बैशाख २९ मा सगरमाथा आरोहणको तयारी, आधार शिविरमा ४ हजार बढी

  २०७८ वैशाख २१ गते ९:३३     विकासन्युज

काठमाडौं । आगामी बैशाख २९ गतेमा यस वर्षको सगरमाथा आरोहणको तयारी भएको छ । सगरमाथा आरोहणका लागि आधार शिविर पुगेका आरोहीहरु उपयुक्त मौसमको पखाईमा बसेको पर्यटन विभागले जनाएको छ ।

अहिलेसम्म आगामी बैशाख २९ गतेदेखि जेठ १५ गतेसम्मको मौसम उपयुक्त रहेको भन्ने जानकारी आएको छ । उपयुक्त मौसममा आरोहण गर्ने तयारीका साथ आरोहीहरु तयारी अवस्थामा बसेको विभागका अधिकारीहरु बताउँछन् ।

यस सिजनको अरोहण अन्तर्गत सगरमाथा आधार शिविरमा आरोहीसगैँ शेर्पा गाईड तथा अन्य सहयोगी आधार शिविरमा पुगिसकेका छन् । आरोहीसगैँ आधार शिविरमा हाल ४ हजारभन्दा मानिसहरु रहेको जनाईएको छ ।

सगरमाथाका लागि ४०८ आरोहीलाई अनुमति

विभागले यस सिजनको हिमाल आरोहण अन्तरगत सगरमाथा आरोहणका लागि ४४ समूहका ४०८ जना आरोहीलाई आरोहण अनुमति दिएको छ । आरोहीको माग अनुसार विभागले आरोहण अनुमति दिएको हो ।

यस सिजनको हिमाल आरोहणका लागि विभागले सगरमथा सहित विभिन्न १६ वटा हिमाल आरोहण गर्न ८५ समूूहका ७ सय ४२ आरोहीले आरोहणको अनुमति दिएको छ ।

जसमा सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि छन् । सगरमाथा आरोहणका लागि ३ सय १५ पुरुष र ९२ जना महिला गरेर ४ सय ८ जनाले आरोहणका लागि अनुमति लिएर आधारशिविरतर्फ गएका छन । सरकारले आरोहण अनुमतिपत्रको रोयल्टीबापत मात्रै ७१ करोड ४८ लाख ५३ हजार ५ सय २९ रुपैयाँ संकलन गरेको छ ।

आरोहणमा कोटा

कोरोना संक्रमणलाई ध्यानमा राख्दै पर्यटन विभागले हिमाल आरोहणमा कडाई गरेको छ । विभागले आरोहण अनुमति लिएर हिमाल गएका आरोहीलाई ध्यानमा राख्दै विभिन्न कडाई गरेको हो ।

लामो समयदेखि सगरमाथा आरोहणका लागि आधार शिविर पुगिसकेका आरोहीको स्वास्थ्यलाई ध्यानमा राख्दै विभागले नयाँ अनुमति लिएर जाने आरोहीलाई पीसीआर परीक्षणको नेगेटिभ रिपोट अनिवार्य गरिएको विभागकी निर्देशक मीरा आचार्य बताउँछिन् ।

उनका अनुसार विभागले आरोहणमा जाने प्रत्येक आरोहीलाई अनिवार्य रुपमा पीसीआर परीक्षणको नेगेटिभ रिपोट र मास्क अनिवार्य, आफ्नो क्यामभन्दा अर्काेमा बीना अनुमति जान नपाईन जस्ता नियम लागु गरेको छ ।

विभागले यसअघि नै सगरमाथा आरोहणमा ट्राफिक जाम (आरोहीको भिड) हुनसक्ने भन्दै एक पटक १७० जनाभन्दा बढी आरोही जान नपाउने जनाईसकेको छ । आरोहण अनुमति लिएको संख्याका क्रममा आरोहण गर्न विभागले आरोहीसगैँ आरोहण एजेन्सीलाई निर्देशन दिइसकेको छ ।

आरोहण शूल्क

सगरमाथा आरोहणका लागि विदेशीले प्रतिव्यक्ति ११ हजार डलर रोयल्टी तिनुपर्ने व्यवस्था छ भने नेपालीले ७५ हजार रुपैयाँ रोयल्टी तिर्नुपर्छ । सगरमाथा आरोहणका लागि बढीमा १५ जनाको समूह बनाउन पाउने व्यवस्था छ ।

सरकारले आरोहणका लागि ४१५ हिमाल खुला गरेको छ, अझै आरोहणयोग्य १३ सयभन्दा बढी हिमाल रहेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.