वस्तु अनावश्यक भण्डारण नगर्न महासंघको अपील, एसएमईका लागि अहिले नै राहत घोषणा गर्न आग्रह

  २०७८ वैशाख १५ गते १३:१०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले अनावश्यक रुपमा दैनिक उपभोग्य वस्तु सञ्चित तथा भण्डारण नगर्न अपील गरेको छ । महासंघले एक विज्ञप्ती जारी गर्दै वस्तु भण्डारण नगर्न आग्रह गरेको हो । कोरोना भाइरसको जोखिम बढेसँगै महासंघले संकटका बेला अनावश्यक सञ्चिति र मूल्यवृद्धि नगरी सर्वसाधारणलाई सेवा प्रदान गर्न व्यवसायीहरूलाई र उपभोक्तालाई समेत आग्रह समेत गरेको हो ।

महासंघले सरकार, निजी क्षेत्रसहित सवैको अहिलेको प्रमुख दायित्व संक्रमणलाई फैलिन नदिई अर्थतन्त्रलाई पनि चलायमान बनाउनु रहेको उल्लेख गर्दै सबैले आ–आफ्नो ठाउँबाट कोरोना भाइरसको जोखिम कम गर्न तर्फ लाग्नु पर्ने धारणा राखेको छ ।

अपिलमा भनिएको छ, ‘निषेधाज्ञाका समयमा आमजनताको दैनिक जीवनयापन सहज बनाउन, दैनिक आवश्यकता पूरा गर्न, अत्यावश्यक खाद्यान्नलगायत स्वास्थ्य सामग्रीको बजारमा सहज आपूर्तिमा निजी क्षेत्र सरकारसँगै छ ।’

यस्तै, निषेधाज्ञाका कारण रोजगारी गुमाएका अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई राहतको व्यवस्था गर्न महासंघले सरकारसँग आग्रह गरेको छ । रोजगारी गुमेका सर्वसाधारणलाई प्रधानमन्त्री रोजगार कार्यक्रमजस्ता योजनामा संलग्न गराई कामसँगै राहत उपलब्ध गराउन सकिने महासंघको धारणा छ ।

विज्ञप्तीमा लघु घरेलु एवं साना तथा मझौला उद्योगका लागि गत वर्ष घोषित राहतको निरन्तरतासँगै नयाँ लहरबाट सिर्जना हुने समस्या समाधानका लागि थप राहतका कार्यक्रम अहिले नै घोषणा गर्न महासंघलेसमेत आग्रह गरिएको छ ।

‘कोराना महामारीको पहिलो लहर र त्यसलाई रोक्न लगाइएको लकडाउन र निषेधाज्ञाले अर्थतन्त्रमा र्पुयाएको क्षति सर्वविदितै छ, गत आर्थिक वर्षमा १.९९ र चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४.६ प्रतिशतले अर्थतन्त्र ऋणात्मक रह्यो, यस्तो अवस्थामा आर्थिक महत्व बोकेका ठूला परियोजनाको निरन्तर सञ्चालनको सुनिश्चितता, उद्योग कलकारखानाको सञ्चालन आवश्यक छ, सामानको सहज आपूर्ति, ढुवानी, बिक्री वितरण, कच्चा पदार्थको आयातमा सहजतासहित उद्योग व्यवसाय सञ्चालनका लागि आवश्यक कर्मचारीको आवतजावतलाई सहज बनाउन अनुरोध गर्दछौं, ’ विज्ञप्तीमा भनिएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.