गाउँपालिका अध्यक्ष भन्छन् – ८ सय घरबाट खरको छानो हटाई टिनको छानो लगाउने योजना छ

  २०७८ वैशाख १७ गते १९:३२     विकासन्युज

नेपालको प्रदेश नं. १ अन्तर्गत पाँचथर जिल्लाको उत्तर पूर्वी भागमा अवस्थित प्राकृतिक रूपमा सुन्दर एवं रमणीय गाउँपालिका हो हिलिहाङ गाउँपालिका । पहाडी भूभाग रहेको यो गाउँपालिकामा अनुकूल वातावरण, प्राकृतिक सुन्दरता तथा धार्मिक सहिष्णुता भएकाले एक उपयुक्त पर्यटकीयस्थलको रूपमा पनि चिनिएको छ । यस गाउँपालिकाको नामाकरण ऐतिहासिक हिलिहाङ योङहाङ राजाको नामबाट गरिएको छ ।

७ ओटा वडा रहेको यस गाउँपालिकाको अधिकांश भाग पहाडी भूभागले ढाकेको छ भने यहाँ मिश्रित जातजातिको बसोबास रहेको पाइन्छ । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष भुवानी प्रसाद लिङदेनसँग विकासन्युजका लागि राजिव न्यौपानेले कुराकानी गरेका छन् ।

कोरोनाको संक्रमण पुनः बढ्न थालेको छ, कोरोना संक्रमण दरलाई न्यूनिकरण गर्नको लागि के–कस्तो भूमिका खेल्दै हुनुहुन्छ ?

हालै हाम्रो पालिकाका नागरिकहरू कोरोनाका कारण त्रसित हुनुपर्ने अवस्था छैन । हामीले पालिकामा मास्कको प्रयोगलाई अनिवार्य गरेका छौं । हामीले मास्क खरिद गरी विद्यालय, स्वास्थ्य कार्यालय, संघ संस्था आदिलाई पनि वितरण गरेका छौं । कोरोनाको समयमा बाहिरी जिल्लाबाट आउनेहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्नको लागि अपिल गरेका छौं । पालिकामा हाल १० ओटा आइसोलेसन कक्षको व्यवस्था गरेका छौं ।

बाहिरी जिल्लाबाट आउनेहरूलाई एकैपटक ३० जनासम्म क्वारेन्टिनमा राख्न सक्छौं । भिन्दाभिन्दै जिल्लाबाट आएका मानिसहरुलाई फरकफरक क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाएका छौं । पालिकामा प्रवेश गर्दा मास्क अनि स्यानिटाइजरको प्रयोग अनिवार्य गरेका छौं । बाहिरी ठाउँबाट मानिसहरू पालिका भित्र कमै मात्र आउने गर्छन् । संक्रमण विस्तार रोक्न बजार, विद्यालय, विभिन्न संघ संस्थाहरुले कोरोनासम्बन्धी मापदण्ड अपनाउनु पर्ने व्यवस्था पनि गरेका छौं । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै पालिकाले विभिन्न सूचनाहरु पनि प्रकाशन गरेको छ । मापदण्ड अपनाएर बजार सञ्चालन गर्नुपर्ने, सामाजिक दुरी कायम गर्नुपर्ने जस्ता मापदण्ड पालिकाले तय गरेको छ ।

संक्रमण दर पोहोरको भन्दा हाल भयावह भइरहेको छ । तर आजका दिनको कुरा गर्नुपर्दा भने यता कोरोनाको प्रभाव खासै रहेको छैन । नागरिकहरू पनि सामान्य रूपमा जीवनयापन गरिरहेका छन् तर पनि नागरिकहरूलाई कोरोना देखि सचेत रहन आग्रह गरेका छौं ।

शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आएको छ त ?

शैक्षिक क्षेत्रको अवस्था पालिकामा नाजुक रहेको छ । तरपनि हामीले शैक्षिक सुधारको लागि विशेष पहल गरिरहेका छौं । कारोनाको कारण गाउँपालिकाका सबै विद्यालयहरु अस्ति १४ गतेबाट अर्काे सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ । गाउँपालिकाका विद्यालहयहरु बन्द भएपछि वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्नु भनी विद्यालयहरूलाई निर्देशन पनि दिएका छौं । कोरोनाको कारणले पाठ्यक्रम सकिन धेरै बाँकी छ । बालबालिका विद्यालयमा उपस्थिति भएर पठनपाठन् सञ्चालन गर्न समस्या छ । प्राविधिक शिक्षालाई पनि हामीले विशेष जोड दिइरहेका छौं ।

विद्यालयहरूका भौतिक सुधारको कार्यक्रम गर्दै आएका छौं । गरिब, जेहेन्दार तथा विपन्न बालबालिकालाई छात्रवृत्ती दिने कार्यक्रम पनि रहेको छ । शैक्षिक सुधारको लागि हामीले विशेष जोड दिएका छौं । परीक्षा प्रणालीलाई व्यवस्थित गर्ने काम पनि भइरहेको छ । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । गाउँपालिकाका केही विद्यालय भवनहरू निर्माण भएका छन् ।

तपाईंहरुको पालिका पर्यटकीयस्थलका रुपमा चर्चित छ, आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार चाहिँ कसरी गरिरहनुभएको छ नि ?

