बैंकहरुको आधारदर साढे २ प्रतिशतले घट्यो, कम व्याजमा ऋण दिनेमा स्टयान्डर्ड चार्टर्ड अगाडि, कुन बैंककाे कति ?

  २०७८ वैशाख २३ गते १२:४२     सन्ताेष राेकाया

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/०७८ को तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुको आधारदर (बेसरेट) घटेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा वाणिज्य बैंकहरुको आधारदर २.४६ प्रतिशतले घटेको हो ।

वाणिज्य बैंकहरुले सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणका अनुसार बैंकहरुको आधारदर घटेको देखिएको हो । बैंकहरुको आधारदर घटेर अहिले अहिले औसत ६.९१ प्रतिशत कायम भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको औषत आधारदर ९.३७ प्रतिशत थियो । चालु आर्थिक वर्षको प्रत्येक त्रैमासमा वाणिज्य बैंकहरुको आधारदर घट्दै गएको तथ्यांकले देखाएको छ । यसअघि अर्थात चालु आवको दोस्रो त्रैमासमा बैंकहरुको औसत आधारदर ७.१९ प्रतिशत थियो । एक त्रैमास अर्थात तीन महिनाको अन्तरमै बैंकहरुको आधारदर ०.२८ प्रतिशतले घटेको छ ।

तेस्रो त्रैमासमा सबैभन्दा कम आधार दर भएको बैंकका रुपमा स्ट्यान्डर्ड चार्टड बैंक देखिएको छ । सो बैंकको आधारदर ५.३३ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा यस बैंकको आधारदर ७.२७ प्रतिशत थियो । गत वर्षको तुलनामा अहिलेको ब्याजदर १.९४ प्रतिशतले कम हो ।

यस्तै, कम आधारदर हुने बैंकको दोस्रो नम्बरमा राष्ट्रिय वाणिज्य बैक देखिएको छ । सरकारी लगानी रहेको यस बैंकको आधार दर तेस्रो त्रैमासमा आइपुग्दा ५.५० प्रतिशत कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस बैंकको आधारदर ६.७२ प्रतिशत थियो । यो एक वर्षको अवधिमा बैंकले १.२२ प्रतिशतले आधारदर घटाएको छ ।

सबैभन्दा बढी आधारदर भएको बैंकका रुपमा भने सिभिल बैंक देखिएको छ । सिभिल बैंकको आधारदर ७.८२ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यस बैंकको आधार दर १०.९२ प्रतिशत थियो । गत आवको तुलनामा बैंकले ३.१ प्रतिशतले आधारदर कम गरेको छ ।
बैंकहरुको आधारदर घट्दा ऋणीका लागि सहज हुन्छ । बैंकहरुले आधारदरमा प्रिमियम थपेर व्याजदर तोक्छन् ।

आधारदर जति नै कम हुन्छ बैंकको व्याजदर पनि त्यतिनै कम हुँदै जान्छ । तेस्रो त्रैमासको वित्तीय विवरण हेर्दा सबैभन्दा कम आधारदर भएको स्ट्यान्डर्ड चार्टर्ड बैंकको कर्जाको व्याजदर पनि कम छ भनेर अनुमान गर्न सकिन्छ ।

आधारदरबाट पनि कुन बैंकको व्याजदर कतिसम्म हुन सक्छ अनुमान लगाउन सकिन्छ । कर्जाको ब्याजदर निर्धारण हुने मुख्य आधार नै आधारदर हो । राष्ट्र बैंकको नियम अनुसार राख्नुपर्ने तरलता, निक्षेपकर्तालाई दिने व्याज, बैंकका कर्मचारीको तलब भत्ता, बैंक सञ्चालनका लागि लाग्ने घरभाडा लगायतका खर्च धान्ने गरी बैंकहरुले व्याजदर निर्धारण गर्छन् ।

बैंकहरूले आधार दर भन्दा तल गएर कर्जा दिन पाउदैनन्। यो व्याजदर निर्धारण गर्ने आधार मात्र हो । आधार दर गणना गर्दा ब्याजदरलाई प्रभाव पार्ने तत्वहरूलाई समावेश गरिन्छ ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको असर सुरु भएसँगै बैंकहरुले व्याजदर घटाएका थिए । अहिलेसम्म पनि घटाएको व्याजदर बैंकहरुले बढाएका छैनन् । व्याजदर सस्तो भएसँगै ऋणीहरुलाई पनि केही राहत हुने गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.