एक वर्षदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरण जडान भएन, लागत बढ्यो, काम सकिने समय अन्योल

  २०७७ चैत २५ गते १८:२६     विकासन्युज

काठमाडौं । भारतीय नाकाबन्दी तथा कोरोना महामारीका कारण राष्ट्रिय गौरवका आयोजना अन्तर्गत रहेको भैरहवामा निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणले गति लिन सकेको छैन् । निर्माणको तयारी भएको ५ वर्ष बितिसक्दा समेत विमानस्थल सम्पन्न नहुँदा समय सगैँ लागत समेत थपिदै गएको छ ।

कोरोनाका कारण एक वर्षअघिदेखि रोकिएको विमानस्थल निर्माणको कार्यले अझै गति लिन सकेको छैन् । ९३ प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भएको उक्त विमानस्थलमा प्राविधिक काम सुरु हुनै सकेको छैन् । उपकरण जडानका लागि आवश्यक प्राविधिक कर्मचारी नहुँदा एक वर्षदेखि रोकिएको उपकरण जडानको काम बल्ल सुरु भएको छ । कोरोना भाइरसका कारण विमानस्थलमा कार्यरत चिनियाँ प्राविधिकहरु चीनमै रोकिदा ठप्प भएको प्राविधिक काम केही दिन अघिबाट सुरु भएको हो ।

गत वर्षको चिनियाँ नयाँ वर्ष मनाउँन चीन गएका कामदारहरु कोरोना महामारीका कारण चीनमा नै रोकिदा गत वर्षको पुस अन्तीम सातादेखि विमानस्थल निर्माणले गति लिन सकेको थिएन । चिनियाँ प्राविधिक नहुँदा भौतिक संरचनाको निर्माण सकिएपनि उपकरण जडान रोकिएको थियो ।

एक वर्षसम्म चिनियाँ प्रावधिकहरु निर्माणस्थलमा नफर्र्किएपछि विमानस्थल निर्माण कम्पनीले विकल्पका रुपमा भारतीय कामदारबाट निर्माणको काम सुरु गरेको हो । विमानस्थल निर्माण काम गरेको चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्टले पहिलो चरणमा १० जना भारतीय कामदारबाट एसी जडानको काम सुरु गरेको विमानस्थल आयोजना कार्यालयले जनाएको छ ।

फागुनमा १० जना भारतीय प्राविधिबाट उपकरण जडानको काम सुरु भएकोमा १० जना थप गरी हाल २० जना प्राविधिकबाट जडानको काम भइरहेको आयोजना कार्यालयका प्रमुख प्रवेश अधिकारीले जानकारी दिए ।

उनका अनुसार २० जना भारतीय प्राविधिक मार्फत विमानस्थल निर्माण कम्पनीले एसी जडानको काम गरिरहेको छ । अन्य उपकरण जडानका लागि आवश्यक थप प्राविधिक केही दिनभित्रमा नै आइपुग्ने निर्माण कम्पनीले जानकारी दिएको उनी बताउँछन् । निर्माण कम्पनीले लामो समयदेखि थप प्राविधिक ल्याउने तयारी भएको भन्दै आएको छ । थप प्राविधिक नआउँदा लामो समयदेखि उपकरण जडानको काम प्रभावित हुँदै आएको छ ।

भारतीय कामदारबाट एसी जडान लगायतका प्राविधिक काम भएतापनि परीक्षण गर्न चिनियाँ कामदार नै आउनुपर्ने हुन्छ ।

दुई वर्षको लक्ष्य ६ वर्षहुँदा समेत पूरा भएन

सन् २०१५ जनवरी १५ अर्थात २०७१ साल माघ १ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास हुँदा २०१७ डिसेम्बरमा निर्माण सक्ने लक्ष्य थियो । दुई वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने उक्त विमानस्थल ६ वर्षपूरा हुँदा समेत सम्पन्न भएको छैन ।

सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्षको रुपमा मनाउने र २०२० को सुरुवाती चरणमा नै भैरहवामा विमानस्थल सञ्चालनमा ल्याईने तयारी भएतापनि हाल निर्माणको काम रोकिएको छ । भैतिक संरचना निर्माण सम्पन्न भएतापनि प्राविधिक कामहरु सुचारु नहुँदा विमानस्थल सञ्चालनको टुङ्गो नभएको क्यानका निर्देशक एवं राष्ट्रिय गौरवका आयोजना प्रमुख प्रदीप अधिकारी बताउँछन् ।

उनका अनुसार कोरोना महामारीका कारण विदेशी प्राविधिक सगैँ अन्य कामदारहरु समेत नआउँदा विमानस्थल निर्माणको कार्य प्रभावित बनेको छ । चीन तथा अन्य देशबाट प्राविधिक ल्याएर उपकरण जडान लगायतका प्राविधिक काम गर्नुपर्ने हुन्छ । तर तोकिएको समयमा न उपकरण ल्याउन सकिने न प्राविधिक नै ।

विमानस्थलको बाँकी सबै काम सकेर आगामी बैशाख १ गते औपचारिक उद्घाटनको तयारी भएतापनि अझैँ विमानस्थल निर्माण काम सकिएको छैन् । ‘विमानस्थल निर्माणका लागि आवश्यक कामदार छैनन्, बाँकी काम कहिले सकिन्छ भन्ने अवस्था नै छैन’, उनले भने ।

काम तीन महिनामा सकिने

भौतिक काम सकेर प्राविधिक काम बाँकी रहेको उक्त विमानस्थलमा प्राविधिक कामदार भएमा अबको तीन महिनाभित्रै सकिने आयोजना कार्यालयले जनाएको छ ।

‘भौतिक अर्थात पूर्वाधारका अधिकांश काम सम्पन्न भइसकेको छ, बाँकी रहेको काम एसि जडान सगैँ अन्य उपकरणको कामा बाँकी हो, कामदार भएर सरासर काम भएमा छिटै विमानस्थल सञ्चालमा आउँछ’, ‘गौरव आयोजना प्रमुख अधिकारीले भने, तीन महिनाभित्र विमानस्थलका सबै काम सकेर ६ महिनाभित्र उडान सुरु हुन्छ ।’

विमानस्थल निर्माणमा विशेषज्ञता हासिल गरेको चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्टसँग ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २८ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो ।

आइसिपी–१ र आइसिपी–२ गरी विमानस्थलको निर्माणको कार्य गरिएकोमा आइसिपी–१ अन्तर्गतका अधिकांश कामहरू सम्पन्न भइसकेका छन् । आइसिपी–२ अन्तर्गतका कामहरू कोरोनाका कारण प्रभावित हुँदा विमानस्थल निर्माणको काममा ढिलाई हुँदै आएको छ । हाल आइसिपी–१ अन्तर्गत धावनमार्ग, ट्याक्सी वे, टर्मिनल भवनलगायत संरचना निर्माण सम्पन्न भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.