गाउँपालिका अध्यक्ष भन्छन् – प्रत्येक वडाकार्यालयसम्म गाडी पुग्नेगरी सडक निर्माण गर्दैछौं

  २०७८ वैशाख २१ गते १६:०५     विकासन्युज

नेपालको प्रदेश १ अन्तर्गत धनकुटा जिल्लामा अवस्थित प्राकृतिक रूपमा सुन्दर एवं रमणीय गाउँपालिका हो सहिदभूमि गाउँपालिका । बि.सं. २०६८ को जनगणना अनुसार यस गाउँपालिकामा १८ हजार ७ सय ६० जनाको बसोबास रहेको छ । गाउँपालिकाको अधिकांश भाग पहाडी भूभागले ढाकेको छ भने यहाँ मिश्रित जातजातिको बसोबास रहेको पाइन्छ । यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा चर्चित त छ नै साथै ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक रूपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ ।

गाउँपालिकाको पूर्वतर्फ धनकुटा नगरपालिका, पश्चिममा उदयपुर, सुनसरी र भोजपुर जिल्ला, उत्तरमा पाख्रीवास नगरपालिका र त्यसैगरी दक्षिणमा साँगुरीगढी गाउँपालिका रहेका छन् । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष मनोज राईसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् ।

कोरोनाको संक्रमण पुनः बढ्न थालेको छ, कोरोना संक्रमण दरलाई न्यूनिकरण गर्नको लागि के–कस्तो भूमिका खेल्दै हुनुहुन्छ ?

कोरोनाको दोस्रो चरण सुरु भएसँगै हामीले कोरोनाको प्रचारप्रसार गरेका छौं । हालै हाम्रो पालिकाका नागरिकहरू कोरोनाका कारण त्रसित हुनु पर्ने अवस्था छैन । हामीले पलिकामा आइसलेसन कक्षको पनि तयार पारेका छौं । संक्रमण देखिएको तर लक्षण नदेखिएको बिरामीहरूलाई होम आइसलेसनमा बस्नको लागि आग्रह गरेका छौं । संक्रमण पनि भएको र लक्षण पनि देखिएको बिरामीहरूलाई हामीले कोभिड अस्पतालमा राख्ने भनेका छौं । १३ बेड आइसलेसन कक्ष तयार पारेका छौं । कोरोना नियन्त्रण गर्नको लागि पुर्वतयारी गरिरहेका छौं । पलिकामा मानिसहरूलाई भिडभाड कम गर्न पनि आग्रह गरेका छौं ।

पोहोर गाउँपालिकामा कोरोनाको कारण धेरै नागरिकहरू त्रसित भएका थिए । गत वर्ष हामीले कोरोना नियन्त्रणको लागि विशेष पहल गरेका थियौं । गाउँपालिका भित्र प्रवेश गर्ने नाका पनि बन्द गरेका थियौं । तर पनि कोरोना संक्रमणबाट बच्न सुरक्षित मापदण्ड अपनाएकै थियौं । कोरोना सम्बन्धी सूचना पनि प्रकाशन गरेका छौं । कोरोनाको मापदण्ड अपनाएर नै विकास निर्माणको कामहरू अगाडि बढाउनु पर्छ भन्ने हाम्रो मान्यता रहेको छ । संक्रमण दर पोहोरको भन्दा हाल भयावह भइरहेको छ । स्वास्थ्य मापदण्डहरू अपनाउनका लागि हामीले नागरिकहरूलाई पनि आग्रह गरिरहेका छौं । हामीले कोरोना नियन्त्रणको लागि विभिन्न सुरक्षाका मापदण्ड अपनाएका छौं । तर आजका दिनको कुरा गर्नुपर्दा भने यता कोरोनाको प्रभाव खासै रहेको छैन । नागरिकहरू पनि सामान्य रूपमा जीवन यापन गरिरहेका छन् तर पनि नागरिकहरूलाई कोरोना देखि सचेत रहन आग्रह गरेका छौं ।

शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आएको छ त ?