पर्यटन विकासको लागि पर्यटन पूर्वाधार तयार पारेका छौं । हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । पर्यटन विकासको लागि हामीले विशेष जोड दिइरहेका छौं । धार्मिक र पर्यटकीय हिसाबले हाम्रो गाउँपालिका महत्वपूर्ण मानिन्छ । पालिकामा रहेको मठमन्दिरको संरक्षण गरी मन्दिरको निर्माण गरिरहेका छौं । पदमार्ग बनाउने योजना पनि रहेको छ । हामीले पर्यटन स्थलहरूलाई सफा राख्न पनि विशेष ध्यान दिएका छौं । पर्यटकीय स्थलहरूमा खानेपानी पुर्याउन ध्यान दिएका छौं भने त्यहाँसम्म पुग्नको लागि सडक निर्माणका कुरा देखि लिएर परम्परागत संस्कृतिको संरक्षण तर्फ पनि हामी लागि परेका छौं । पालिकाको हिलियाङ नामसँग जोडिएको सङग्रहालयमा सबै जातजातिको संस्कृति झल्काउने प्रयासलाई अन्तिम चरणमा पुर्याएका छौं । यो आर्थिक वर्षमा हामीले संग्रहालयको काम पनि सक्ने योजना बनाएका छौं । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । प्राकृतिक रूपले हाम्रो गाउँपालिका निक्कै सुन्दर रहेको छ । देशका विभिन्न ठाउँबाट यहाँ मानिसहरू आउने गरेका छन् । पर्यटन विकासले रोजगारीको पनि सृजना गर्ने भएकाले पर्यटन विकासमा पनि हामीले जोड दिइरहेका छौं । जोरपोखरी, आगेजुङ माङहिम आदि स्थानहरु यहाँका प्रमूख पर्यटकीय स्थलको रूपमा चर्चित छन् ।

तपाईंको पालिकामा सडक सञ्जालको अवस्था कस्तो छ ?

सडक सञ्जाल पालिकाको सबै ठाउँमा पुगेको छ । हाम्रो सल्लेरी सिवान सँगसँगै अम्मरपुर भनेर २० किलोमिटर सडक प्रदेश र स्थानीय सरकारको पहलमा सडकको ट्«याक खोलेका छौं । त्यस सडकलाई कालोपत्रे गर्ने भनेर नेपाल सरकारसँग सम्झौता भएको छ । पालिकामा केही सडकहरू ग्राबेल पनि भएका छन् भने सडक सञ्जाल चाहिँ सबै वडामा पुगेको छ । हामीले सडकको स्तरोन्नती पनि गरेका छौं । गाउँपालिकाको सडकहरू बाह्रै महिना सञ्चालन हुने अवस्था छ । एउटा वडा बाट पसेपछि पालिकाको ७ ओटै वडामा पुग्न सकिने गरी सडक निर्माण भएको छ ।

तपाईंहरु निर्वाचित भएर आएको करिब ४ वर्ष पुरा भयो, यो बिचमा जनता सामु गरेका बाचा के–कति पुरा भए अनि कति बाँकी छन् होला ?

हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका काम सकिसकेका छौं । हामीले घोषणापत्रमा पालिकाको सबै ठाउँमा बिजुली पुर्याउँछौं भनेका थियौं । वडा नं. ७ मा केही ठाउँमा बिजुली पुर्याउन बाँकी रहेको छ । अरु सबै वडामा बिजुली पुर्याउन सफल भएका छौं । वडा नं. ७ मा पनि बाँकी रहेको कार्यकालमा बिजुली पुर्याउने नै छौं । पर्यटन विकास, शैक्षिक सुधार आदिको काम गर्ने भनेर हामीले घोषणापत्रमा लेखेका थियौं । सडकको विकास पनि गरेका छौं ।

वडा नं. १,२,३ र ४ मा खानेपानीको अभाव छ । यी वडामा खानेपानी पुर्याउनको लागि लिफ्ट खानेपानी योजनाको डीपीआर तयार गरेका छौं । यी वडामा तम्बोर खोलाको पानी लिफ्ट प्रकियाबाट ल्याउनका लागि ६ करोड ५० लाख रुपैयाँ बराबरको बजेटमा डीपीआर पनि गरेका छौं । यो नेपाल सरकारको आयोजना पनि हो । पूर्वाधारको विकासमा पनि हामीले जोड दिइरहेको छौं । घोषणापत्रमा लेखेको कुराले मात्र पालिकाको विकास हुँदैन । हामीले गर्छौं भनेको कुरा बाहेक अन्य विभिन्न कुराहरू पनि महत्वपुर्ण हुन सक्छन् ।

तपाईंको कार्यकालमा भएको सबै भन्दा ठुलो उपलब्धी केलाई ठान्नुहुन्छ ?

