अधिकांश क्षेत्रमा इजाजत नलिई जिपलाइन सञ्चालनमा, उद्घाटन गर्न दौडदै जान्छन् मन्त्रीहरु

  २०७७ चैत ३१ गते १७:०६     विकासन्युज

काठमाडौं । चैत १६ गते गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले लमजुङको मस्र्याङ्दी गाउँपालिका स्थित स्याँगे खोलामा निर्माण गरिएकोे वाटरफल जिपलाइन एड्भेन्चरको उद्घाटन गरे ।

जिपलाइनको उद्धघाटन गर्न स्याँगे पुगेका मन्त्री बस्नेतले जिपलाइन चढेरै उद्घाटन गरेका थिए । जिपलाइन उद्घाटनको हतारो भएका मन्त्रीले आफै सवार जिपलाइन कति सुरक्षित छ, यसको गुणस्तर कस्तो छ, इजाजत लिएको छ वा छैन भन्ने जस्ता विषयमा केही बिचार गरेनन् ।

उनले आफूले जिपलाइन सयर गर्दा आनन्द आएको, माथिल्लो भागमा रहेको झरना हेर्दा छुट्टै आनन्द आएको बताएका थिए ।

यो त प्रतिनिधि उदाहरण मात्र हो । पछिल्लो समय देशका अधिकांश स्थानमा पर्यटन प्रवद्धर्नका लागि भन्दै जिपलाइन सञ्चालन गर्नेको होडबाजी नै चल्न थालेको छ । धेरै स्थानमा जिपलाइन निर्माण गरेर सञ्चालन गरेपनि कमैले मात्र इजाजत लिने गरेका छन् ।

यस्तैगरी बीना इजाजत ललितपुर, चितवन र रुपन्देही जिल्लामा जिपलाइन सञ्चालन गरिएको छ । पर्यटन व्यवसायी राजकुमार श्रेष्ठले चितवनको जलदेवी सायुदायिक वन, रुपन्देहीको लक्ष्मी आदर्श सामुदायिक वन र ललितपुर स्थित गोदावरीको विशंखुनारायण सामुदायिक वनमा इजाजात नै नलिई जिपलाइन सञ्चालन गर्दै आएका हुन् ।

उनले इजाजत नै नलिई जिपलाइन सञ्चालन गरेको खुलेपछि पर्यटन विभागले इजाजत लिन निर्देशन दिएको थियो । विभागको निर्देशन अनुसार इजाजत लिने तयारी भएको भनिएपनि हालसम्म विभागमा कुनै जानकारी नआएको पाइएको छ ।

पर्यटन विभागको तथ्यांक अनुसार हालसम्म चार वटा कम्पनीले मात्र जिपलाइन सञ्चालनको अनुमति लिएका छन् भने केही कम्पनीले इजाजतका लागि आवेदन दिएका छन् ।

विभागले पर्यटन उद्योग सेवा प्रभाव निर्देशिका २०७० को परिच्छेद ९ को दफा ९३ अनुसार जिपलाइनको इजाजत दिँदै आएको छ । उक्त निर्देशिका अनुसार हालसम्म दरबार एड्भेन्चर जिपलाइन प्रालि नुवाकोट, वर्ल्डवाइड एड्भेन्चर प्रालि धुलिखेल, होटल गढी भ्यु एण्ड रिसोर्ट र योयो जिपलाइन भक्तपुर गरी चार वटा कम्पनीले मात्र जिपलाइन सञ्चालनको अनुमति लिएका छन् ।

यसबाहेक अन्य नगरकोट जिपलाइन, रिसोर्सेज हिमालय र हारनेस जिपलाइन अनुमति लिने क्रममा छन् ।

विभागबाट अनुमति लिएर मात्र जिपलाइन सञ्चालन गर्नुपर्नेमा व्यवसायीहरुले सञ्चालन भएपछि मात्र अनुमति लिने गरेका छन् ।

नियामक निकायको रुपमा रहेको पर्यटन विभागका अधिकारीहरु भने साहसिक पर्यटन अन्तरगतका क्रियाकलापहरु सञ्चालन गर्न अनिवार्य रुपमा अनुमति लिनुपर्ने बताउँदै आएका छन् ।

विभागका निर्देशक एवं सूचना अधिकारी मोहनवहादुर जिसीका अनुसार अनुमति नलिई साहसिक पर्यटन अन्तरगतका गतिविधिहरु सञ्चालन भएमा कम्पनीहरुलाई कारवाही गरिनेछ ।

उनले पर्यटकको सुरक्षाको विषयमा विभाग सचेत रहेको भन्दै बिना इजाजत सञ्चालन भएका कम्पनीहरुलाई कानुनी दायरामा ल्याउने जानकारी दिए ।

इजाजत लिन प्रक्रियामा छौँ: वडाअध्यक्ष

मन्त्रीबाट उद्घाटन गरिएको स्याँगे जिपलाइन निर्माणकै चरणमा रहेको भन्दै अनुमति लिने तयारी भएको जनाइएको छ ।

मस्र्याङ्दी गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष सुमन गुरुङ गाउँपालिकाले निर्माण गरेको उक्त जिपलाइन सञ्चालनमा आइनसकेको भन्दै अनुमतिका लागि आवश्यक कामहरु भइरहेको बताउँछन् ।

‘हामी जिपलाइन निर्माणको अन्तिम चरणमा छौं, गत वर्ष नै निर्माण सम्पन्न हुने जिपलाइन कोरोना महामारीले ढिलाई भयो । मन्त्रीज्यू यहीँ आएको मौकामा उद्घाटन मात्र गरेका हौं, हामीले इजाजतका लागि आवश्यक सम्पूर्ण काम गर्न कन्सलटेन्टलाई जिम्मा दिइसकेका छौं, एक दुई दिनमा इजाजतका लागि निवेदन दिने तयारी भएको भन्ने जानकारी आएको छ । हामीले सुरक्षित रुपमा जिपलाइन सञ्चालन गरेका छौँ, डराइलाग्नुपर्ने अवस्था छैन,’ उनले भने ।

गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्न गाउँपालिकाले ८ लाख लगानीमा उक्त जिपलाइन निर्माण गरेको हो ।

One comment on "अधिकांश क्षेत्रमा इजाजत नलिई जिपलाइन सञ्चालनमा, उद्घाटन गर्न दौडदै जान्छन् मन्त्रीहरु"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.