निषेधाज्ञाको ४ दिनमै डण्डीको मूल्य ३० प्रतिशतले बढ्यो, सिमेन्टको पनि बढाउने तयारी, अनुगमन शून्य

  २०७८ वैशाख २० गते १४:१९     सन्ताेष राेकाया

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण भएको निषेधाज्ञाको केही दिनमै निर्माणजन्य सामग्रीको मूल्य ह्वात्तै बढेको छ । निर्माण सामग्रीहरुमा पनि डण्डीको मूल्य अत्याधिक बढेको हो ।

निषेधाज्ञा भएको ४ दिनमै डण्डीको मूल्य ३० प्रतिशतभन्दा बढीले महँगो भएको छ । व्यवसायीहरुका अनुसार निषेधाज्ञापछि निर्माण सामग्रीको मूल्य ३० प्रतिशत बढीले महँगाे भएकाे हो । नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालका अनुसार निषेधाज्ञापछि निर्माण सामग्रीको मूल्य ह्वात्तै बढेको छ ।

‘निषेधाज्ञापछि निर्माणजन्य सामग्रीको माग कम भएपनि सामग्रीको मूल्य भने अत्याधिक बढेको उनको भनाई छ । सरकारले निषेधाज्ञा गर्नु अगाडि डण्डीको मूल्य ८०/८५ रुपैयाँ थियो, आजको दिनसम्म आइपुग्दा १०७ रुपैयाँ पुगिसकेको छ, अझै बढ्छ भन्ने कुरा पनि आइरहेको छ,’ दाहालले भने ।

सरकारले बैशाख १६ गतेदेखि निषेधाज्ञा गरेको थियो । निषेधाज्ञा गरेको आज ४ दिन भइसकेको छ । यो चार दिनको अवधिमा निर्माण सामग्रीको मूल्य अत्याधिक बढेको हाे ।

दाहालका अनुसार निर्माण सामग्रीको कृतिम अभाव देखाएर सामग्रीको मूल्य बढाइएको हो । अहिले निर्माणजन्य अन्य धेरै सामग्रीको मूल्य पनि बढिरहेको उनको भनाई छ । उनले उद्योगीहरुले सिमेन्टको मूल्य पनि बढाउने तयारी गरिरहेको बताए ।

यस्तै, ग्रिल तथा स्टील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले पनि स्टिलसँगै अन्य निर्माण सामग्रीको मूल्य पनि बढेको बताए । निषेधाज्ञा अघि ७५ रुपैयाँ पर्ने डण्डीको मूल्य अहिले १०७ रुपैयाँसम्म पर्ने गरेको उनको भनाई छ ।

‘अहिले उद्योगीहरुले अन्तर्राष्ट्रिय रुपमै कच्चा पदार्थको मूल्य बढेको भनेर मूल्य बढेका बताउँदै आएका छन्, मूल्य बढेपनि अन्तर्राष्ट्रिय रुपमै बढे अनुसार बढ्नु पर्छ, नेपालमा त्यसको दुई तीन गुणा बढाइरहेका छन्, यस्तो परिस्थितिमा सबैले मिलेर एक अर्कालाई सहयोग गर्नु पर्ने अवस्थामा यसरी मूल्यवृद्धि गर्नु राम्रो होइन,’ उनले भने ।

उनका अनुसार डण्डीसँगै फलामजन्य अन्य धेरै सामग्रीको मूल्य पनि अत्याधिक बढेको छ । पाइपको मूल्य पनि बढेको छ । उता सिमेन्ट उत्पादकहरुले पनि सिमेन्टको मूल्य बढाउने तयारी गरिरहेको बुझिएको छ । व्यवसायीहरु भने सरकारले अनुगमन नगर्दा उद्योगीहरुले मनलाग्दी किसिमले मूल्यवृद्धि गरेको आरोप लगाइरहेको छन् ।

यता वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागले पनि अहिले निर्माण सामग्रीमा अनुगमन नभएको स्वीकारेको छ । विभागका अनगुगमन शाखा प्रमुख शिबराज सेढाईंले अहिले विभागले निर्माण सामग्रीमा अनुगमन रोकिएकाे बताए ।

‘अहिले कोरोना भाइरसको महामारीमा हाम्रो ध्यान अत्यावश्यक उपभोग्य वस्तु र स्वास्थ्य सामग्रीमा छ, निषेधाज्ञा भएकाले पनि निर्माण सामग्रीका पसलहरु बन्द छन्, बन्द पसलमा कसरी अनुगमन गर्ने ?, निर्माण सामग्रीको मूल्य बढेको हो भने कसले बढाएको हो ? हामीलाई जनकारी गराए हामी कारवाही गर्छौं, अहिले यस्तो महामारीमा निर्माणको काम रोकिएको छ, हामीलाई लाग्छ त्यस्तो मूल्यवृद्धि पनि नहोला,’ उनले भने ।

One comment on "निषेधाज्ञाको ४ दिनमै डण्डीको मूल्य ३० प्रतिशतले बढ्यो, सिमेन्टको पनि बढाउने तयारी, अनुगमन शून्य"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.