सगरमाथासहितका छ हिमाल सफाइ अभियानको शुभारम्भ, ३५ टन फोहोर संकलन गर्ने लक्ष्य

  २०७८ वैशाख १ गते ११:२०     विकासन्युज

काठमाडौं । दुई वर्षअघि सगरमाथा हिमालको सफाइ गरेको नेपाली सेनाले यस वर्ष ६ वटा हिमालको सफाइ अभियान सुरु गरेको छ । मंगलबार ‘सफा हिमाल अभियान–२०२१’ को अभियानमा खटिने टोलीलाई ब्यानर हस्तान्तरण गरी शुभारम्भ गरिएको हो ।

सेनाले बैशाख २ गतेबाट सगरमाथा सहित ल्होत्से, पुमोरी, आमादब्लम, मकालु र धौलागिरि हिमालको सफाइ गर्नेछ । हिमाल सफाई अभियान अन्तरगत प्रत्येक हिमाल सफाइमा सेनानी तथा सहसेनानीको नेतृत्वमा जनशक्ति परिचालन हुने सेनाले जनाएको छ ।

विश्व वातावरण दिवस अर्थात २०७८ साल जेठ २२ गते सफाइ अभियान सकिनेछ । सेनाले नसड्ने फोहर हेलिकप्टर र गाडीमार्फत काठमाण्डौ ल्याएर फेरि प्रयोग गर्ने संस्थालाई हस्तान्तरण गर्ने जनाएको छ ।

‘सेफ द हिमाल फर द फिउचर’ भन्ने नाराका साथ सञ्चालन हुने अभियानबाट ३५ टन फोहर संकलन गरी व्यवस्थापन गरिनेछ । जसमध्ये सगरमाथाको आधार शिविरमाथिबाट मात्रै १८ टन फोहर उठाइने लक्ष्य लिइएको छ । यसरी संकलित फोहर हवाई उडान तथा सडक यातायातबाट काठमाडौँ ल्याइनेछ ।

सफा हिमाल अभियानका संयोजक सेनानी आदित्य कार्कीका अनुसार ६ वटा हिमाल सफाइका लागि १२७ जनालाई तालीम दिईएको छ । तालिम पाएका मध्येमा ८४ जना सफाइमा खटिने छन् । यसमा सेनाका ४३ र शेर्पा समुदायका ६५ सहभागी हुनेछन् ।

नेपाली सेनाको अधिकतम स्रोत साधनको सदुपयोग तथा दर्जन बढी सरकारी, निजी तथा गैरसरकारी संस्थाको सहयोगमा अभियान सञ्चालन गरिनेछ । यो अभियानका लागि १२ करोड ५५ लाख ७१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

नेपाली सेनाको संयोजन तथा पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, वातावरण विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयलगायत विभिन्न निजी संघसंस्था र गैरसरकारी संस्थाको सहयोगमा सफाइ अभियान सञ्चालन गरिएको हो ।

यसअघि २०७६ वैशाख १ गतेदेखि २२ गतेसम्म सगरमाथाको सफाइ गरी करिब १० टन फोहर तथा चार शव व्यवस्थापन गरिएको थियो । २०७७ मा पनि सफाइ अभियानको तयारी गरिएकामा कोभिड–१९ महामारीका कारण स्थगित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.