बजार स्यानिटाइज गरेर बज्रयोगिनीको मूल जात्रा गर्दै

  २०७८ वैशाख १८ गते १२:३४     पूर्णप्रसाद मिश्र

फाइल फोटो

काठमाडौं । बज्रयोगिनी मन्दिरबाट खट ल्याएर टोलमा राखेको चौथो दिन नाथ सम्प्रदायका योगीले पूजा गरेपछि बज्रयोगिनीको मूल जात्रा साँखु क्षेत्रमा गरिएको छ ।

नयाँ भेरियन्टसहितको कोरोना तीव्र भएपछि साँखु बजार क्षेत्रमा स्यानिटाइज गरेपछि बज्रयोगिनीको मूल जात्रा गरिएको लावण्य सन्देश साप्ताहिकका सम्पादक पवनलाल श्रेष्ठले जानकारी दिए । स्यानिटाइज गरी नाथ सम्प्रदायका योगी पूजा गरेपछि खटलाई बोकेर साँखु क्षेत्र घुमाइएको छ ।

चैत्र शुक्ल पूर्णिमादेखि शुक्रबारको मूल जात्रा अघिका चार दिन खट राख्न बनाइएको सत्तलभित्र र मूलजात्रा सकिएपछिका चार दिन सत्तल बाहिर राखी साँखुवासीले प्रत्येक दिन बज्रयोगिनी माईलाई पूजा आराधना र दर्शन गर्ने चलन छ । जात्राका क्रममा नाथ सम्प्रदायका योगीले भात पकाएर भूत, पिशाच लगायत नकारात्मक तत्वलाई पन्छाउने विधि समेत आज पूरा भएको छ ।

प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमादेखि आठ दिनसम्म साँखु क्षेत्रमा गरिने बज्रयोगिनी उग्रतारा देवीको खटयात्रा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै शुरु गरिएको थियो । जात्रा वैशाख शुक्ल अष्टमी अर्थात् वैशाख २१ गतेसम्म जारी रहने जनाइएको छ ।

राजा शङ्खदेवको पालामा कलिगत संवत् १८१८ देखि शुरु भएको ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण जात्रा गत वर्ष कोरोनाबाट बच्न लगाइएको बन्दाबन्दीका कारण स्थगित गरिएको थियो । जात्रामा प्रत्येक खट ५० मिटरको फरकमा राखेर गरिएको, चलाखु टोल सुधार समितिले मास्क र स्यानिटाइजर समेत वितरण गरेको बज्रयोगिनी जात्रा व्यवस्थापन समितिका संयोजक प्रज्ज्वलमान सिंले राससलाई जानकारी दिए । वैशाख कृष्ण अष्टमीसम्म हुने यो जात्रामा बज्रयोगिनी उग्रतारा, चैत्यभराद (बुद्धमूर्ति), सिंहीनी र व्याघ्रिनीको चार मूर्ति खटमा राखेर जात्रा गर्ने परम्परा छ ।

तीन हजार ३०० वर्षभन्दा लामो इतिहास भएको जात्रा गत वर्षसमेत तीनपटक रोकिएकाले पनि यस वर्ष स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिएको व्यवस्थापन समितिले जनाएको छ । राजा रणबहादुर शाहको शासनकालमा बिफर रोगको महामारी र विसं १९७० मा बज्रयोगिनी मन्दिरमा आगलागी भएका कारण जात्रा रोकिएको साँखु क्षेत्रको सांस्कृतिक विषयमा अध्ययन अनुसन्धान गरिरहेका प्रकाशमान श्रेष्ठ ‘सक्व’ ले जानकारी दिए ।

शङ्खरापुर नगरपालिका वडा नं.४, ७ र ८ को बीचमा रहेको बज्रयोगिनी मन्दिरबाट खट उठाएर साँखुका आठ टोलमध्ये चार टोलमा राख्ने गरिन्छ । खट राख्न धुला, चलाखु, इला र सुनटोल गरी चारवटा तोकिएको छ । यस वर्ष चलाखु टोलमा खट राख्ने पालो परेको छ ।

धुलाटोलमा राख्दा साल्खा, चलाखुटोलमा राख्दा दुगाहिटी, इलाटोलमा राख्दा पुखुलाछी र सुनटोलमा राख्दा इपाटोलको पनि प्रतिनिधित्व हुने गरी राख्ने गरिएको साँखु क्षेत्रको ऐतहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक खोज अभियानमा लाग्नुभएका ‘सक्व’ ले जानकारी दिए ।

गत वर्ष भीडभाड नगर्ने उद्देश्यले खट जात्रा नगरिएपनि पुजारीबाट हुने पूजा आराधना र नाथ सम्प्रदायका योगीले गर्ने पूजालगायत विधि भने पूरा गरिएको थियो । यस वर्ष स्वास्थ्यका मापदण्ड पूरा गरेर भौतिक दूरी कायम गर्दै जात्रा सम्पन्न गरेर छोड्ने समितिको प्रतिबद्धता छ । बिहीबार मूल जात्रा चलाउने नचलाउने विषयमा दुई पक्षबीच विवाद भएपनि आज बिहान बजार क्षेत्रलाई स्यानिटाइज गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर जात्रा सम्पन्न गर्ने सहमति भएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.