कसरी सम्भव भयो एभरेष्ट बैंकमा नेपाली सीईओको इन्ट्री ?

  २०७७ चैत २६ गते १५:२०     सन्ताेष राेकाया

काठमाडौं । स्थापनाको २५ वर्षपछि एभरेष्ट बैंकमा नेपाली प्रमुख कार्यकारी अधिकृत (सीईओ) को प्रवेश भएकाे छ । याेसँगै नेपाली बैंकिङ क्षेत्रमा एक किसिमको तरंग मच्चिएको छ । २५ वर्षपछि नेपाली बैंकर सुदेश खालिङ बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएसँगै नेपाली बैंकिङ क्षेत्रले एभरेष्ट बैंकको यो निर्णयलाई प्राथमिकताका साथ हेरेको छ ।

भारतीय पञ्जाव नेशनल बैंकको २० प्रतिशत लगानी रहेको एभरेष्ट बैंकमा हालसम्म भारतीय नागरिक मात्रै सीईओको रुपमा कार्यरत थिए । तर, २५ वर्षपछि भने बैंकले नेपाली नागरिकलाई सीईओ बनाएको हो । सन् १९९४ सालमा स्थापना भएको एभरेष्ट बैंकको इतिहासमा पहिलो पटक नेपाली बैंकर खालिङको प्रवेश भएसँगै धेरैले एभरेष्ट बैंकले विजनेसमा नयाँ रणनीति अपनाएको होकि भन्ने अनुमान गरेका छन् ।

४ वर्षको लागि भारतीय नागरिक गजेन्दर कुमार नेगी सीईओ रुपमा प्रवेश गरेको १७ महिनामै बैंकको सञ्चालक समितिले उनलाई पदमुक्त गरेर नेपाली सीईओ राखेर नयाँ रणनीतिका साथ अगाडि बढ्न खाजेको धेरैले बुझेका हुन् ।

बैंकको सीईओ नियुक्त गर्ने अधिकार बैंकको सञ्चालक समितिको भएपनि एभरेष्ट बैंकको सीईओ नेपाली बैंकरलाई राख्नको लागि राष्ट्र बैंकले पनि केही सर्त राखेको हुन सक्ने बुझाई धेरैको छ । तर, नेपाल राष्ट्र बैंकले भने नेपाली सीईओ राख्न भनेर कुनै लिखित तथा मौखिक निर्देशन नदिएको प्रष्ट पारेका छ ।

राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले विदेशी लगानी रहेको एभरेष्ट बैंकमा नेपाली सीईओ हुनु बैंकको राम्रो पक्ष हुने भएपनि राष्ट्र बैंकले नेपाली सीईओ राख्नु भनेर दबाब वा निर्देशन भने नदिएको बताए ।

‘विदेशी लगानी रहेको बैंकको सीईओ नेपाली हुनुमा हामी खुसी नै छौं, सीईओ नियुक्त गर्ने अधिकार सम्बन्धित बैंकको सञ्चालक समितिको हो, यसमा हाम्रो निर्देशन र गाइडलाइन कुनै छैन,’ उनले भने ।

२७ वटा वाणिज्य बैंकहरुमा एभरेष्ट बैंक पनि एक सशक्त प्रतिस्पर्धी बैंकका रुपमा दखिँदै आएको छ । तर, विगत एक दुई वर्षदेखि भने अन्य बैंकहरुले एभरेष्टलाई पछि पार्दै अगाडि बढिरहेका छन् । अहिले एभरेष्टको हरेक सुचकांकहरु पछि पर्न लागेका देखिएकाे छ ।

बैंकलाई बलियाेसँग अगाडि बढाउनको लागि नेपाली सीईओको आवश्यकता सञ्चालक समितिले महसुस गरेका पनि हुन सक्छ । अघिल्ला वर्षहरुमा २७ वटै वाणिज्य बैंकहरुसँग आफ्नो कडा प्रतिस्पर्धा र बलियो उपस्थिति जनाउँदै आएको एभरेष्ट बैंक पछिल्लो समय भने केही सुस्त देखिएको छ ।

