कर्मचारीले लुकाएर राखेको जहाजका पाटपुर्जा बेच्दै वायुसेवा निगम

  २०७७ चैत २९ गते १७:२६     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारीले लुकाएको विमानको पाटपूर्जा बिक्री गर्ने भएको छ । लामो समयदेखि निगमका कर्मचारीेले लुकाएर राखेको पाटपूर्जा निगम सञ्चालक समितिले बिक्री गर्न लागेको हो ।

तीन वर्षअघि बिक्री भएको जहाजको समेत गरी अन्य जहाजको पाटपूर्जा करिब ३८ लाख अमेरिकी डलर बराबरमा बिक्री गर्न निगमले टेन्डर आह्वान गरेकोे छ ।

निगमले दुई थान बोइङ जहाजमा प्रयोग हुने इन्जिन र आवश्यक पाटपूर्जा छुट्टाछुट्टै मूल्य तोकेर बिक्रीको प्रस्ताव गरेको छ । दुई थान विमानका लागि आवश्क पर्ने पाटपूर्जाको निगमले ३८ लाख ५४ हजार ८०५ अमेरिकी डलर भन्दा माथिको मूल्य राखेको छ ।

यस्तै सबैभन्दा बढी शुल्क इन्जिमा राखिएको छ । निगमले ३३ लाख ५५ हजार बढी डलरमा इन्जिन रहेको जनाएको छ ।

कसरी पत्ता लाग्यो लुकाएको पाटपूर्जा ?

नेपाल वायुसेवा निगमले तीन वर्षअघि विस्थापन गरेको बोइङ ७५७ को पाटपूर्जा एक वर्ष अघि भेटिएको थियो । जहाज बिक्री भएपछि लामो समयसम्म निगमका कर्मचारीले लुकाएका उक्त पाटपूर्जा तत्कालीन पर्यटनमन्त्री योगेश भटराईले निगम सुधारका लागि गठन गरेको कार्यदलले भेटाएको थियो ।

उक्त कार्यदलले लामो समय लगाएर निगम सुधारका लागि आवश्यक सुझाव सहितको प्रतिवेदन पेश गरेका थिए । कार्यदलले बुझाएको अध्ययन प्रतिवेदनका आधारमा निगमले उक्त पाटपूर्जा बिक्री गर्न लागेको हो ।

करिब तीन महिना लामो समय लगाएर अध्ययन गरेको उक्त कार्यदलले निगमको विमानस्थलको ह्याङगरमा गएर अध्ययन गर्दा शिल नै नतोडेका उपकरणहरु भेटाएको थियो । जहाजका लागि आवश्यक नै नपर्ने उपकरणहरु कर्मचारीहरुले प्रलोभवनमा परी खरिद गरि लुकाएर राख्ने गरेको पाइएको कार्यदलका एक सदस्यले जानकारी दिए ।

आफूहरुले अध्ययन गर्दा जहाजका लागि आवश्यक नै नपर्ने पाटपूर्जाहरु खरिद गरेको देखिएको र अध्ययन गर्दै जादा तीन वर्षपछिका लागि आवश्यक पर्ने धेरै पाटपूर्जाहरु भेटिएको उनको भनाई छ । बिक्री भइसकेको जहाजको पाटपूर्जाहरु निगमका कर्मचारीहरुले लुकाएको भेटेपछि बिक्री गर्न लागिएको हो ।

‘निगमका ईन्जिनियरिङ विभागका कर्मचारीहरुको मिलोमोतोमा धेरै पाटपूर्जाहरु खरिद गर्ने तर जडान नै नगरी थन्काएर राखिने गरेकोे रहेछ । एउटा पार्टको उपकरण बिग्रिएको छ, अन्यको समेत खरिद गरेर राखिने रहेछ । कर्मचारी प्रलोभवनमा परी नबिग्रिएको पाटपूर्जा समेत विदेशमा गएर साटिने रहेछ, नबिग्रिएको उपकरण साटेर कमशल ल्यायो, दुई÷तीन महिनापछि बिग्रिन्छ पुनः विदेशमा मर्मतका लागि लग्ने भन्दै कमिसन खायो, निगममा जहाजका पाटपूर्जा लुकाउने नबिग्रीएकोलाई बिग्रीएको भन्दै बनाउन पठाउने चलन नै रहेछ,’ एक सदस्यले भने ।

उनका अनुसार पर्यटन मन्त्रीको रुपमा नियुक्त हुने मन्त्रीका लागि चुनाव खर्च उठाउने र निगममा नियुक्त भएर आउने महाप्रबन्धकका लागि कमाउने माध्यन नै निगम बन्ने गरेको थियो ।

तत्कालिन मन्त्री भटराईले निगममा समग्र सुधार ल्याउने गरी आवश्यक सुझाव दिन पूर्व पर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा ५ सदस्यीय ‘नेपाल वायुसेवा निगम सुधार सुझाव कार्यदल’ गठन गरेका थिए ।

समितिका सदस्यहरुमा चार्टर्ड एकाउन्टेन्ट प्रमोद कर्ण, व्यवस्थापन विज्ञ डिमप्रकाश पौडेल, पुर्व क्याप्टेन सुधीरशमशेर राई र सदस्य सचिवको रुपमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने थिए ।

कार्यदलका संयोजक घिमिरेलाई मन्त्री भट्टराईको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले ४ वर्षका लागि निगम सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको थियो । यसैगरी कार्यदलका सदस्य डिमप्रकाश पौडेललाई गत असोजमा निगमको प्रबन्ध निर्देशकको रुपमा नियुक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.