प्रत्येक वडालाई पकेट क्षेत्र बनाएर काम गरिरहेका छौंः अध्यक्ष निलकण्ठ गौतमसँगको कुराकानी

  २०७७ चैत २५ गते १८:१०     विकासन्युज

नेपालको लुम्बिनी प्रदेशअन्तर्गत गुल्मी जिल्लाको पूर्वी भेगमा पवित्र कालिगण्डकीको तटीय क्षेत्रमा अवस्थित प्राकृतिक रुपमा सुन्दर एवं रमणिय गाउँपालिका हो रुरुक्षेत्र गाउँपालिका । यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा चर्चित त छ नै साथै ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक रुपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ । ६७ दशमलब ३७ वर्ग किलोमिटरमा फैलिएको यो गाउँपालिकामा ६ वटा वडा रहेका छन् । ४ हजार २ सय ७६ घरधुरी रहेको यस गाउँपालिकामा २३ हजार १ सय ५५ जनसंख्या छ ।

गाउँपालिकाको अधिकांश भाग पहाडी भूभागले ढाकेको छ भने यहाँ मिश्रित जातजातिको बसोबास रहेको पाइन्छ । गाउँपालिकाका ठूला आयोजना तथा परियोजनाहरु के कस्ता छन् ? जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भैसकेपछि गाउँपालिकामा कस्ता खाले परिर्वतन आएका छन् ? रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेलेको छ ? भन्नेलगायतका विषयमा केन्द्रीत हुँदै सो गाउँपालिकाका अध्यक्ष नीलकण्ठ गौतमसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् ।


सर्वप्रथम कृषिबाटै शुरु गरौं, गाउँपालिकाले कृषिक्षेत्र तर्फ के–कस्ता काम गरिरहेको छ ?

हाम्रो गाउँपालिका कृषि क्षेत्रको लागि उर्भरशिल भूमी हो । यहाँका धेरै नागरिकहरूले कृषि पेशा नै अँगालेका छन् । हामीले गाउँपालिकामा पशु र कृषिलाई नै प्राथमिकतामा राखेका छौं । कृषिका योजनाहरू पनि हामीले तयार पारेका छौं । ‘एक वडा एक उत्पादन’ भन्ने हाम्रो अभियान रहेको छ । भूगोल अनुसारको पकेट क्षेत्र पनि गाउँपालिकामा छुट्याएका छौं । पकेट क्षेत्र अनुसारको कृषिमा बजेट पनि विनियोजन गरेका छौं । वडा नं.१ मा लिची पकेट क्षेत्र र २ नं वडामा पशुपालन पकेट क्षेत्रको रूपमा छुट्याएका छौं । ४ नं. वडालाई सुन्तला पकेट क्षेत्र र ५ नं वडामा आलु क्षेत्रका रूपमा छुट्याएका छौं भने ६ नं वडामा बेमौसमी तरकारी खेतीको सुरुवात भएको छ ।

कृषकलाई कृषि अनुदान दिने व्यवस्था मिलाएका छौं । कृषि औजारको पनि हामीले कृषकलाई वितरण गर्दै आएका छौं । किटनाशक औषधी पनि वितरण गर्दै आएका छौं । बेला बेलामा कृषकलाई कृषि सम्बन्धी तालिम पनि दिँदै आएका छौं । हाम्रो गाउँपालिकाको प्रत्येक वडामा कृषक समुहहरुको गठन भएको छ । कुखुराको अन्डा, दुध, मकै, धानको उन्नत बिउ र घाँसको बिउ आदि उत्पादनमा पनि हाम्रो गाउँपालिका आत्मनिर्भर रहेको छ । गाउँपालिकामा गाई, भैँसी, बङगुर, कुखुराकाफर्महरू पनि सञ्चालनमा आएका छन् । विभिन्न जातको मकै र धानको बिउ समेत गाउँपालिकामा उत्पादन हुने गरेको छ । कृषि विकासका लागि गाउँपालिकाले विभिन्न किसिमका कार्यक्रमहरू गर्दै आएका छौं । कृषिको लागि मलको व्यवस्थापन गर्ने काम हामीले गरिरहेका छौं । सिचाई सम्बन्धी काम पनि गाउँपालिकामा भइरहको छ ।

गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध छन् होला ?

यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । यहाँका नागरिकहरूको मुख्य पेशा कृषि नै हो । प्रतिशतमै भन्नुपर्दा करिब ८० प्रतिशत मानिसहरू कृषि पेशामा आबद्ध छन् । गाउँपालिकामा राम्रो कृषि उत्पादन गर्ने किसानलाई सामान्य पुरस्कारको पनि व्यवस्था मिलाएका छौं । राम्रो कृषि उत्पादन गर्ने कृषकलाई अनुदानको पनि व्यवस्था गरेका छौं ।

आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ?

हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । प्राकृतिक रूपले पनि हाम्रो गाउँपालिका निक्कै सुन्दर छ । ऋषि श्रृङ्गय तपस्या गरेको लेक गुफा भनेर चिनिने श्रृङ्गेश्वर तपोभूमि धाम पनि धार्मिक तथा पर्यटकीय स्थलको रूपमा परिचित छ । यहाँ विशेष गरेर श्रावण औँसी र अन्य समयमा पनि भक्तजन आउने गरेका छन् । यो एक गाउँपलिकाको मनोरम दृश्य हेर्नेहरुको गन्तव्य स्थलको रूपमा पनि रहेको छ ।

बम्घा कोटमा रहेको मन्दिर र रानीले काटेको भनेर चिनिने ढुङ्गा पनि पर्यटकीय स्थलको रूपमा निकै महत्वपूर्ण रहेका छ । ग्वादीमा सिद्धबाबा, अचमेश्वरको मन्दिर तथा कृष्ण डाँडा पनि पर्यटकीय गन्तव्य रूपमा निकै चर्चित रहेका छन् । थानपती मन्दिर दर्शन तथा उक्त मन्दिर रहेको स्थानबाट आसपासको मनोरम दृश्यावलोकनको पनि गर्न सकिन्छ । यसै गरी बलेटक्सारको भैरव मन्दिर, बम्घाको मालिका मन्दिर, रुद्रबेनी आदि पनि पर्यटकीय स्थलको रूपमा महत्वपूर्ण रहेको छ । रिडीमा जलाशय बनाउने भनेका छौं यस ठाउँमा हाल तट्बन्ध र घाटहरुको पनि निर्माण भइरहेको छ । जसमा ५६ कारोड रुपैयाँ खर्च भइसकेको छ भने ४ अर्ब रुपैयाको योजना यो रहेको छ । गाउँपालिकामा धार्मिक स्थलको पहिचान गरी मठ मन्दिरको निर्माण गर्ने काम पनि भइरहेको छ ।

गाउँपालिकामा रहेका ठूला आयोजना तथा परियोजनाहरू के–के छन् ?

गाउँपालिकामा धेरै कृषिका आयोजनाका कामहरु नै रहेका छन् । कृषिको लागि बजेट पनि छुट्याएका छौं । हाम्रो गाउँपालिकामा सडक निर्माणको काम पनि भइरहेको छ । हामीले गाउँपालिकाको प्रत्योक वडामा सडक पुर्याएका छौं । हिउदाबर्खेमा यातायत सञ्चालन भए पनि गाउँपालिकामा धेरै सडकहरु कच्चि रहेका छन् । ५ करोड रुपैयाँको बजेटमा वडा नं ४ र ५ मा सडकको पिच गर्न सुरु गरेको छौं । गाउँपालिकाको प्रत्येक घरमा बिजुली बाल्न पनि सफल भएका छौं । ‘एक घर एक धारा’ अभियान सञ्चालन गरेर प्रत्येक घरमा खानेपानी पुर्याउन पनि सफल भएका छौं ।

गाउँपालिकामा स्वास्थ्य क्षेत्र विकासको लागि कसरी काम गर्दै आइरहनुभएको छ ?

