अमेरिका, चीन, भारत जस्ता देशमा बुक विल्डिङ विधिबाट कसरी तय हुन्छ आईपीओको मूल्य ?

  २०७७ चैत ३० गते १०:२१     विकासन्युज

काठमाडौं । समान्यतः पुँजी बजारमा संगठित संस्थाले विभिन्न दुई विधिबाट धितोपत्र सार्वजनिक निष्काशन गर्नेछन् । एक निश्चित मूल्य विधि र अर्कोबुक बिल्डिङ्ग विधि ।

यसमध्ये बुक विल्डिङ्ग विधिबाट धितोपत्र जारी गर्दा बजारको मागको आधारमा निर्धारित मूल्यमा सार्वजनिक निष्काशन गरिन्छ । यो विधिले बजारद्वारा निर्धारित हुने मूल्यमा धितोपत्रको सार्वजनिक निष्काशन हुने प्रक्रियालाई जनाउँछ ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ बमोजिम बुक विल्डिङ्ग विधिबाट सार्वजनिक निष्काशन गर्न संगठित संस्था विभिन्न ४ वटा पक्षमा योग्य हुनुपर्ने छ ।

विगत तीन आर्थिक बर्षदेखि लगातार खुद मुनाफामा रहेको, नेटवर्थ चुक्ता पुँजी (प्रतिसेयर) भन्दा कम्तिमा डेढ गुणा बढी रहेको, कम्तिमा औसत वा सोभन्दा माथिल्लो क्रेडिट रेटिङ्गको ग्रेड प्राप्त गरेका र साधारणसभाले बुक विल्डिङ्ग विधि मार्फत धितोपत्र जारी गर्ने निर्णय गरेका संगठित संस्थाले मात्रै यो विधिबाट सेयर निष्काशन गर्न पाउने छन् ।

धितोपत्रको सार्वजनिक निष्काशनको मूल्य निर्धारणलाई अन्तर्राष्ट्रिय रुपमा नै विशेष महत्व दिइएको देखिन्छ । संगठित संस्थाप्रति लगानीकर्ताको आकर्षण, विभिन्न क्षेत्रका संगठित संस्थाहरुको प्रवेश, पुँजी परिचालनको अवस्था लगायतका विषयमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसलाई अन्तर्राष्ट्रिय रुपमा महत्व दिइएको जानकारहरु बताउँछन् ।

बुक विल्डिङ्गमा यस्तो छ अन्तर्राष्ट्रिय अभ्यास

अमेरिका

संगठित संस्थाले निष्काशन तथा बिक्री प्रबन्धकको सहयोगमा विवरणपत्र तयार गरी यूएस सेक्यूरिटीज एक्सचेञ्ज कमिसन (यूएस एसईसी) मा विवरणपत्र स्वीकृतिका लागि निवेदन दिने छ ।

संगठित संस्था र निष्काशन तथा बिक्री प्रबन्धकबीच कम्पनीको बुक भ्यालु, बजारको अवस्था, तत्कालिन अन्य सार्वजनिक निष्काशनको मूल्य लगायतको आधारमा मूल्य सीमा (प्राइस रेञ्ज) का सम्बन्धमा पनि आवश्यक अध्ययन र छलफल हुने छ ।

यूएस एसईसीले प्रारम्भिक विवरणपत्रको अध्ययन गरी जारी गरेको कमेन्टको प्रतिउत्तर सहित तयार पारिएको विवरणपत्रमा सार्वजनिक निष्काशनको मूल्य सीमा समेत तोकी संशोधित विवरणपत्र दर्ता गरिने छ ।

माथिल्लो (अधिकतम) र तल्लो (न्यूनतम) मूल्यको सीमा फरक साधारणतया २ अमेरिकी डलर (१२-१४) रहेको हुन्छ ।

