निषेधाज्ञाको दोस्रो दिन घट्यो आन्तरिक उडानको संख्या, आज ७७ उडान हुँदै

  २०७८ वैशाख १७ गते ९:४६     विकासन्युज

काठमाडौं । सरकारको काठमाडौं उपत्यका सहित विभिन्न जिल्लामा बिहीबारदेखि निषेधाज्ञा लागु गरेतापनि आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडानहरु नियमित रुपमा सुचारु भइरहेको छ ।

लामो तथा छोटो दुरीका सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाएतापनि हवाई उडान नियमित भइरहेको छ । निषेधाज्ञाको पहिलो दिन १०४ आन्तरिक उडान भएका थिए ।

पछिल्लो केही दिनको तुलनामा बुधबार हालसम्मकै धेरै उडान संख्या भएतापनि उपत्यकामा निषेधाज्ञा लागुभएसगैँ उडान संख्यामा कमी आएको छ । बुधबार १ सय ४९ वटा आन्तरिक उडान भएको थियो ।

निषेधाज्ञाको अघिल्लो दिनको तुलनामा बिहीबार उडान सख्यामा कमी आएकोमा शुक्रबार पुनः उडान संख्या घटेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहीबार साँझसम्म हवाइमार्गबाट ५ हजार ४५३ ले काठमाडौं छाडेका थिए भने २ हजार ८१६ यात्रु काठमाडौं भित्रिएका छन् ।

बिहीबार नेपाल एयरलाइन्सले ४, बुद्धले ४८, यतीले २७, ताराले ५, श्रीले १५ र सम्मिटले ५ उडान गरेको विमानस्थल कार्यालयका प्रमुख प्रतावबाबु तिवारीले जानकारी दिए ।

आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनीहरुले काठमाडौं छोड्नेको संख्यामा बृद्धि भएपनि आउनेको संख्यामा कमी हुँदा उडान संख्या घटाईएको बताएका छन् ।

उडान संख्यासगैँ घट्यो भाडादर

आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनीले उडान संख्यामा बृृद्धि गर्दै उडान भाडादर घटाएका छन् । निषेधाज्ञा भन्दा अगाडी उच्च भाडादर रहेका धनगढी, भैरहवा, विराटनगर लगायतका गन्तव्यमा भाडादर घटाईएको छ ।

यसअघि काठमाडौं–विराटनगर रुटमा करिब ६ हजार रुपैयाँ सम्म भाडा रहेकोमा बिहीबार एक हजार ५५० रुपैयाँसम्ममा उडान भइरहेको छ । वायुसेवा सञ्चालकहरुले भैरहवा–काठमाडौंको भाडा १५ सय, पोखरा–काठमाडौंको भाडा १९ सय रुपैयाँ राखेका छन् ।

शुक्रबार ७७ उडान

काठमाडौं उपत्यकाका तीन जिल्लामा लागु गरिएको निषेधाज्ञाको दोस्रो दिन अर्थात आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ७७ आन्तरिक उडान हुने भएका छन् ।

विमानस्थल कार्यालयको तथ्यांक अनुसार विभिन्न ६ वटा वायुसेवा कम्पनीले उक्त उडान गर्न लागेका हुन् । शुक्रबार नेपाल एयरलाइन्सले ४, बुद्धले ३५, यतिले २०, ताराले ४, श्रीले १२ र सम्मिटले २ उडान गर्ने तालिका रहेको विमानस्थल कार्यालयका प्रमुख तिवारीले जानकारी दिए ।

उनका अनुसार यात्रुको निषेधाज्ञासगैँ वायुसेवा कम्पनीहरुले उडान संख्यामा कटौती गरेका छन् ।

पछिल्लो समय अन्य वायुसेवा कम्पनीकोे तुलनामा धेरै उडान गर्दै आएको निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले यात्रुको संख्यामा कमी आएसगैँ उडान संख्या कटौती भएको जनाएको छ ।

बुध्द एयरका बजार निर्देशक रुपेश जोशी अधिकांश जिल्लामा निषेधाज्ञा लागु हुँदा यात्रुको संख्यामा कमी आएपछि बताउँछन् ।

‘धेरै जिल्लामा निषेधाज्ञा छ, हवाई उडान सुचारु भएपनि विमानस्थलसम्म पुग्न यात्रुलाई समस्या हुने गरेको छ । टिकट काटेका यात्रुहरु विमानस्थलसम्म आउने समस्या भएपछि यात्रुको संख्यामा कमी आएको हो’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.