सडकमा सवारी साधनको संख्या कम भएन, अब निषेधाज्ञामा कडाई गरिने

  २०७८ वैशाख २१ गते ११:२२     विकासन्युज

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण झन तीव्र फैलिँदै गए पनि निषेधाज्ञा भने खासै प्रभावकारी देखिएको छैन । सरकारले कोरोना भाइरसको संक्रमणदर फैलिएको भन्दै बैशाख १६ गतेदेखि काठमाडौं उपत्यका सहित विभिन्न जिल्लाहरुमा निषेधाज्ञा गरेपनि काठमाडौं उपत्यकामा भने निषधाज्ञा खासै प्रभावकारी देखिएको छैन ।

दैनिक कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सकडमा ओहोरदोहोर गर्ने पनि घट्नु पर्नेमा उल्टै बढ्दै गएका छन् । सरकारले सरकारी गाडी, बैंक तथा वित्तीय संस्था, बीमा, सञ्चारकर्मी, लगायत अत्यावश्यक काम तथा वस्तुका सवारी साधनहरु सञ्चालन गर्न मिल्ने नियम बनाएसँगै सडकमा गुड्ने गाडीहरुको संख्या उल्लेख्य देखिएको हाे ।

सडकमा उल्लेख्य संख्यामा सवारी साधन गुडेपछि निषेधाज्ञा फितलो देखिएको हो । अहिले सडकमा गुड्ने सवारी चालकहरुले विभिन्न संघ संस्थाका पास, परिचय पत्र देखाएर सडकमा ओहोर दोहोर गरिरहेका छन् । सवारी पास तथा परिचय पत्र देखाएपछि ट्राफिक प्रहरीलाई पनि उनीहरुलाई छोड्नु पर्ने बाध्यता छ ।

पास नभएर सवारी साधन गुडाउनेहरु पनि सडकमा उल्लेख्य भेटिन्छन् । परिणामस्वरुप उनीहरु होल्डिङ सेन्टरमा बाध्य छन् । ट्राफिक प्रहरीले दैनिक सयौंको संख्यालाई होलिङ सेन्टरमा राखेर सजाय दिने गरेको छ ।

महानगरिक ट्राफिक प्रहरी महाशाखाका अनुसार निषेधाज्ञा कडाई गरिएको भएपनि विभिन्न समस्या देखाएर सडकमा सवारी साधनहरु गुडाउनेले समस्या हुने गरेको बताएको छ । महानगरिक ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले काठमाडौं उपत्यकामै ५६ ठाउँमा चेक गर्ने ठाउँ राखेर चेकजाँच भइरहेको बताए ।

‘धेरेले पीसीआर चेक गर्न जाने भन्नुहुन्छ, पीसीआर चेक गर्न जाने पनि कुनै प्रमाण हुँदैन, उहाँहरुलाई राखेर मात्रै छोड्ने गरेका छौं, कुनै ट्याक्सीहरु अस्पताल पुगेर आएँ भन्नुहुन्छ, उनीहरुलाई पनि चेकजाँच गर्दा कुनै प्रमाण हुँदैन, प्रमाण नभेटिएकाहरुलाई दिनभर राखेर साँझ जिम्मा लगाउने गरेका छौं,’ उनले भने ।

दैनिक १७/१८ सय सवारी साधन कारवाहीमा पर्ने गरेको उनको भनाई छ ।  दिनप्रतिदिन कोरोना भाइरसको संक्रमणदर बढेपछि निषेधाज्ञा कडा गर्ने तयारी सरकारको छ । हिजो मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दै निषेधाज्ञा कडा हुने स्पष्ट पारिसकेका छन् ।

उनले कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गएकोले लकडाउन कडा गर्नु पर्ने आउन सक्ने धारणा राखिसकेका छन् । संक्रमण बढ्दै जाँदा सरकारलाई निषेधाज्ञा कडा पार्नुको पनि विकल्प छैन । अहिले प्रशासनले विभिन्न बैंक तथा वित्तीय संस्थामा एक चौथाई कर्मचारीहरुको उपस्थितिमा सेवा प्रवाह गर्न निर्देशन दिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.