विभिन्न शहर तथा अन्य देशमा उक्त कम्पनीले रोडशोको आयोजना गर्ने व्यवस्था रहेको छ । रोडशो भनेको ठूला लगानीकर्तालाई सार्वजनिक निष्काशन गर्न लागेको संगठित संस्थाको विषयमा जानकारी दिने उद्देश्यले आयोजना गरिने कार्यक्रम हो । साना लगानीकर्ताका लागि उक्त जानकारी कुनै वेव पोर्टल मार्फत् दिइने गरेको छ ।

यस अवधिमा निष्काशन तथा बिक्री प्रबन्धक (जसलाई बुक रनर पनि भनिन्छ) अर्डर बुकमार्फत् लगानीकर्ताको अर्डर लिने गरिन्छ ।

रोडशोको अवधि ८ देखि १० दिन हुने, रोडशो पश्चात् निष्काशन तथा बिक्री प्रबन्धक र संगठित संस्थाबीचको छलफलबाट हिट रोडशो (रोडशो मा सहभागी लगानीकर्तामध्ये आवेदन दिने लगानीकर्ताको संख्या), धितोपत्र खरिदका लागि भएको माग र सो बमोजिम वितरण गर्न मिल्ने धितोपत्रको संख्याको अवस्थालाई आधार मानी मूल्य निर्धारण गर्ने गरिन्छ ।

चीन

चीनमा प्राथमिक निष्काशन निश्चित मूल्य (फिक्सड प्राइस), बुक विल्डिङ्ग र अक्सन (बोलकबोल) विधि गरी तीन तरिकाबाट हुने गरेको छ । निश्चित मूल्यमा प्राथमिक निष्काशन गर्दा निष्काशनकर्ता र प्रत्याभूतिकर्ताले मूल्य निर्धारण गरी धितोपत्र नियमन निकाय चाइनाज् सेक्यूरीटीज एण्ड रेगुलेटरी कमिशन (सीएसआरसी) बाट स्वीकृति लिई जारी गर्दछन् ।

अक्सन विधिबाट प्राथमिक निष्काशन गर्दा धितोपत्रको मूल्य निर्धारण निष्काशनकर्ता र प्रमुख प्रत्याभूतिकर्ताले मूल्य आम्दानी अनुपात प्रक्षेपण गर्ने सुत्र (फरमुला फर फोरकास्टिङ प्राइस–अरनिङ्गस् रेसीयो) मा आधारित भई आधार मूल्य तयार गर्ने र आधार मूल्यलाई न्यूनतम अक्सन मूल्य राखी लगानीकर्ताले धितोपत्र खरिदका लागि अक्सन गर्नुपर्ने प्रावधान रहेको छ ।

बुक विल्डिङ्ग विधिबाट प्राथमिक निष्काशन गर्दा सर्वप्रथम निष्काशनकर्ता र प्रमुख प्रत्याभूतिकर्ताले मूल्य आम्दानी अनुपात प्रक्षेपण गर्ने सुत्र (फरमुला फर फोरकास्टिङ प्राइस–अरनिङ्गस् रेसीयो) मा आधारित भई धितोपत्रको मूल्यको प्राइस रेञ्ज तयार पारी संभाव्य (पोटेन्सियल) संस्थागत र साना लगानीकर्ताबाट आशय (एक्स्प्रेसन अफ इन्ट्रेस्ट) माग गर्ने र सो आधारमा मूल्य समायोजन गरी बिक्री खुला गर्ने गरिएको देखिन्छ ।

यी तीनै विधिबाट सार्वजनिक निष्काशन गर्दा धितोपत्रको निष्काशन मूल्य सीएसआरसीबाट स्वीकृति लिनुपर्ने प्रावधान चीनमा रहेको छ ।

धितोपत्रको मूल्य निर्धारण गर्दा पीई मल्टीप्लायरलाई प्रमुख सूचकको रुपमा हेरिने र पीई मल्टीप्लायर १५ देखि २० को बीचमा हुनुपर्ने प्रावधान रहेको छ । पीई मल्टीप्लायरको गणना गर्दा संगठित संस्थाको प्रक्षेपित आम्दानीलाई आधार मानिने गरेको देखिन्छ ।