पालिकामा विकास भएअनुसार उपलब्धी पनि राम्रो नै भएको छ । सबैभन्दा राम्रो उपलब्धी नागरिक आवास भन्ने छ । जसमा नागरीकको घरका खरको छानो हटाएर टिनको छानो लगाउने योजना समावेश छ । पालिकामा हाल ८ सय घरको खरको छानोलाई विस्थापित गरी टिनको छानो लगाउने योजना रहेको छ । नेपाल सरकारले सहयोग ग¥यो भने पालिकाका सबै घरमा टिनको छानो लगाउने छौं । गाउँपालिकामा खानेपानीका थुप्रै योजनाहरु पनि रहेका छन् ।

गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

युवाहरु प्रति लक्षित गर्दै प्रधानमन्त्री रोजगार कर्यक्रम लागु भएको छ । यस रोजगार कार्यक्रम अन्तर्गत १ सय ६५ जनाले रोजगारी पाएका छन् । रोजगारमा रहेका युवाहरूलाई एकमुस्ट ५० हजार रुपैयाँ रकम हस्तान्तरण गर्ने योजना पनि रहेको छ । रोजगारीको कुरा पनि बजेटसँग नै जोडिँदो रहेछ । कृषि पेशामा आवद्ध हुने युवाहरूलाई अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । युवाहरू कृषि उत्पादनसँग जोडिनु पर्छ भनेर हामीले जोड दिएका छांै ।

युवाहरूलाई धेरैभन्दा धेरै उत्पादन गरी बजार नपाएको अवस्थामा हामीले नै बजार व्यवस्थापन गरिदिन्छौं भनेका छौं । काम गर्न चाहने युवाहरूका लागि धेरै ठाउँमा अवसर छ । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । पालिकाका धेरै युवालाई विदेशको रहर पनि छ । गाउँपालिकाका धेरैजसो युवाहरू कृषि पेशामा संलग्न छन् । हामीले युवाहरूलाई कृषिको तालिम पनि दिँदै आएका छौं । युवाको सिप विकास गर्नको लागि विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएका छौं । पालिकामा हामीले युवाको सिप विकासको लागि विशेष जोड दिइरहेको छौं । कतिपय युवाहरू आफूमा सिपको विकास गर्न सफल भइसकेका छन् । केही युवाहरूले व्यवसायिक कृषि खेतिको पनि सुरुवात गरेका छन् । युवाहरूले सिप विकास गरेर पालिका भित्रनै रोजगारी पाउन सक्छन् । कृषि पेशामा आवद्ध हुने युवाहरूलाई अनुदान दिने व्यवस्था पनि मिलाएका छौं ।

गाउँपालिकामा सर्वसाधारणहरु के–कस्ता समस्या लिएर आउँछन् ?

गाउँपालिकाका नगरिकहरु प्रायःजसो खानेपानी, बाटोघाटो, घरनक्सा पास, राहत सहयोग, न्याय निरूपण, पशुपन्छीको रोग तथा कृषिसम्बन्धी समस्याहरू लिएर आउने गरेका छन् । तरपनि यी सबै समस्याको समाधान गरेर मात्र हामी अगाडि बढिरहेका छौं ।

गाउँपालिकाले कृषि क्षेत्रको विकासका लागि के–कसरी काम गर्दै आएको छ ?

गाउँपालिकाले कृषि विकाको लागि कृषि सम्बन्धी योजना तयार पारेको छ । कृषकहरूलाई कृषिमा अनुदान दिने कार्यक्रम पनि पालिकामा रहेको छ । पालिकाले कृषिका ब्लक र पकेट क्षेत्रहरु पनि छुट्याएको छ । विशेष गरेर हामीले तरकारीे, पशुपालन, फलफूल आदिको पकेट क्षेत्रलाई छुट्याएर किसानहरूलाई सहयोग पनि गर्दै आएका छौं । कृषिमा विभिन्न शिर्षक रहेका छन् र सो शिर्षक अनुसार हामीले एक करोड रुपैयाँ बजेट छुट्याएका छौं । खर्च गरे अनुसार कृषि क्षेत्रमा उपलब्धी पनि राम्रो नै भएको छ ।

