भरतपुरको वागीश्वरी र शारदानगरमा अक्सिजनसहितको आइसोलेसन केन्द्र बनाइने

  २०७८ वैशाख १९ गते ९:०६     विकासन्युज

भरतपुर । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ ।

चितवनबाट प्रतिनिधित्व गर्ने वाग्मती प्रदेशसभा सदस्य विजय सुवेदी, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडासहितको टोलीले शनिबार भरतपुरको वागीश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय र शारदानगर हेल्थ पोष्टको स्थलगत अध्ययन गरेका हुन् ।

टोलीले सो क्षेत्रमा स्थलगत अध्ययन गरी वागीश्वरीमा १०० शय्याको र शारदानगर हेल्थपोष्टमा ३० शय्याको आइसोलेसन केन्द्र बनाउने तयारी थालेको हो ।

प्रदेशसभा सदस्य सुवेदीले योग तथा प्राकृतिक चिकित्सालय र शारदानगर हेल्थ पोष्ट प्रशासनलाई तत्काल आइसोलेसन केन्द्र बनाउन के–कति खर्च लाग्छ योजनासहित पेश गर्न निर्देशन दिएका छन् । उनले भने, ‘आइसोलेसन केन्द्रका लागि भरतपुर महानगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकारको सहयोग रहनेछ । भरतपुरमा कोरोनाको सङ्क्रमण फैलिएर महामारीको रूपमा फैलिनसक्ने भएकाले पनि आइसोलेसन जरुरी छ ।’ उनले अस्पतालहरु भरिन थालेपछि अक्सिजनसहितको आइसोलेसनको जरुरी परेको बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.