भारत

धितोपत्र जारी गर्ने संगठित संस्थाले बुक विल्डिङ्गका लागि इलेक्ट्रोनिक बिडिङ् सिस्टम भएको एक वा एकभन्दा बढी स्टक एक्सचेन्जसँग सम्झौता गर्नुपर्ने व्यवस्था रहेको छ ।

निष्काशन तथा बिक्री प्रबन्धकले स्टक एक्सचेन्ज तथा सेक्युरीटी एण्ड एक्सचेन्ज वोर्ड अफ इन्डिया (सेवी) बाट अनुमतिप्राप्त धितोपत्र दलाल व्यवसायीलाई लगानीकर्ताबाट धितोपत्र खरिदको बोलकबोल निवेदन तथा अर्डर लिने प्रयोजनका लागि नियुक्त गनूपर्ने र नियुक्त भएको धितोपत्र दलाल व्यवसायी लगानीकर्ताबाट निवेदनमार्फत् प्राप्त आर्थिक दायित्व पूरा गर्न सक्षम हुनुपर्ने हुन्छ ।

विवरणपत्रको मस्यौदा (ड्राफ्ट अफ रेड हेरिङ्ग प्रोस्पेक्टस्) मा प्रतिधितोपत्रको मूल्य नखुलाई निष्काशन गरिने रकम वा धितोपत्रको संख्या खुलाउनुपर्ने तथा निष्काशनकर्ता कम्पनीले विवरणपत्रमा धितोपत्रको न्यूनतम मूल्य (फ्लोर प्राइस) वा न्यूनतम र उच्चतम मूल्य सीमा (प्राइस ब्याण्ड) तोक्ने गरिन्छ ।

धितोपत्रको न्यूनतम मूल्य (फ्लोर प्राइस) वा न्यूनतम र उच्चतम मूल्य सीमा (प्राइस ब्याण्ड) नतोकिएको सन्दर्भमा दुई दिनभन्दा अघि उक्त मूल्यसम्बन्धी विवरण प्रवाह गर्ने उद्घोषण सहित उक्त मूल्य प्रकाशन गरिने पत्रिकाको नाम र उक्त मूल्य राखिने वेभसाइटको जानकारी विवरणपत्रमा उल्लेख गर्नुपर्ने व्यवस्था रहेको रहेको छ ।

निष्काशनकर्ता कम्पनीले धितोपत्रको मूल्य सीमा (प्राइस ब्याण्ड) तोक्ने भएमा उच्चतम मूल्य सीमा न्यूनतम मूल्य सीमाभन्दा १२० प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था रहेकोछ ।

बोलकबोल अवधिमा मूल्य सीमा (प्राइस ब्याण्ड) परिवर्तन गर्न पाइने र उक्त सीमा परिवर्तन गर्दा न्यूनतम मूल्य (फ्लोर प्राइस) २० प्रतिशतसम्म घटबढ गर्न पाइने र सोही बमोजिम १२० प्रतिशतमा नबढ्ने गरी उच्चतम सीमा हुनुपर्नेछ ।

उक्त परिवर्तनको जानकारी सार्वजनिक रुपमा स्टक एक्सचेन्ज, संगठित संस्थाको वेभसाइट र निष्काशन तथा बिक्री प्रबन्धक मार्फत् प्रवाह गरिनुपर्ने तथा सोही बमोजिम बोलकबोल अवधिसमेत बढाउनुपर्ने हुन्छ ।

आवेदन साथ आवेदन भएको सम्पूर्ण रकम चुक्ता गरिनुपर्ने व्यवस्था गरिएको छ ।

बोलकबोल प्रक्रिया स्टक एक्सचेन्जको इलेक्ट्रिोनिकल्ली लिंक बिडिङ्ग सिष्टम मार्फत् हुने व्यवस्था पनि गरिएको छ ।

