५४ मेगावाटको सुपरदोर्दी ‘ख’ को काम ८५ प्रतिशत सकियो, फागुनदेखि प्रसारण लाइनमा जोडिने

  २०७८ वैशाख १८ गते १७:५६     विकासन्युज

लमजुङ । आगामी फागुनदेखि सुपरदोर्दी ‘ख’ आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । जिल्लाको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षमताको यस आयोजनाको निर्माण कार्य सकेर आगामी फागुन महिनाबाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको हो ।

निर्माण कार्य तीव्र भएकोले आगामी फागुनमा बिजुली उत्पादन गर्ने आयोजना साइट इञ्चार्ज रमेश सिग्देलले बताए । उनले भने, “८५ प्रतिशत बढी निर्माण कार्य सकिएको र बाँकी काम निर्धारित समयमै सक्ने लक्ष्य छ ।” पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको यस आयोजना दोर्दी कोरिडोरकै सबैभन्दा ठूलो हो । यस आयोजनाको हालसम्म २२७ मिटर ठाडो पाइप खन्ने काम सकिएको छ जसमा ३७ मिटर पाइप बिच्छ्याइसकेको छ ।

त्यस्तै, दुई हजार १०० मिटरको सुरुङको आधा काम सम्पन्न भइसकेको छ । एक हजार ४०० मिटर सुरुङको फिनिसिङ कार्य भइरहेको र आगामी पाँच/६ दिनभित्र सम्पन्न हुने इन्चार्ज सिग्देलले बताए । यस्तै, एक हजार ६०० मिटरको सुरुङको समेत काम भइरहेको छ । यस सुरुङको ४२० मिटर सुरुङ खन्न बाँकी छ । आगामी जेठभित्र सुरुङ इनटेकको बाहिरी काम सम्पन्न हुने जनाइएको छ ।

इलेक्ट्रोमेकानिकल, टनेल र पावर हाउसको केही काम भइरहेको छ । यस पावर हाउसको सात मिटर चौडाइ र ५० मिटर लम्बाइमा पर्खाल लगाउने काम सकिएको छ ।

पावर हाउसको सबै काम गरेर ६० प्रतिशत निर्माण सकिएको छ । आयोजनामा हाल ४०० जना कामदार कार्यरत छन् । विविध कारणले निर्माण कार्यमा ढिलाइ भएपछि २०७८ असारसम्म निर्माण सक्ने सम्झौता रहेको छ । आयोजनाको कूल लागत रु आठ अर्ब ८० करोड छ । सानिमा बैंकको अगुवाइमा नौ बैंकले ऋण लगानी गरेका छन् । ७० प्रतिशत ऋण र बाँकी प्रवद्र्धन लगानीमा निर्माण हुँदै आएको छ । आयोजनामा प्रभावित क्षेत्रका जिल्लावासीको मात्र रु २७ करोड लगानी रहेको छ । आयोजनाले सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र बर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरीद गर्ने (पीपीए) सम्झौता भएको छ ।

यस आयोजना निर्माण भइरहेको दोर्दी खोला अर्थात् दोर्दी करीडोरमा यसबाहेक चारवटा आयोजना निर्माणाधीन छन् । सोमध्ये हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत्, लिबर्टी इनर्जी लिमिटेडद्वारा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, दोर्दीखोला जलविद्युत् कम्पनीले निर्माण गरिरहेको १२.१ मेगावाटको दोर्दी–१ र छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीको चार मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणाधीन रहेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.