आजदेखि अनलाईनबाटै श्रम स्वीकृति दिइने

  २०७८ वैशाख २४ गते ११:२५     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि आवश्यक पर्ने अन्तिम श्रम स्वीकृति अनलाइन बाट दिने भएको छ ।

विभागले कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै भौतिक रुपमा उपस्थित भएर दिईने सेवाहरु स्थगन गरी अनलाईनबाट दिने निर्णय गरेको हो ।

यसअन्तर्गत अन्तिम श्रम स्वीकृति, वैधानिकीकरण तथा नयाँ श्रम स्वीकृति र भौतिक रूपमा उपस्थित भई लिइने पुनः श्रम स्वीकृति परेका छन् । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले सरकारले जारी गरेको २९ गतेसम्मको निषेधाज्ञा अवधिभर विभाग माताहतका कार्यालयमा भौतिक रूपमा उपस्थिति भएर दिइने सेवा स्थगन गरिएको जानकारी दिए ।

विभागको निर्देशनअनुसार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय, ताहाचल कार्यालयबाट भौतिक रूपमा उपस्थित भई लिइने सेवा वैशाख २४ गते अर्थात आजबाट अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको छ ।

ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयले एक सूचना जारी गर्दै भौतिक रूपमा उपस्थितबाहेक अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिने र सेवाग्राही उपस्थित हुनु नपर्नेजस्ता कार्य सीमित सेवा प्रवाहका रूपमा निरन्तरता दिने व्यवस्था मिलाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.