सरकारले भन्योः राति ९ बजभित्रै होटल बन्द गर्नु, एक सिट खाली राखेर गाडी चलाउनु

  २०७७ चैत २५ गते १८:३८     विकासन्युज

काठमाडौं । सरकारले राति ९ बजेभित्रै होटल व्यवसाय बन्द गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्न आग्रह गरेको हो ।

कोरोना संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्य मापदण्डको उल्लंघन र कोरोनाको बेलायत भेरियन्टको बढ्दो दरलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय कडाइका साथ बन्द गराउन आग्रह गरेको हो ।

यस्तै, मन्त्रालयले घरबाहिर र सार्वजनिक स्थामा मास्कको प्रयोगलाई अनिवार्य गराउन पनि सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ । यसैगरी कोरोना संक्रमितको पहिचान गर्न कन्ट्याक्ट ट्रेसिङ बढाउन तथा ‘केस इन्भेस्टिगेसन’का लागि एन्टीजेन तथा आवश्यकताअनुसार पीसीआर परीक्षण बढाउन पनि मन्त्रालयले सम्बन्धित स्वास्थ्य कार्यालय तथा स्थानीय तहहरुलाई आग्रह गरेको छ ।

यसैगरी ठूला शहरहरुमा ५ सयभन्दा बढी र साना शहरहरुमा एक सयभन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवागमनमा कडाइ गर्न पनि मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ । विदेशबाट आउने विभिन्न टोली वा भ्रमण दलका सदस्यहरुको संख्या तथा क्वारेन्टिनका नियममा पनि कडाइ गर्न मन्त्रालयको आग्रह छ ।

यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको कोभिड-१९ सम्बन्धी नियमित अपडेटमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्ण पौडेलले सवारीसाधनमा यात्रु बोक्दा अब एक सिट खाली गरेर चलाउन आग्रह गरेका थिए । उनले काेराेना संक्रमण झन बढेकाेले गाडीकाे एक सिटमा यात्रु राखेर मात्रै गाडी चलाउन आग्रह गरेका हुन् ।

उनले विद्यालय, मन्दिर  सार्रवजिनक ठाउँ लगायत बढी भीड हुने ठाउँमा सामाजिक दूरी कायम गर्न समेत आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.