हाल कोभिडको कारणले पालिकाका शैक्षिक क्षेत्रहरू सबै बन्द भएका छन् । कोरोनाको कारणले शैक्षिक क्षेत्रलाई असर पुर्याए पनि शैक्षिक गुणस्तरलाई हामीले विशेष जोड दिइरहेका छौं । ‘सहीदभूमिको समृद्ध शिक्षा, स्वास्थ्य र पर्यटन’ भन्ने हाम्रो नारा रहेको छ । शैक्षिक क्षेत्रको विकासको लागि बजेट पनि छुट्याएका छौं । विद्यालयहरूका भौतिक सुधारको कार्यक्रम गरिरहेका छौं । शिक्षाको गुणस्तरलाई बढाउनको लागि शिक्षकहरूलाई पनि तालिम दिँदै आएका छौं । गरिब, जेहेन्दार तथा विपन्न बालबालिकालाई छात्रवृत्ती दिने कार्यक्रम पनि रहेको छ ।

विद्यार्थीहरूलाई विद्यालय जनाको लागि प्रोत्साहन पनि गरिरहेका छौं । दलित बालबालिकालाई न्यानो सुइटर र झेला पनि वितरण गर्दै आएका छौं । विद्यालयको पढ्ने वातवरण रमाइलो बनाउनको लागि बाल विकास केन्द्रलाई पनि विशेष जोड दिएका छौं । परीक्षा प्रणालीलाई व्यवस्थित गर्ने काम पनि भइरहेको छ । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं ।

गाउँपालिकामा केही विद्यालयका भौतिक संरचना जिड्न अवस्थमा रहेका छन् । भौतिक संरचना जिड्न रहेका विद्यालयहरूलाई भौतिक सुविधा विस्तार कार्यक्रम अन्तर्गत विद्यालयको भवन निर्माण गर्दै आएका छौं । पालिकाका कुनै विद्यालयका भवन बनेका छन् भने कुनै बन्ने क्रममा पनि रहेका छन् । केही विद्यालयको भवन निर्माण हुन सकेको छैन त्यस्ता विद्यालयमा पालिकाको तर्फबाट बजेट विनियोजन गरी विद्यालयको भौतिक सुधार विस्तार कार्यक्रमलाई अगाडि बढाएका छौं । विद्यालयको भवन बनाइरहँदा बाल र अपाङ्ग मैत्री बनाउनु पर्छ भनेर हाम्रो मान्यता रहेको छ ।

तपाईंहरु निर्वाचित भएर आएको करिब ३ वर्ष पुरा भयो, यो बिचमा जनता सामु गरेका बाचा के–कति पुरा भए अनि कति बाँकी छन् होला ?

घोषणापत्रमा जारी भएका विभिन्न कुराहरू, जनताको सरोकारको विषय बस्तुहरू सन्दर्भमा धेरै कामहरू पुरा गर्दै आएका छौं । केही कुराहरू बाँकी पनि रहेका छन् । अब हाम्रो कार्यकाल १ वर्ष बाँकी रहेको छ । यो कार्यकाल भित्र बाँकी रहेको काम पनि सक्छौं भन्ने आशा छ । काम नै गर्ने नसक्ने कुराहरू घोषणापत्रमा लेखेको थिएनौं । पर्यटन विकास, शैक्षिक सुधार आदिको काम गर्ने भनेर हामीले घोषणापत्रमा लेखेका थियौं । घोषणापत्रमा उल्लेख गरेको कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका काम धेरै सकिसकेको जस्तो मलाइ लाग्छ । पूर्वाधारको विकासमा पनि हामीले जोड दिइरहेको छौं । घोषणापत्रमा लेखेको कुराले मात्र पालिकाको विकास गर्न पुग्दैन । हामीले गर्छौं भनेको कुरा बाहेक अरु कुराहरू महत्वपुर्ण पनि हुन सक्छन् ।

सहिदभूमि गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ?

हामीले कृषि विकासको लागि धेरै काम गर्दै आएका छौं । कृषि विकासका लागि विभिन्न कृषि सहयोगका कार्यक्रमहरू पालिकामा रहेका छन् । पालिकामा प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम पनि लागु भएको छ । यस कार्यक्रमको माध्यमबाट ब्लक र पकेट क्षेत्रको विकास गरेका छौं । संघीय तथा प्रदेश सरकारको तर्फबाट पनि कृषिका योजनाहरू पालिकामा लागु भएको छ । पालिकास्तरका कृषि योजनाहरु हामीले तयार पारेका छौं । पालिकाको ठाउँअनुसार कृषि पकेट क्षेत्र छुट्याएका छौं । वडा नं. १ र ५ लाई तरकारी पकेट क्षेत्रको रूपमा वकास गर्ने भनेका छौं । २ र ३ नं. वडालाई कफी पकेट क्षेत्रको रूपमा छुट्याएका छौं । वडा नं. ४ र ६ लाई एभोगाडो र फलफूल पकेट क्षेत्रको रूपमा छुट्याएका छौं । वडा नं. ५ लाई पशुपालनको पकेट कार्यक्रमहरू अगाडि सारेका छौं ।