कृषिमा धेरै किसानहरू आत्मनिर्भर भएका छन् । कृषिलाई जीवन निर्वाहको साधन मात्र होइन व्यवसाय पनि बनाउनु पर्छ भनेर हौसला दिनेगरेका छौं । गाउँपालिकाले कृषि विकासको लागि विभिन्न कार्यक्रमहरू ल्याएको छ । गाउँपालिकामा कृषि समुहको पनि गठन भएको छ । पशुपालन क्षेत्रतर्फ पनि विभिन्न किसिमका कार्यक्रमहरू अगाडि सारेका छौं ।

हामीले कृषकहरूलाई कृषि औजारका सामानहरु पनि बेलाबेलामा वितरण गर्दै आएका छौं । पालिका भित्रका कृषकहरुलाई हामीले तरकारी, फलफूल आदिको विउ पनि वितरण गर्दै आएका छौं । वडा–वडामा अब कृषि विकास हुनुपर्छ भनेर हामी कम्मर कसिरहेका छौं ।

गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध छन् होला ?

यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । कतिपय युवाहरू भने वैदेशिक रोजगारीमा गएका छन् । प्रतिशतमै भन्नुपर्दा चाहिँ करिब ५५ प्रतिशत नागरिकहरु कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ ।

गाउँपालिकालाई समृद्ध बनाउनको लागि के–कस्ता योजनाहरू अगाडि सार्नुभएको छ ?

गाउँपालिकालाई समृद्ध बनाउनको लागि केही योजनाहरू अगाडि सारेका छौं । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य आदिको विकासको लागि केही कार्यक्रमहरु बनाएका छौं । पुर्वाधारको विकासमा पनि हामीले जोड दिइरहेका छौं । विकास निर्माणको काममा सबैको साथ मिल्यो भने वास्तवमै ‘समृद्ध हिलिहाङ सुखी हिलिहाङबासी’ भन्ने नारालाई मूर्त रुप दिन सकिने थियो ।

कर्मचारी र जनप्रतिनिधिहरू बिचको सम्बन्ध कस्तो छ नि ?

कर्मचारी र जनप्रतिनिधि बिचको सम्बन्ध सुमधुर र गाढा रहेको छ । सम्बन्ध राम्रो भएको कारण विकास निर्माणको कामले पनि तीव्रता पाएको छ । तरपनि पालिकाको आवश्यकता अनुसार कर्मचारीहरु छैनन् । ३० जना कर्मचारी हुनु पर्ने ठाउँमा १५ जना मात्र कर्मचारी छन् । कार्मचारीहरुको अभावले नागरिकलाई जति सेवा प्रवाह गर्नु पर्ने थियो त्यति गर्न सकिएको छैन । थोरै कार्मचारी भएपनि जनताको सेवाको लागि तत्पर रहन सवै कर्मचारीहरुलाई आग्रह गरेको छु । कर्मचारीको सहयोगमा नै विकास निर्माणको काम अगाडी बढाउने हो । जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध नङ र मासुको जस्तो हुन्छ । अहिलेसम्म सम्बन्ध राम्रो नै रहेको छ ।

अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ?

अब हाम्रो कार्यकाल धेरै बाँकी छैन । अब आउने आर्थिक वर्षमा गाउँपालिकाको तथा वडाहरूको भवन निर्माणका योजना बनाएको छु । यहाँका जनताले भोलिका दिनमा पनि मैले गरेका कामहरूबाट लाभ लिइरहन सकुन् भन्ने चाहना छ । त्यसका लागि जनताको चाहना र आवश्यकता कम्मर कसेरै पूरा गर्ने लक्ष्य लिएको छु । हामीले पालिकास्तरको योजना तयार पारेका छौं । यो योजना पुरा गर्नमा हामीले विशेष जोड दिएका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दीर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासको कुरामा पनि हामी ध्यान दिइरहेका छौं ।

अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ?

नागरिकको आवश्यकता पुरा गर्नमात्र नभई समग्र पालिकाकै विकास गर्नुपर्छ भन्ने ठानेर त्यसै अनुसार हामीले कम्मर कसेका छौं । सडक निर्माणको कुरामा पनि हामीले जोड दिइरहेका छौं । यो भूगोलको परिचालन गर्ने भनेको नै यहीँका नागरिकहरूले हो । हामीमा पाइएको कमीकमजोरीको बारेमा पनि सुझाव दिनुहोस् भन्न चाहन्छु । सबैजनाले हातेमालो गरेर पालिकाको आर्थिक तथा सामाजिक रूपान्तरण गर्नतर्फ लागौं पनि भन्न चाहन्छु । स्थानीय स्रोत तथा साधनको परिचालन गर्दै विकास निर्माणको कामलाई अगाडि बढाउनु पर्छ भन्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.