अक्सिजनसहित ३५ शय्याको आइसोलेशन निर्माण, नगरप्रमुख भन्छन्- सङ्क्रमित बढ्दै गए श्यया थप्दै जानेछौं 

  २०७८ वैशाख २४ गते १४:५६     विकासन्युज

फाइल फाेटाे

गलकोट । बागलुङ नगरपालिकाले नगर क्षेत्रमा कोरोना सङ्क्रमणको दर ह्वात्तै बढेपछि अक्सिजनसहितको आइसोलेशन कक्ष तयार पारेको छ । नगरपालिकाले आफ्नो पुरानो कार्यालय रहेको वडा नं. ३ स्थित रातामाटामा ३५ श्ययाको अक्सिजनसहितको आइसोलेशन निर्माण गरेको जनाएको छ ।

नगरपालिका क्षेत्रमा रहेको धौलागिरि अस्पतालमा रहेका आइसोलेशन श्यया भरिँदै जान थालेपछि आइसोलेशन कक्षको निर्माण गरेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए ।

‘अस्पतालमा रहेको २५ श्यया क्षमताको आइसोलेशन लगभग भरिन थालेको छ, कोरोनाको दोस्रो लहरमा अक्सिजनको निकै आवश्यक रहेको हुँदा अक्सिजनसहितको आइसोलेशन निर्माण गरेका हौं’, नगरप्रमुख पौडेलले भने, ‘अहिले ३५ श्ययाको तयारी गरेका छौं, सङ्क्रमित बढ्दै गए श्यया थप्दै जानेछौं ।’

धौलागिरि अस्पतालमा २३ सङ्क्रमित उपचाररत छन् । अस्पतालमा २५ जनालाई राखेर उपचार गर्न सक्ने क्षमता छ । गत वर्ष सङ्क्रमित धेरै भएपछि धौलागिरि बहुमुखी क्याम्पसमा राखेर उपचार गरिएको थियो । अस्पतालमा उपचाररत दुई जनाको बिहीबार मृत्यु भएको छ । एक सङ्क्रमित र अर्का एकजना शङ्कास्पद बिरामीको मृत्यु भएको थियो ।

आइसोलेशनका सबै श्ययामा अक्सिजन जडान भएकाले अक्सिजन आवश्यक सङ्क्रमितलाई समेत आइसोलेशन श्ययामा राख्न सकिने नगर स्वास्थ्य शाखा संयोजन रामप्रसाद खनालले बताए । जिल्लामा सङ्क्रमित भएका अधिकांशलाई अक्सिजन आवश्यक पर्ने भएकाले आइसोलेशन निर्माण गर्दा अक्सिजन जडान गर्नुपरेको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.