हरेक दिनको अन्त्यमा धितोपत्रको मागको अवस्था स्टक एक्सचेन्जको वेभसाइटमार्फत् जानकारी गराउनुपर्ने र सर्वसाधारण लगानीकर्ता (रिटेल इन्भेष्टर) ले बोलकबोल अवधि नसकिएसम्म बोलकबोल रद्द वा पुनरावलोकन गर्न सकिने तर योग्य संस्थागत लगानीकर्ता र गैर संस्थागत लगानीकर्ता (नन्–इन्टिट्यूसनल इन्भेष्टर) ले बोलकबोल रद्द वा पुनरावलोकन गर्न नपाउने व्यवस्था छ ।

सर्वसाधारण लगानीकर्ताले कट अफ मूल्यमा बोलकबोल गर्न सकिने, यसरी बोलकबोल गर्दा माथिल्लो सीमा बराबरको रकम बुझाउनुपर्ने र अगत या मूल्य एकिन भएपश्चात् बाँकी रकम फिर्ता हुने व्यवस्था छ ।

प्राप्त बोलकबोल बमोजिम निष्काशनकर्ता कम्पनीले सम्पूर्ण धितोपत्र बिक्री हुने मूल्य (कटअफ प्राइस) पत्ता लगाई सो र सोभन्दा माथिको मूल्यमा आवेदन दिने लगानीकर्तालाई कटअफ प्राइसमा धितोपत्र बाडफाँड गर्नुपर्ने व्यवस्था रहेको देखिन्छ ।

बंगलादेश

निष्काशनकर्ता कम्पनी वा निष्काशन प्रबन्धकले योग्य संस्थागत लगानीकर्तालाई बुक विल्डिङ्गका लागि गरिने रोडशोको समय र स्थान तोकी कम्तिमा १० दिन अगाडि लिखित रुपमा र कम्तिमा ५ राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरी जानकारी गराउनुपर्ने छ ।

प्रस्तावित निष्काशनको आकार, पछिल्लो तीन वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण, अन्तर्राष्ट्रिय मान्यता बमोजिमको मूल्यांकन विधि अनुसार निष्काशन प्रबन्धकले तयार गरेको मूल्यांकन प्रतिवेदन समेटिएको प्रारम्भिक विवरणपत्र लगानीकर्ताको जानकारीका लागि उपलब्ध गराउनुपर्नेछ ।

त्यस्तै, प्रारम्भिक विवरणपत्रमा निष्काशन मूल्य उल्लेख गर्नु नपर्नेर रोडशो सकिएपश्चात् संस्थागत लगानीकर्ताबाट प्राप्त सल्लाह सुझाव बमोजिम प्रारम्भिक विवरणपत्रमा सुधार गर्नुपर्ने भएमा गरिनुपर्ने र प्रारम्भिक विवरणपत्रमा समेटिएको मूल्यांकन प्रतिवेदनमा मूल्यांकनको औचित्य र आधार उल्लेख गर्नुपर्ने व्यवस्था रहेको छ ।

निष्काशनकर्ता कम्पनीलेविवरणपत्र र अन्य आवश्यक कागजात सहित बंगलादेश सेक्यूरिटीज् एक्स्चेञ्ज कमिशन (बीएसईसी) मा निष्काशन स्वीकृतिका लागि निवेदन पेश गर्नेछ ।

विवरणपत्र र अन्य कागजातको अध्ययन गरी उपयुक्त ठहरिएमा बुक विल्डिङ्ग विधिमार्फत् योग्य संस्थागत लगानीकर्तालाई बोलकबोल प्रक्रियामा सहभागी गराउने कार्यका लागि बीएसईसीले स्वीकृति प्रदान गर्ने छ ।

रोडशोमा सहभागी भएका योग्य संस्थागत लगानीकर्ताहरु धितोपत्रको मूल्य र लिन कबुल गरेको धितोपत्रको संख्या तोकी इलेक्ट्रोनिक बिडिङ्ग प्रासेसमा सहभागी हुने तर निष्काशन कम्पनीसँग कन्फिल्क्ट अफ इन्ट्रेस्ट हुने संस्था बोलकबोल प्रक्रियामा सहभागी हुन नसक्ने व्यवस्था रहेको छ ।

