कोरोनाको संक्रमण बढ्न थालेपछि व्यवसायीलाई करको चिन्ता, म्याद थप्न आग्रह गर्न थाले

  २०७८ वैशाख २१ गते १५:२४     विकासन्युज

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि बढ्न थालेपछि व्यवसायी चिन्तित बनेका छन् ।

दिनप्रतिदिन कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि उद्योगधन्दा तथा व्यापार व्यवसाय समस्यामा पर्ने मात्र होइन कर तिर्न पनि समस्या हुने भनदै उद्योगी तथा व्यवासायीहरुले चिन्तित बन्न थालेका हुन् ।

अहिले सरकारले कोरोना भाइरसको संक्रमण बढ्न थालेको भन्दै बैशाख १६ गतेदेखि विभिन्न जिल्लामा निषेधाज्ञा पनि जारी गरेको छ । निषेधाज्ञाको समयमा कर तिर्न समस्या भएको भन्दै उद्योगी व्यवसायीहरुले कर तिर्ने म्याद थप्न आग्रह गरका हुन् ।

नेपाल चेम्बर अफ कमर्सले यस्तो परिस्थितिमा कर विवरण र कर रकम दाखिला गर्न समस्या भएकोले म्याद थप गर्न आग्रह गरेको हो ।

अहिले निषेधाज्ञाको कारण उद्योग, व्यवसाय तथा कार्यालयहरू बन्द छन् । यस्तो विषम परिस्थितिमा कर विवरण र कर रकम दाखिला गर्न अनलाइनबाट समेत सम्भव नभएकोले आवश्यक म्याद थप गर्न चेम्बरले आग्रह गरेको हो ।

चेम्बरले निषेधाज्ञाको समयमा व्यवसायी तथा कर्मचारीहरू आफ्ना कार्यालयमा जान सक्ने अवस्था नरहेको बताउँदै चेम्बरले सम्बन्धित कागजातहरू पनि कार्यालयमै रहने भएकोले म्याद थप्न आग्रह गरेको हो ।

यस्तै, नेपाल उद्योग परिसंघले पनि सरकारले घोषणा गरेको निषेधाज्ञाको समयमा कर विवरण बुझाउन र कर चुक्ता गर्न कठिन भएकाले समय थप गर्न सरकारसँग माग गरेको छ । महामारीका कारण सिर्जित कठिन परिस्थितिका कारण कर दाखिला गर्न समस्या भएकाले अवस्था सहज हुनासाथ कर रकम र विवरण बुझाउने भएकाले त्यसमा कुनै थप शुल्क र जरिवाना नलिन पनि परिसंघले सरकारसँग माग गरेको हाे ।

परिसंघले कर विवरण पेश गर्नुपर्ने सम्बन्धमा कानुनमा उल्लेखित हालको व्यवस्थाको सट्टा कोभिडको प्रकोप सहज नहुञ्जेल सहज रूपमा विवरण र कर दाखिला गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको हाे । कर विवरण पेश गर्नुपर्ने सम्बन्धमा हाल भएको व्यवस्था ‘एक महिनाको कर अवधिको कर विवरण सो अवधि समाप्त भएको मितिले २५ दिनभित्र सम्बन्धित कर अधिकृत समक्ष पेश गर्नुपर्ने’ व्यवस्थालाई सहज बनाई कोभिडको प्रकोप न्यून नहुन्जेलसम्मको लागि सहज रुपमा कर दाखिला गर्न र विवरण बुझाउन पाउनु पर्ने माग परिसंघले गरेको छ ।

परिसंघका अध्यक्ष सतिशकुमार मोरको अध्यक्षतामा हिजो बसेको पदाधिकारी बैठकले सरकारले जारी गरेको निषेधाज्ञाबाट उद्योग व्यवसाय क्षेत्रमा पर्दै गएको प्रत्यक्ष प्रभाव र आगामी दिनमा पर्न सक्ने असरहरुको सम्बन्धमा समीक्षा गरेको छ ।

परिसंघले निषेधाज्ञाको समयमा पनि उद्योग व्यवसायहरु सञ्चालन गर्नु पाउनुपर्ने तथा सबै उद्योग परिसर भित्र व्यवस्थित आवास तथा क्वारेन्टाइनको व्यवस्था गर्न पर्याप्त स्थान नहुने भएकोले उद्योगले सञ्चालन गरेको सवारी साधनमा कर्मचारी तथा श्रमिकहरुलाई आवश्यक स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी आवत जावतको लागि पासको व्यवस्था गरी सहज आवतजावतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.