अघिल्ला वर्षहरुमा नाफा कमाउने बैंकहरुको उच्च स्थानमा आउने एभरेष्ट बैंक पछिल्लो समय भने केही पछि पर्दै आएको छ । चालु आर्थिक वर्षको फागुनसम्म खुद नाफा कमाउने बैंकहरुको सूचीमा एभरेष्ट बैंक १५औं स्थानमा छ । गत आर्थिक वर्षमा ०.१६ प्रतिशत खराब कर्जा रहेको बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा भने ०.१९ प्रतिशत पुगेको छ ।

२७ वटा वाणिज्य बैंहरुमध्ये ७ वटा वाणिज्य बैंकमा वैदेशिक लगानी रहेको छ । नबिल बैंक, एनएमबि बैंक, नेपाल एसबिआई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक र नेपाल बंगलादेश बैंकमा स्वदेशी वैदेशिक लगानी रहेको छ । वैदेशिक लगानी रहेका बैंकहरुले पछिल्लो समय गरेको प्रगतिलाई हेर्दा नबिल बैंक सबैभन्दा अगाडि देखिएको छ ।

एभरेष्ट बैंकले फागुन मसान्तसम्म १ अर्ब ३० करोड रुपैयाँ नाफा गरेको छ । १९ अर्ब ५१ करोड रुपैयाँ इक्विटी रहेको बैंकको हालसम्म १ खर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा लगानी १ खर्ब २३ अर्ब रुपैयाँ पुर्याएको छ । तर, अन्य वाणिज्य बैंकहरुको तुलनामा यो कम हो ।

विदेशी लगानी रहेको नबिल बैंकले फागुनसम्म ३ अर्ब १२ करोड खुद नाफा गरेको छ । नबिलको तुलनामा एभरेष्ट बैंकको खुद नाफा १ अर्ब ८२ करोडले कम हो । नबिल बैंकको प्रतिसेयर मूल्य (बिहीबारको) १३ सय २७ रुपैयाँ पुगेको छ भने एभरेष्ट बैंकको ७ सय ४९ रुपैयाँ छ । एक वर्ष अगाडि एभरेष्टको सेयर मूल्य ८ सय रुपैयाँसम्म पुगेको थियो ।

यसले पनि पछिल्लो समय एभरेष्ट बैंक खस्किएको महसुस भएर बैंकको सञ्चालक समितिले नेपाली सीईओ नियुक्त गरेको होकि भन्ने अनुमान धेरैको छ ।

यस्तै, अहिले धेरै बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्विजिसनको दौडमा छन् । यो सँगै वाणिज्य बैंकहरुलाई पनि कुन बैंक तथा वित्तीय संस्थासँग मर्जर गर्ने भन्ने दबाब छुट्टै छ ।

हिमालयन बैंक र इन्भेष्मेन्ट बैंकबीच मर्जर हुने भएपछि अन्य बैंकहरुलाई पनि ठूलो बैंक बन्नका लागि दबाब छ । यसअघि एभरेष्ट बैंक र लक्ष्मी बैंकबीच मर्ज हुने चर्चा पनि चलेको थियो ।

त्यसमा पनि नवनियुक्त सीईओ खालिङले भूमीका खेलेका थिए । त्यतिखेर यी दुई बैंकबीच मर्ज हुने विषय यतिकै सेलायो । अहिले पुनः यी दुई बैंकबीच मर्ज गराउनको लागि खालिङले राम्रो नेतृत्व वहन गर्न सक्ने ठहर्याउँदै उनलाई एभरेष्ट बैंकमा ल्याइएको बुझिएको छ ।

बैंकले यी विभिन्न सुचक सुधार गर्न र बजार विस्तार गर्न सहज हुने भन्दै नेपाली सीईओ नियुक्त गरेको पनि हुन सक्छ । सीईओ खालिङले यसअघि लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृत भएर पनि काम गरिसकेका छन् । त्यसैले पनि एभरेष्ट बैंकमा उनको प्रवेशले लक्ष्मीसँग मर्ज गर्न सहयोग पुग्नेछ । तीन दशक लामो बैंकिङ्ग क्षेत्रमा अनुभव भएका उनलाई सञ्चालन तथा बैंकिङ्ग जोखिममा राम्रो अनुभव भएको बैंकरका रुपमा धेरैले चिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.