हाम्रो पालिकामा केही कृषकहरूले व्यावसायिक कृषि खेतिको सरु गरेका छन् । पालिकामा विशेष गरी तरकारी बाली क्षेत्र अन्तर्गत टमाटर राम्रो उत्पादन हुने गरेको छ । टमाटर उत्पादनमा गर्नमा पनि कृषकहरू लागि परिरहेका छन् । निर्वाह कृषि प्रणालीलाई व्यावसायिक बनाउनु पर्छ भन्ने जोड पनि दिइरहेका छौं । पशुपालनका क्षेत्रका कार्यक्रमहरू पनि अगाडि सारेका छौं । कृषकहरूलाई अनुदान स्वरूप प्लास्टिक टनेल पनि वितरण गर्दै आएका छौं । पालिकामा ५० देखि ७५ प्रतिशतसम्मका अनुदानका कार्यक्रमहरू धेरै रहेका छन् । कृषिलाई आधुनिकीकरण गर्नमा हामीले विशेष जोड दिएका छौं । कृषकहरूका बेला बेलामा कृषि औजारको सामान पनि वितरण गर्दै आएका छौं । पालिकामा कृषि समुहहरु पनि गठन भएका छन् ।

कृषि क्षेत्रका के–कस्ता समस्याहरू पलिकामा धेरै आउने गरेको छ ?

कृषि क्षेत्रमा प्राविधिक समस्याहरू धेरै आउने गरेको छ । कृषकहरुले जुन रूपमा कृषिलाई प्राथमिकता राखेर काम गरी रहेका छन् त्यस्तो अवस्थामा विभिन्न रोग आउने र अत्यधिक मात्रमा विषादीको प्रयोग गर्नुपर्ने अवस्थाको सिर्जना आएको छ । बजारीकरणको समस्या पनि रहेको छ । कृषकहरूले उपयुक्त मूल्य नपाएको कारण तरकारीहरू नष्ट गर्नुपर्ने अवस्थाको पनि सिर्जना हुन्छ । तर पनि कृषि क्षेत्रमा आएको समस्यालाई न्युनिकरण गर्नको लागि हामी लागि परिरहेका छौं ।

गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध छन् होला ?

यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । आधुनिक कृषि प्रणालीलाई विशेष जोड दिइरहेका छौं । प्रतिशतमै भन्नुपर्दा करिब ६० प्रतिशत मानिसहरू कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ । हामीले राम्रो कृषि उत्पादन गर्ने किसानलाई सम्मान गर्ने पनि गरेका छौं ।

तपाईंको काम गराईबाट नागरिकहरु कत्तिको सन्तुष्ट भएको पाउनु भएको छ ?

मैले गरेको काम बाट नागरिकहरु खुसी नै छन् जस्तो मलाई लाग्छ । नागरिकहरूको अपेक्षा तथा चाहना पुरा गर्नको लागि हामी लागि परिरहेका छौं । तर पनि काम गर्ने सन्धर्वमा वा विषयवस्तुमा नागरिकको गुनासो रहेको छ । नागरिकको गुनासोलाई संभोदन गर्दै अगाडि बढि रहेका छौं । गाउँपालिकामा अहिलेसम्म विकास निर्माणको कामहरू प्रभावकारी नै भएका छन् । हामीले आशा गरेअनुरूप विकास निर्माणको काम गर्न सकेका छौं । नागरिकहरू पनि हाम्रो काम देखेर खुसी नै हुनुहुन्छ जस्तो लाग्छ ।

तपाईंको पालिकामा सडक सञ्जालको अवस्था कस्तो छ ?

