निषेधाज्ञामा सरकारी कम्पनी १२ घन्टा खुला रहने, यी हुन् अति आवश्यक वस्तु पाइने ठाउँ

  २०७८ वैशाख १६ गते १२:४६     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा बिहीबारदेखि सुरु भएको निषेधाज्ञामा सरकारले अतिआवश्यक वस्तुहरुको बिक्री वितरण खुला गरेको छ ।

आतिआवश्यक वस्तुअन्तर्गत रहेको खाद्यान्नका पसलहरु सरकारले बिहान ७ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खुला गर्ने निर्णय गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले खाद्यान्नका पसलहरु सञ्चालन खुला गरेका हुन् ।

प्रशासनले खाद्यान्न लगायतका अतिआवश्यकका पसलहरु सिमित अवधिका लागि मात्र सञ्चालनको अनुमति दिएकोमा सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका बिक्री काउन्टरहरु १२ घन्टा सञ्चालन हुने भएको छ ।

कम्पनीले थापाथलीमा रहेको काउन्टर निषेधाज्ञाको अबधिभर बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म खुला हुने जनाईएको छ । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने निषेधाज्ञाको अवधिमा उपभोक्तालाई समस्या नहोस भन्ने उद्देश्यका साथ बिहानैदेखि बिक्री कक्ष खुला गरिएको बताउँछिन् ।

‘हाम्रो कार्यालय रहेका दुई स्थान थापाथलि र नख्खुमा सिष्ट मिलाएर काउन्टर खुला गछौँ। थापाथलिमा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म तीन सिप्ट र नख्खुमा दुई सिष्फ तोकिएको छ’, उनले भनिन, ‘निषेधाज्ञाको समयमा काठमाडौँ उपत्यकावासी उपभोक्ताहरुलाई पर्न जाने असुविधालाई ध्यानमाराखी हामीले आफ्नो सामाजिक जिम्मेवारी पूरा गर्न खाद्य लगायतका सामाग्रीहरु बिक्री कक्षमा राखेका छौँ ।’

कम्पनीले विक्री कक्षहरु रामशाहपथ (बग्गीखाना), थापाथली, ललितपुरको नख्खु गोदाम र भक्तपुरको सूर्यविनायकका बिक्री काउन्टर खुला गर्ने जनाएको छ । जसमा थापाथली बिक्री कक्ष दिनमा तीन पटक, नख्खु बिक्री कक्ष दुई पकट तथा रामशाहपथ र सूर्यविनायकमा बिहान एक पटक खुला हुनेछ ।

थापाथली बिक्री काउन्टर बिहान ७ बजेदेखि १० बजेसम्म, कार्यालय समय दिउँसो १० बजेदेखि ५ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म गरी १२ घन्टा गरी तीन सिष्टमा सञ्चालन हुनेछ ।

यस्तै, नख्खु काउन्टर बिहान ७ बजेदेखि कार्यालय समय साँझ ५ बजेसम्म, रामशाहपथ र सूर्यविनायकमा बिहान ७ बजेदेखि दिउसो ११ बजेसम्म खुला हुनेछ ।

के के बिक्री हुन्छ ?

कम्पनीले हाल रन्जित स्टिम चामल, सोना चामल, जापानिज चामल, कर्णालीमा उत्पादित सिमी, केराउ दाना, मुसुरो, रहरको दाल, खाने तेल, घ्यू, स्यानिटाइजर लगायतका दैनिक उपभोग्य बस्तु बिक्री काउन्टर सगैँ अनलाइन मार्फत बिक्री वितरण गर्दै आएको छ ।

कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै कम्पनीले गत वर्षको चैत २६ गतेदेखि अनलाईन मार्फत खाद्यान्नको बिक्री वितरण सुरु गरेको थियो ।

कम्पनीका उत्पादनहरु कम्पनीको अनलाईन (नेपाल फुड) मार्फत सुरु भएकोमा पछिल्लो समय सस्तोडिल मार्फत खरिद गर्न सकिनेछ ।
कम्पनीले रिङरोड भित्रका उपभोक्तालाई निशुल्क रुपमा होम डेलिभरी सेवा प्रदान गर्दै आएको छ भने सस्तोडिलले उपभोक्ताको माग अनुसार निशुल्क रुपमा डेलिभरी सेवा प्रदान गर्ने जनाएको छ ।

कम्पनीले खाद्यवस्तुको अधिक परिमाण संचित नगर्न समेत आग्रह गरेको छ । उपभोक्ताले खाद्यान्न संचित गर्दा बजारमा कृतिम अभाव सिर्जना हुने भन्दै पर्याप्त मौज्दात रहेको भन्दै अनावश्यक रुपमा संचित नगर्न आग्रह गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.