कुनै पनि योग्य संस्थागत लगानीकर्ताले निष्काशन हुने धितोपत्रको १० प्रतिशतभन्दा बढी धितोपत्रका लागि प्रस्ताव पेश गर्न पाउँदैन ।

७२ घण्टाका लागि बोलकबोल खुला रहने र बीएसईसीको स्वीकृतिमा समयावधि थप गर्न सकिने व्यवस्था सकिने छ ।

बोलकबोल स्टक एक्सचेन्जको स्वचालित सफ्टवेयर प्रणाली मार्फत् गर्नुपर्ने छ ।

बोलकबोलकर्ताको नाम उल्लेख नगरिकन धितोपत्रको संख्या र कबोल गरिएको रकम उक्त (मार्केट डेप्थ) सफ्टवेयरमा देखिनुपर्नेछ र उक्त (मार्केट डेप्थ) सबैले हेर्न सक्ने व्यवस्था स्टक एक्सचेन्जले गर्नुपर्ने छ ।

योग्य संस्थागत लगानीकर्ताले कबोल गरेको रकमको न्यूनतम २० प्रतिशत रकम तोकिएको बैंक खातामा जम्मा गर्नुपर्ने छ ।

बोलकबोलकर्ताले एक पटकसम्म आफ्नो प्रस्ताव सच्याउनसक्ने व्यवस्था पनि छ । बोलकबोलको समय सकिएपश्चात् सम्पूर्ण धितोपत्र बिक्री (सब्सक्राइब) हुने अन्तिम मूल्यलाई निष्काशन मूल्य (कटअफ प्राइस) मानिने र उक्त मूल्यमा १० प्रतिशत छुट दिदा आउने मूल्य (नजिकको पूर्ण अंक) मा सर्वसाधारणलाई धितोपत्र जारी गरिने छ ।

कटअफ प्राइसमा आवेदन दिने लगानीकर्तालाई समानुपातिक रुपमा धितोपत्र बाँडफाँड गरिने व्यवस्था मिलाइएको छ ।

निष्काशनकर्ता कम्पनी र निष्काशन प्रबन्धकले बोलकबोलको अवस्था, कटअफ प्राइस, धितोपत्र बाडफाँट भएका योग्य संस्थागत लगानीकर्ता र तिनीहरुले पेश गरेको मूल्य तथा धितोपत्रको संख्या उल्लेख गरिएको विवरणपत्र तयार गरी बोलकबोल अवधि सकिएको पाँच कार्य दिनभित्र बीएसईसीमा सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्ने प्रयोजनार्थ स्वीकृतिको लागि पेश गर्नुपर्ने छ ।

त्यसपछि बीएसईसीले आवश्यक अध्ययन गरी उक्त विवरणपत्र स्वीकृत गर्ने व्यवस्था गरिएको छ ।

योग्य संस्थागत लगानीकर्ताले कबोल गरेको बुझाउन बाँकी रकम सर्वसाधारणलाई निष्काशन शुरु हुनु अगावै चुक्ता भुक्तान गरिसक्नुपर्ने छ । पूरै रकम भुक्तानी नगरेमा धरौटी वापत राखिएको रकम जफत गरी बीएसईसीलाई बुझाउनुपर्ने र उक्त धितोपत्र सर्वसाधारणमा जारी गर्नुपर्ने प्रावधान रहेको छ ।

पाकिस्तान

बुक विल्डिङ्ग विधिमार्फत् निष्काशन गर्दा निष्काशन संख्याको ७५ प्रतिशत संस्थागत लगानीकर्ताका लागि र बाँकी २५ प्रतिशत धितोपत्र सर्वसाधारण लगानीकर्ता (रिटेल इन्भेष्टर) लाई छुट्याइने व्यवस्था रहेको छ ।