जनप्रतिनिधिको रूपमा आउँदा पालिकामा ७८ किलोमिटर मात्र सडक थियो । अहिले हामीले त्यो सडकलाई विस्तार गरी पालिका भरी ३ सय ७८ किलोमिटर सडक बनाउन सफल भएका छौं । हाल पालिकाको टोल टोल र बस्तीमा सडक सञ्जाल पुर्याउन सफल भएका छौं । सडकको व्यवस्थापन गरी कसरी दिगो बनाउन सकिन्छ भनेर जोड दिइरहेका छौं । सडक संरचनाको निर्माण गर्ने गरी बजेट बिनियोजन गारेका छौं । सडकको सुविधा सबै नागरिकलाई पुगोस् भन्ने हाम्रो लक्ष्य रहेको छ । पालिकामा केही सडकहरू ग्राबेल पनि भएका छन् भने सडक सञ्जाल चाहिँ सबै वडामा पुगेको छ । सबै वडामा सडक पुगे पनि कच्ची सडक पालिकामा धेरै छन् । पालिकाका केही सडकको स्तरोन्ती पनि गरेका छौं ।

तपाईंको कार्यकालमा भएको सबै भन्दा ठुलो उपलब्धी केलाई ठान्नुहुन्छ ?

पालिकामा विकास भएअनुसार उपलब्धी पनि राम्रो नै भएको छ । पालिकामा सडक सञ्जाल सबै ठाउँमा पुर्याउन पनि सफल भएका छौं । वडावडासम्म बस पुर्याउने भनेका थियौं । प्रत्येक वडाको वडाकार्यलयसम्म बस पुर्याउको लागि सडक निर्माण गर्दैछौं । कृषि विकासमा पनि राम्रो नै काम भएको छ । शिक्षामा पनि लगानी बढाएका छौं । नागरिकको घरको खरको छानो हटाएर टिनको छानो लगाउने कार्यक्रम पनि छ । संघीय सरकारले सुरक्षित नागरिक आवस अन्तर्गत यो कार्यक्रम छ । पालिकामा रहेका गरिब विपन्न नागरिकको घरको खरको छानो हटाई टिनको छानो लगाउने काम भएको छ । पालिकामा २ हजार ७ सय ९१ ओटा घरमा खरको छानो थियो । पालिकाको पछिल्लो तथ्याङ्कअनुसार १ हजार ८५ ओटा मात्र खरको छानो रहेको छ । पालिकाको तर्फबाट पनि १ सय ५० भन्दा बढि घरको खरको छानो विस्थापित गरी टिनको छानो लगाइदिएका छौं । विपन्न वर्गलाई प्राथमिकतामा राखेर प्रति घर ५० हजार रुपैयाँको दरले दियौं । पालिकाको बिस्तारै खरको छानो हटि टिनको छानु लगाउने क्रम बढेको छ ।

गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

युवा लक्षित गर्दै पालिकामा विभिन्न सिपमूलक कार्यक्रम पनि लागु भएको छ । सिपमूलक भए बसेका धेरै युवाहरूले रोजगारी पाएका छन् । युवा स्वरोजगारको लागि हामीले जोड दिइरहेका छौं । विदेशबाट फर्किएका युवाहरूको समूह गठन गरी युवाहरूलाई अनुदान दिने व्यवस्था मिलाएका छौं । रोजगारीको कुरा पनि बजेटसँग नै जोडिँदो रहेछ । कृषि पेशामा आवद्ध हुने युवाहरूलाई अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । युवाहरू कृषि उत्पादनसँग जोडिनु पर्छ भनेर हामीले जोड दिएका छांै ।

युवाहरूलाई धेरैभन्दा धेरै उत्पादन गरी बजार नपाएको अवस्थामा हामीले नै बजार व्यवस्थापन गरिदिन्छौं भनेका छौं । काम गर्न चाहने युवाहरूका लागि धेरै ठाउँमा अवसर छ । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । पालिकाका धेरै युवालाई विदेशको रहर पनि छ । हामीले युवाहरूलाई कृषिको तालिम पनि दिँदै आएका छौं । युवाको सिप विकास गर्नको लागि विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएका छौं । पालिकामा हामीले युवाको सिप विकासको लागि विशेष जोड दिइरहेको छौं । केही युवाहरूले व्यावसायिक कृषि खेतिको पनि सुरुवात गरेका छन् । युवाहरूले सिप विकास गरेर पालिका भित्रनै रोजगारी पाउन सक्छन् । पालिकाका युवाहरूले जिविकोपार्जन गर्नको लागि विभिन्न काम गर्दै आएका छन् ।

गाउँपालिकामा रहेका ठूला योजना तथा परियोजनाहरू के–के छन् ?

