निर्माण व्यवसायीलाई मन्त्री नेम्वाङले भने- कहाँ छु भनेर आफूले आफूलाई प्रश्न गर्नुहोस्

  २०७७ चैत २९ गते १८:३०     विकासन्युज

काठमाडाैं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले निर्माण व्यवसायीले गुणस्तरीय काम गरे नगरेको सम्बन्धमा निर्माण व्यवसायी आफैले समिक्षा गर्नुपर्ने बताएका छन् । आइतबार नेपाल निर्माण व्यवसायी महासंघको २२औं साधारण सभा उद्घाटन समारोहमा बोल्दै मन्त्री नेम्वाङले निर्माण व्यवसायीले आफ्नो दायित्व र कर्तव्यहरु निर्वाह गरे नगरेको सम्बन्धमा समिक्षा आवश्यक रहेको बताएका हुन् ।

गुणस्तरीय काम र काममा आउने गरेको समस्या समाधानमा व्यवसायीहरुले कत्तिको समन्वयात्मक ढंगले समाधान गर्ने परिपाटि रहेको छ त्यसको सम्बन्धमा व्यवसायीहरु आफैले आफैलाई प्रश्न गर्नुपर्ने उनको भनाई छ ।

‘हामीले यति गर्दागर्दै पनि हाम्रो दायित्व कर्तव्यहरु कति निर्वाह गरेका छौँ ? चाहे त्यो कार्यान्वयन गर्ने कर्मचारीको क्षेत्रमा होस् । चाहे समयमै समन्वय कायम गरेर नीतिगत उचित व्यवस्थापन गरेर छिटो छरितो गर्ने अवस्था होस्, सहजीकरण गरेर सरल निर्माणलाई अगाडी बढाउने सन्दर्भमा होस् । चाहे त्यसका गुणस्तर र क्वालिटीका कुरा हुन् । चाहे क्षमता अभिवृद्धिका कुरा हुन् । हामी कहाँ छौँ ? आफुले आफुलाई प्रश्न गर्न म अनुरोध गर्दछु साथीहरुलाई । हामी कत्तिको गुणस्तरयुक्त निर्माण काम गर्दैछौ ? हामीसँग आएको व्यवधानलाई कत्तिको समन्वयात्मक ढंगले समाधान गर्ने परिपाटीमा अगाडी बढ्दैछौँ ?’, उनले भने ।

मन्त्री नेम्वाङले संसद पुर्नस्थापना भएपनि राजनीतिक समस्या समाधान नभएको टिप्पणी समेत गरे । राजनीति अस्थिर भएको भन्दै उनले अस्थिरताले समृद्धि र विकास निर्माणलाई अवरोध गर्ने र मुलुक पछाडी फर्किने उनले बताए । सरकारले आस्थिरतालाई अन्त्य गरेर स्थिर संसद चाहेको तथा व्यवसायीको निर्माण क्षमता अभिवृद्धिलाई अगाडी बढाउने वातावरण चाहेको उनको भनाई छ ।

मन्त्री नेम्वाङले देशको समृद्धिका लागि सरकारले मात्रै भौतिक पुर्वाधार निर्माणको काम अघि बढाएर सम्भव नहुने भन्दै त्यसको कार्यान्वयनको निम्ति निर्माण व्यवसायीहरुको भुमिका महत्वपुर्ण हुनेभएकाले भुमिका खेल्न आग्रह पनि गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.