कानुन मिच्दै सरकार राज्य सत्ता कब्जा गर्ने अभियानमा छ: प्रचण्ड

  २०७७ चैत २८ गते १३:४५     विकासन्युज

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान र ऐन कानूनलाई मिच्दै राज्य सत्ता कब्जा गर्ने अभियानमा रहेको बताएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीद्धारा शनिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शुक्रबार बसेको तीन दलको बैठकले सरकारले राज्यका सबै अङ्गहरुलाई सन्त्रासमा राख्ने र कब्जा गर्ने कोसिस गरेको निष्कर्ष निकालेको बताएका हुन् ।

यस्तै, कर्मचारीतन्त्रलाई आतङ्कमा बाँच्न बाध्य पारिएको र उनीहरुको वृत्ति विकास, स्वतन्त्रता र आत्मसम्मानलाई कुल्चिने कोशिस भएको पनि उनले बताए ।

‘हिजो मात्रै हामी संसद भित्र भएका तीनवटा प्रमुख दलहरुको बैठक बस्दै थियौं । सरकारको बारेमा कुरा गर्न तपाईहरुलाई थाहा छ । त्यहाँ सबैको एउटा कुरामा सहमति देखा प¥यो । अहिलेको सरकारले कर्मचारी तन्त्रलाई आतङ्कमा बाच्न बाध्य पार्न थालेको छ । राज्यका सबै अङ्गहरुलाई सन्त्रासमा राख्ने र कब्जा गर्ने कोसिस गरिएको छ, उनीहरुको वृति विकास उनीहरुको स्वतन्त्रता र आत्मसम्मानलाई कुल्चिने कोसिस भएको छ । राज्यका सबै अङ्गहरुमाथि जबरजस्ती कब्जा जमाउने सडयन्त्र सुरु भएको छ भन्नेकुरामा सबैको सहमति देखियो त्यहाँ । त्यो आफैमा एउटा ठूलो बिडम्बनाको स्थिति हो,’ उनले भने ।

सरकारले कानून अनुसार हुनै नसक्ने र हुनै नहुने काम गर्दै अवैधानिक, असंवैधानिक र अलोकतान्त्रिक काम गर्न तर्फ उन्मुख भइराखेकोले देशमा निकै ठूलो अन्यौल र सन्त्रास उब्जिएको उनले आराेप लगाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.