सर्वसाधारण लगानीकर्तालाई छुट्याइएको धितोपत्र पूर्ण रुपमा विक्री नभएमा बुक बिडिङ्गमा सहभागी हुने संस्थागत लगानीकर्ताले पाउन सक्ने गरी बुक बिल्डिङ्ग विधिमार्फत् निष्काशन गर्दा नै शतप्रतिशत धितोपत्रका लागि निष्काशन खुला गरिने र सोको ७५ प्रतिशतमात्र बाडफाँड गरिने, पछि सर्वसाधारण लगानीकर्तालाई छुट्याइएको धितोपत्र पूर्ण रुपमा विक्री नभएमा आवेदन दिएका संस्थागत लगानीकर्तालाई बाडफाँड गरिने छ । यस्तो अवस्थामा सर्वसाधारणलाई जारी गरिने धितोपत्रको प्रत्याभूति गर्न नपर्ने व्यवस्था छ ।

बुक बिल्डिङ्ग विधिमार्फत् निष्काशन गर्दा निष्काशन संख्याको ७५ प्रतिशत संस्थागत लगानीकर्ताका लागि र बाकीँ २५ प्रतिशत धितोपत्र सर्वसाधारण लगानीकर्ता (रिटेल इन्भेष्टर) लाई छुट्याइने व्यवस्था रहेको छ ।

सर्वसाधारण लगानीकर्तालाई छुट्याइएको धितोपत्र पूर्ण रुपमा बिक्री नभएमा बुक बिडिङ्गमा सहभागी हुने संस्थागत लगानीकर्ताले पाउन सक्ने गरी बुक विल्डिङ्ग विधिमार्फत् निष्काशन गर्दा नै शतप्रतिशत धितोपत्रका लागि निष्काशन खुला गरिने र सोको ७५ प्रतिशतमात्र बाडफाँट गरिने, पछि सर्वसाधारण लगानीकर्तालाई छुट्याइएको धितोपत्र पूर्ण रुपमा बिक्री नभएमा आवेदन दिएका संस्थागत लगानीकर्तालाई बाडफाँड गरिने गरिएको छ । यस्तो अवस्थामा सर्वसाधारणलाई जारी गरिने धितोपत्रको प्रत्याभूति गर्न पर्दैन ।

सर्वसाधारणलाई जारी गरिने धितोपत्रको एक वा एकभन्दा बढी प्रत्याभूतिकर्ता मार्फत प्रन्याभूति गरिनुपर्ने र योग्य संस्थागत लगानीकर्तालाई गरिने धितोपत्रको प्रत्याभूति गर्न सकिन्छ ।

निष्काशनकर्ता कम्पनीको सहायक कम्पनी वा स्वार्थ बाझिएका अन्य संस्थाले यो प्रक्रियामा सहभागी हुन पाउँदैनन् ।

निष्काशनकर्ता कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको परामर्शमा धितोपत्रको न्यूनतम मूल्य (फ्लोर प्राइस) वा न्यूनतम र अधिकतम मूल्यको सीमा (प्राइस ब्याण्ड) तोक्नुपर्दछ । यसरी मूल्य सीमा तोक्दा अधिकतम मूल्य सीमा न्यूनतम मूल्यको ४० प्रतिशतभन्दा बढी हुनुहुँदैन ।

उक्त मूल्यको मूल्यांकन विधि र आधारका सम्बन्धमा विवरणपत्रको ‘मूल्यांकन खण्ड’मा जानकारी प्रवाह गर्नुपर्नेछ ।

बोलकबोल अवधि लगातार दुई दिनको हुनेछ । बुक विल्डिङ्ग विधिमार्फत् जारी गरिने धितोपत्र पूर्ण रुपमा बिक्री नभएमा उक्त निष्काशन रद्द हुने र सो को जानकारी एसईसीपी र सम्बन्धित निकायमा दिनुपर्ने तथा आवेदन भएको रकम बोलकबोल अवधि सकिएको तीन कार्य दिनभित्र फिर्ता गरिसक्नु पर्छ ।

