लाख जनताको लागि एउटा मात्रै बैंक हुन्छ । बंलादेशमा ४० लाख जनताको लागि एक बैंक हुन्छ । हामीलाई किन एउटै बिल्डिङमा दुई तीन बैंक चाहियो ? हामी के पाउँछौं धेरै ठाउँमा बैंक राखेर ? हामीलाई ठूलो बैंक चाहिएको छ । एउटा बैंकले एउटा निश्चित क्षेत्रमा किसानलाई तालिम दिएर उनीहरुले उत्पादन गरेको वस्तु मार्केटिङ गर्ने । त्यो क्षेत्रलाई आफ्नो पकेट बनाउन सक्छ । सैद्धान्तिक रुपमा हामी पारदर्शी हुनु पर्छ । तब मात्र नेपाली बैंकिङ क्षेत्र सस्टेनेवल हुन सक्छ ।

(बैंकर कुवँरले म्यानेज्मेन्ट एसोशिएसन अफ नेपालले आयोजना गरेको कार्यक्रममा राखेको विचारको सम्पादित अंश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.