काभ्रेमा लालपूर्जा वितरण अन्योल

  २०७७ चैत २८ गते ९:२४     विकासन्युज

काभ्रेपलाञ्चोक । एक वर्षअघि भुम्लु गाउँपालिकास्थित फिल्डमा खटेको नापी कार्यालयको टोली फर्किएपछि ४५ वर्षदेखि लालपूर्जाको पर्खाइमा बसेका करिब एक हजार २०० परिवारमा पुनःनिरासा छाएको छ ।

एक वर्षअघि उक्त गाउँपालिकाको सात र आठ नम्बर वडामा जिल्ला नापी कार्यालयका दुई टोली स्थानीयको जग्गाधनी र जग्गाको छानविन गरी लालपूर्जा दिन जिल्लास्थित कार्यालयमा सिफारिस गर्न राखिएको थियो । तर ती टोली मालपोत कार्यालयको असहयोग तथा अन्य विविध कारण देखाउँदै हालै जिल्ला फर्किएपछि लालपूर्जा वितरणमा अन्योलता छाएको हो ।

४५ वर्षदेखि लालपूर्जाविहीन काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दुई वडाका एक हजार दुई सयभन्दा बढी स्थानीयमा जग्गाको समस्या भएपछि तत्कालीन मन्त्री गोकुलप्रसाद बाँस्कोटाले दुई वडामा दुई टोली खटाउन नापी कार्यालय र मालपोतलाई निर्देशन दिएका थिए ।

गाउँपालिकाका सीमा विवादका कारण आफ्नै जमीन आफ्नो नाममा नभएपछि करिब एक हजार २०० लालपूर्जा विहीनले फिल्डका नापी र मालपोतको दुवै कार्यालयमा गत माघ महिनासम्म लालपूर्जा प्राप्तिका लागि निवेदन दर्ता गरेका थए । भुम्लु गाउँपालिकाले भने केही दिनअघि मात्रै तत्काल काम पुनःसचालन गराउन जिल्लास्थित नापी र मालपोत कार्यालयलाई छुट्टाछुट्टै पत्राचार गरेको छ । ‘निवेदनउपर छानविन गरी जग्गदाताले आवश्यक प्रमाण जुटाउने प्रक्रिया अघि बढिसकेको अवस्थामा कर्मचारीले फिल्ड छाडेर हिडेपछि हिड्नुको कारणसहित दुवै कार्यालायलाई पत्राचार गरेको हो’, गाउँपालिका अध्यक्ष गुमानध्वन कुँवरले भने ।

कुँवरसहितको पीडित टोलीले काम सुचारु गर्न आग्रहसहित दुवै कार्यालयलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । नापी कार्यालय प्रमुख कृष्णप्रसाद न्यौपानले कर्मचारी फर्काउने प्रक्रिया भइरहेको बताए । उनका अनुसार करिब ३०० को लालपूर्जा तयार भैसकेको छ । साविकको भुम्लुटार र फलाँटे गाउँ विकास समितिबीचको सिमाना विवादका कारण ४५ वर्षदेखि यी दुई तत्कालीन गाविसका सर्वसाधारणले हालसम्म पनि आफुले प्रयोग गर्दै आएको जग्गाको जग्गाधनी प्रमाणपत्र(लालपुर्जा) प्राप्त गर्न सकेका छैनन् ।

नापी र मालपोत कार्यालयका कर्मचारीले दुई वडाको सिमाङ्कनको काम सुचारु नगर्दा अन्यौलता छाएपछि निवेदन दर्ता गर्न बाध्य भएको वडा नम्बर ७ का स्थानीय रमेश खरेलले बताउनुभयो । ‘कार्यालयमा कर्मचारी पनि नियमित उपस्थित नहुने र विभिन्न बहाना देखाएर प्रक्रिया बीचमै छाडेर हिड्ने भएपछि अन्योलता छाउँदै आएको हो’, उनले भने । उनका अनुसार दुवै कार्यालयका कर्मचारीले स्थानीयको निवेदन बुझेर हिडेका हुन् ।

नापी कार्यालयका अनुसार हालसम्म ७ नम्वर वडास्थित कार्यालयमा ९३२ र ८ नम्वरमा ३१७ निवेदन दर्ता भएको छ । नापी कार्यालयद्वारा निवेदन बुझ्ने काम भएको तर थप प्रक्रिया अघि नबढेको उनले बताए । ‘मालपोत कार्यालयबाट जमीनको शुरुदेखि अन्तिम जग्गाधनी को हुन् भन्नेमा स्रेस्ता आएपछि मात्रै निवेदन दिएका व्यक्तिको जग्गा दर्तागरी लालपूर्जा दिन सकिन्छ’, कार्यालयका सूचना अधिकारी नापी अधिकृत सुरेश मानन्धरले भने । उनका अनुसार हाल दुवै वडामा तेस्रोपक्ष व्यक्तिमा किनबेच नभएको जग्गा दर्ता गर्न सकिनेछ ।

नापी कार्यालयले मालपोत कार्यालयको असहयोगका कारण थप प्रक्रिया अघि बढाउन नसकिएको आरोप लगाएको छ । न्यौपानेले भने, ‘मालपोतले जग्गाधनीको मोठ भिडाउन सहयोग गरेन, उसले जग्गाको धनीसमेत पहिचान गरिदिनुपर्ने हुन्छ ।’ उनका अनुसार थप प्रक्रिया नहुने भएपछि फिल्डमा खटाइएका कर्मचारीलाई जिल्ला कार्यालय फर्काइएको हो ।

साविकको पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे गाविस दुवैमा खेतीयोग्य जमीन परेपछि त्यो जमीन कुन गाविसले लिने भन्ने विषयमा विवाद हुँदा विसं २०३२ मा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण तत्कालीन नापी टोली फर्किएको थियो ।

मालपोत कार्यालयप्रमुख लोकबहादुर भण्डारीले भुम्लुमा लालपूर्जासम्बन्धी केन्द्रीय कार्यालयबाट कर्मचारी खटाउन कुनै आधिकारिकता नआएको बताए । उनले उच्चस्तरीय विशेष आयोगविना भुम्लुको समस्या समाधान गर्न नसकिने पाइएको बताए । उनले जिल्लास्थित नापी र मालपोत कार्यालयबाट मात्रै सम्भव नदेखिएकाले सम्बन्धित मन्त्रालय, तहगत सांसद तथा स्थानीय जनप्रतिनिधिको समन्यवमा समस्या समाधान गर्न आफू प्रक्रियामा जाने बताए । विभाग र मन्त्रालयको स्पष्ट नीति र निर्देशन नभएका कारण विवादित जग्गाको नापजाँच तथा पूर्जा बनाउन समस्या परेको जनाइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.