गाउँपालिकाको ठुलो योजनाको रूपमा सडक निर्माणको नै रहेको छ । सडक ग्रबेल गर्ने काम पनि पालिकामा भइरहेको छ । संघीय सरकाबाट प्राप्त वडा नं. ४ र ५ मा सडको ग्रबेल गरेर सडक फराकिलो बनाउने काम पनि भइरहेको छ । पालिकाम खानेपानी आयोजना पनि रहेको छ । गाउँपालिकाको भवन पनि निर्माण भएको छ । कोभिडको लागि क्वारन्टिन भवनको निर्माण गरेका छौं ।

कर्मचारी र जनप्रतिनिधिहरू बिचको सम्बन्ध कस्तो छ नि ?

कर्मचारी र जनप्रतिनिधि बिचको सम्बन्ध सुमधुर रहेको छ । कर्मचारी र जनप्रतिनिधिको बिचको काम फरकफरक हुन्छ । जनप्रतिनिधि र कर्मचारीको सामूहिक भावनाले मात्रै पलिकाको विकास निर्माणको काम देखि लिएर अन्य काम गर्न सकिन्छ । सम्बन्ध राम्रो भएको कारण विकास निर्माणको कामले पनि तीव्रता पाएको छ । हालसम्म कर्मचारी र जनप्रतिनिधिको मनमुटाब भएको छैन । जनताको सेवाको लागि तत्पर रहन सबै कर्मचारीहरूलाई आग्रह गरेको छु । कर्मचारीको सहयोगमा नै विकास निर्माणको काम अगाडी बढाउने हो । जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध नङ र मासुको जस्तो हुन्छ । जनप्रतिनिधि र कर्मचारी बिचको सम्बन्ध राम्रो भएकाले नागरिकहरू पनि खुसि रहेका छन् ।

अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ?

अब हाम्रो कार्यकाल धेरै बाँकी छैन । गाउँपालिकालाई समृद्ध बनाउनको लागि हामी लागि परेका छौं । भौगोलिक विकटता रहेका हाम्रा पालिकामा धेरै नागरिकहरू गरिबीको रेखामा रहेका छन् । जनताको आर्थिक स्थिति सुधार गर्नको लागि कृषि र पशुको क्षेत्रको विकास गर्नको लागि विशेष जोड दिएका छौं । यहाँका जनताले भोलिका दिनमा पनि मैले गरेका कामहरूबाट लाभ लिइरहन सकुन् भन्ने चाहना छ । जनताको चाहना र आवश्यकता कम्मर कसेरै पूरा गर्ने लक्ष्य लिएको छु । हामीले पालिकास्तरको योजना तयार पारेका छौं । यो योजना पुरा गर्नमा हामीले विशेष जोड दिएका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दिर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासको कुरामा पनि हामी ध्यान दिइरहेका छौं ।

अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ?

हामी निर्वाचित भएर पालिकामा आइसकेपछि हामीले गर्नु पर्ने विभिन्न क्रियाकलाप गर्दै अगाडि बढेका छौं । कोरोनाको बाट सबै सचेत हौं भन्न चाहन्छु । पालिकाको विकास निर्माण गर्नमा नागरिको हमीलाई साथ चाहीन्छ । नागरिकको आवश्यकता पुरा गर्नमात्र नभई समग्र पालिकाकै विकास गर्नुपर्छ भन्ने ठानेर त्यसै अनुसार हामीले कम्मर कसेका छौं । हामीमा पाइएको कमीकमजोरीको बारेमा पनि सुझाव दिनुहोस् भन्न चाहन्छु । नागरिको आशा र अपेक्षा पुरा गर्नको लागि हामी लागि परेका छौं । सबै जनाले हातेमालो गरेर पालिकाको आर्थिक तथा सामाजिक रूपान्तरण गर्नतर्फ लागौं पनि भन्न चाहन्छु । स्थानीय स्रोत तथा साधनको परिचालन गर्दै विकास निर्माणको कामलाई अगाडि बढाउनु पर्छ भन्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.