अब ट्राफिक जरिवाना तिर्न लाइन बस्न नपर्ने, मोबाइलबाटै तिर्न सकिने

  २०७७ चैत २७ गते १५:२१     विकासन्युज

काठमाडाैं । अब ट्राफिक जरिवाना तिर्न लाइन बस्न नपर्ने भएकाे छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवानालाई अझ प्रभावकारी र सहज तरिकाले अनलाइन मार्फत भुक्तानी गर्ने प्रणालीको विस्तार गरेसँगै सवारी चालकहरू लाइन बस्न नपर्ने भएकाे हाे । ।

महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले यस अघि नै अनलाईन सेवा प्रदायक संस्थाहरुबाट सिधै ट्राफिक जरिवाना भुक्तानी शुरु भैसकेको र त्यसैलाई निरन्तरता दिदै अझ बढि सहज, सरल र सुबिधायुक्त बनाउन आजदेखि आफ्नै बैंक खाताबाट सिधै जरिवाना तिर्न सकिने गरि सेवा विस्तार गरेको जानकारी दिए । यसले सवारी चालकहरुलाई जरिवाना तिर्न बैंकमा लाइन बस्नुपर्ने, लामो समय व्यर्थ खर्चिनु पर्ने बाध्यताको अन्त्य हुनेछ भने ट्राफिक कार्यालयमा हुने भिडभाडमा समेत कमी आउने बताए ।

ट्राफिक महाशाखाले ट्राफिक जरिवाना रकम ट्राफिक भ्वाइलेसन रेकर्ड सिस्टम (टीभीआरएस), नेपाल सरकारको राजश्व व्यवस्थापन सुचना प्रणाली (आरआईएमएस) र सेवा प्रदायक संस्थाहरु वीचमा आबद्ध भइ रियल टाइममा सम्बन्धित बैकंको खाता मार्फत भुक्तान हुने गरि सिस्टम सञ्चालन गरेको महाशाखाले जनाएको छ ।

आज(चैत २७ गते) देखि थप ४५ वटा बैंक तथा वित्तीय संस्था र ७ वटा अनलाईन भुक्तानी सेवा प्रदायक संस्थाहरुबाट सिधै ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने छ भने आगामी दिनमा अन्य सेवा प्रदायक संस्थाहरुसँग समेत जोडिदै जाने महाशाखाको योजना रहेको छ ।

सम्झौता पत्रमा हस्तान्तरण कार्यक्रममा अनलाईन सेवा प्रदायक कम्पनी फोन पेको तर्फबाट दिवसकुमार सापकोटा र नेपाल क्लियरिङ्ग हाउस लि। (कनेक्ट आईपीएस) का मुन्नी राजभण्डारी तथा अन्य प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

आगामी दिनहरुमा अनलाईन भुक्तानी प्रणाली सेवा संचालन सम्बन्धी यस महाशाखाले निर्धारण गरेको मापदण्ड पुरा गर्ने अन्य सेवा प्रदायकहरुलाई समेत आबद्ध गर्दै लाने योजना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.