वाणिज्यको टोल फ्री नम्बरमा कोभिड सम्बन्धी गुनासोको ओइरो, भन्छन्- आईसीयु मिलाइदिनु पर्यो

  २०७८ वैशाख १९ गते १३:३५     विकासन्युज

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ताको गुनासो सम्बोधन गर्न सञ्चालन गरेको टोल फ्री नम्बर हो ११३७ ।

बजारमा खाद्यान्न लगायतका वस्तुको मूल्यबृद्धि, कालोबजारी तथा आद्यान्न अभाव जस्ता गुनासा आउने उक्त नम्बरमा पछिल्लो समय कोभिड सम्बन्धी गुनासाहरु धेरै आउने गरेको छ ।

गत एक सातायता विभागको टोल फ्री नम्बरमा अधिकांश गुनासो कोभिड र अस्पतालमा वेड अभाव भयो जस्ता आउने गरेको विभागका अधिकारीहरु बताउँछन् ।

विभागका प्रवक्ता शिवराज सेढाई दैनिक १५ वटा बढी कोभिडसँग सम्बन्धीत गुनासा आउने गरेको बताउँछन् । कहिले ३० भन्दा बढी गुनासो तथा कहिले १० वटा मात्र आउने गरेको छ । गुनासो गर्दै फोन गर्नेमध्ये ९० प्रतिशत गुनासो कोभिडकै छन् ।

‘हामीकहा अधिकांश फोन कोभिड संक्रमित विरामीलाई अस्पतालको इमजेन्सीमा राखिएको छ । विरामीको अवस्था चिन्ताजनक छ, आईसीयुमा राख्न पाइएन, लौन फलानो अस्पताललाई भनिदिनुस भनेर आउँछन् । हामीले अस्पताललाई आईसुयी व्यवस्थापन गर भन्ने कुरा भएन । सकेसम्म सहजीकरण गर्ने गरेका छौँ । धेरै गुनासोलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोल फ्री नम्बर दिने गरेका छौँ’, उनले भने ।

उनका अनुसार कोभिड बाहेक पछिल्लो दुई दिन यता मास्कको अभाव देखाउँदै मूल्य बृद्धि भएको भन्ने आएको छ ।

‘विभागमा आएका गुनासा मध्ये केही गुनासाहरु बाहिरी जिल्लाबाट पनि आउने गर्छन । बाहिरबाट आएका गुनासोका लागि सम्बधित स्थानीय तहलाई नै जानकारी दिने गरेका छौँ । काठमाडौँ उपत्यकाको हकमा विभागले नै गुनासो सुनावाइ गर्दै आएका छौँ’, उनले भने ।

पछिल्लो समय कोरोना संक्रमितको संख्यामा बृद्धि भएको मौका छोपी केही मास्क उद्योग तथा ठूला व्यवसायीहरुले आफुखुशी मास्कको मूल्य बृद्धि गरेका छन् ।

बिना कुनै जानकारी मास्कको मूल्यमा बृद्धि भएपछि विभागले काठमाडौँ उपत्यकामा सञ्चालित केही मास्क उद्योगमा समेत अनुगमन गरेको थियो । अनुगमका क्रममा मास्कको मूल्यमा बृद्धि भएको पाएपछि विभागले मास्क उद्योगीलाई कारवाही स्वरुप जरिवाना समेत गरेको थियो ।

अन्य समयमा विभागको टोल फ्री नम्बरमा खासै गुनासाहरु आउने गरेका थिएनन । कहिले काही आउने गुनासाहरु खाद्यान्नको मूल्य बढी भयो, विल दिएन जस्ता थिए ।

गत वर्षको बन्दाबन्दीमा दैनिक ३ सयबढी गुनासो आउने उक्त नम्बरमा हाल २० वटा सम्म गुनासा आउने गरेका छन् ।

पछिल्लो समय विभागले आफ्नो नियमित अनुगमनभन्दा पनि टोल फ्री नम्बरमा उपभोक्ताबाट आएका गुनासोका आधारमा अनुगमनलाई तीव्रता दिएको छ ।

विभागले जो कोहीलाई पनि सामग्री खरिद गर्दा समस्या भए वा अन्य कसैलाई ठगी गरेको जानकारी भएमा टोल फ्री नम्बरमा खबर गर्न समेत उपभोक्तालाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.