त्यस्तै, १०० भन्दा कम बोलकबोलको निवेदन परेमा पनि उक्त प्रक्रिया रद्द हुने व्यवस्था रहेको छ ।

बोलकबोलमा सहभागी हुँदा लिमिट बिडको रुपमा वा स्टेप बिडको रुपमा सफ्टवेयरमार्फत् वा बिड कलेक्सन सेन्टरमार्फत् राख्न सकिने देखिन्छ । रिमिट बिड भनेको अधिकतम मूल्य सीमामा राखिने बोलकबोल हो भने स्टेप बिड भनेको प्राइस ब्याण्ड भित्रको विभिन्न मूल्यमा एउटै लगानीकर्ताले गर्ने बोलकबोल हो । लिमिट बिड र स्टेप बिड गर्ने लगानीकर्ताको न्यूनतम लगानी सीमा प्रत्येक आवेदनमा २० लाख पाकिस्तानी रुपैयाँ हुनुपर्दछ ।

निष्काशन तथा बिक्री प्रबन्धकले रितपूर्वक आवश्यक रकमसहित भरिएको निवेदनलाई मात्र सदर गर्नुपर्ने छ ।

संस्थागत लगानीकर्ताले निवेदनसाथ न्यूनतम २५ प्रतिशत मार्जिन रकम लिनुपर्नेछ । बोलकबोलको निवेदन प्राप्त भइसकेपश्चात् सफ्टवेयरमा प्राप्त विवरण प्रविष्ट गरी इलेक्ट्रेनिकल्ली जेनेरेटेड रसिद दिनुपर्ने व्यवस्था रहेको छ ।

बोलकबोलकर्ताले बोलकबोल सकिने अन्तिम दिनसम्म आफ्नो प्रस्ताव मूल्यलाई बढाई पुनरावलोकन गर्न सक्ने छन् । रितपूर्वक प्राप्त नभएको आवेदन लिखित कारणसहित फिर्ता गर्न सकिने व्यवस्था छ ।

बोलकबोल सफ्टवेयर सेवा प्रदान गर्ने स्टक एक्सचेन्ज वा केन्द्रीय निक्षेप कम्पनी वा राफसाफ कम्पनीले धितोपत्रको मागको अवस्था (मार्केट डेप्थ) को जानकारी प्रत्यक्ष रुपमा प्रवाह गर्नुपर्ने र उक्त मागको अवस्था स्टक एक्सचेन्ज वा केन्द्रीय निक्षेप कम्पनी वा राफसाफ कम्पनी, निष्काशन तथा बिक्री प्रबन्धकको वेभसाइटमार्फत् लगानीकर्ताले हेर्न सक्ने व्यवस्था गर्नुपर्नेछ ।

बोलकबोल अवधि सकिए पश्चात् डुट्च अक्सन विधिबाट धितोपत्र पूर्ण रुपमा बिक्री हुने मूल्य (स्ट्राइक प्राइस) पत्ता लगाई उक्त मूल्य भन्दा माथि आवेदन दिने सबैलाई स्ट्राइक प्राइसमा र उक्त मूल्यमा आवेदन दिनेलाई समानुपातिक रुपमा बाँडफाँड गर्नुपर्ने छ ।

बोलकबोल अवधि सकिएको एक कार्य दिनभित्र बाँडफाँड भएका लगानीकर्तालाई स्ट्राइक प्राइस र बाँडफाँड भएको धितोपत्रको संख्याको जानकारी दिनुपर्ने छ ।

सर्वसाधारणलाई स्ट्राइक प्राइसमा वा त्यसमा केही छुट दिएर धितोपत्र जारी गर्नुपर्ने छ ।

सर्वसाधारण लगानीकर्तालाई धितोपत्र जारी गरेपश्चात् मात्र बुक बिल्डिङ्ग विधिबाट धितोपत्र पाउने लगानीकर्तालाई धितोपत्र उनीहरुको खातामा जम्मा गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.