स्वास्थ्य क्षेत्रको विकासका लागि पनि हामीले गाउँपालिकामा धेरै काम गर्दै आएका छौं । राष्ट्रिय अभियान अन्तर्गत १५ शैया बडेको अस्पतालको निर्माणको काम भइरहेको छ । गाउँपालिकामा स्वास्थ्य केन्द्र पनि रहेको छ । प्रत्येक वडामा स्वास्थ्यका भवनहरू रहेका छन् । पहिला हामीले ‘घर घरमा स्वास्थ्य’ भनेर रोग अनुसन्धानको लागि स्वास्थ्यकर्मीहरुलाई पठाएका थियौं । प्रत्येक वडामा प्रत्येक २ महिना शिविर पनि बस्छ । स्वास्थ्य क्षेत्रलाई पनि हामीले प्राथमिकतामा नै राखेका छौं । गाउँपालिकामा रहेका सबै नागरिकहरूको पहुँच प्राथमिक स्वास्थ्य सेवासम्म पुगेको छ ।

स्वास्थ्यकर्मीहरूसँग बेलाबेलामा छलफल गर्ने र तालिम दिने काम पनि हामीले गरिरहेका छौं । हाम्रो गाउँपालिकाको प्रत्येक वडामा स्वास्थ्य चौकीहरू छन् । स्वास्थ्य सेवालाई सहज बनाउनको लागि बजेट पनि छुट्याउँदै आएका छौं । गाउँपालिकामा स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएका छन् । राज्यले दिने औषधी हामीले नागरिकलाई निःशुल्क दिने गरेका छौं । हाम्रो गाउँपालिकामा २ वटा आयुवेर्दिक औषधालयका साथै निजी स्तरका क्लिनिक तथा मेडिकलहरूले स्वास्थ्य सेवा प्रदान गरिरेका छन् ।

खेलकुद विकासका लागि गाउँपालिकाले कस्ता आयोजनाहरू बनाएको छ ?

खेलकुद विकासको लागि खेल मैदानको व्यवस्था गरेका छौं । खेलकुलको लागि हामीले बजेट पनि छुट्याउँदै आएका छौं । गाउँपालिकामा खेलकुद समितिको पनि गठन गरेका छौं । खेलकुदका औपचारिक कार्यक्रम कसरी अगाडि बढाउने भनेर छलफल गरिरहेका हुन्छौं ।

गाउँपालिकाको सबै वडामा युवा क्लबहरू गठन भएका छन् । खेलकुद समिति र गाउँपालिकामा भएका युवा क्लबहरूमार्फत विभिन्न किसिमका खेलकुदहरू आयोजना हुने गरेका छन् । प्रायः गरेर बक्सिङ्ग, भलिबल, टेबलटेनिस, कराँते, फुटवल, क्रिकेट लगायतका खेलहरू गाउँपालिकामा आयोजना गर्ने गरिएको छ । गाउँपालिकाका धेरै युवाहरू खेलकुदतर्फ उत्सुक छन् ।

तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा आएको परिवर्तन बारे केही बताइदिनुस् न । 

पहिलाको तुलनामा त अहिले व्यापक परिवर्तन आएको छ । पहिला पानीको हाहाकार थियो हाल घर घरमा पानीका धारा छन् । सडकहरू फराकिला हुन थालका छन् । कच्ची सडकहरू धमाधम पिच्च हुन थालेका छन् ।संरचना पनि बनेका छन् । जनताको आवश्यकता पुरा गर्नमा हामी खटिरहेका छौं । हाल गाउँपालिकाको कुनै पनि सेवा प्रवाहमा समस्या रहेको छैन ।

तपाईंको पालिकामा सबैभन्दा ठूलो उद्योग वा व्यापारीक कम्पनी कुन होला ?

हाम्रो गाउँपालिकामा ठुला उद्योगहरु त छैनन् । रिडीमा हाइड्रोपावर उद्योग रहेको छ । राष्ट्रकै एकमात्र कफि अनुसन्धान केन्द्र पनि हाम्रौ गाउँपालिकामा छ । गाउँपालिकामा स्थानीय नागरिकले सञ्चालन गरेका साना तथा मझौला उद्योग भने केही मात्रामा छन् । पालिकामा बरु कृषि उद्योग धेरै संख्यामा छन् । कृषकहरूले कुखुरा पाल्ने, भैँसी पाल्ने लगायतका काम गर्दै आएका छन् ।

गाउँपालिकामा सर्वसाधारणले के कस्ता समस्या लिएर आउँछन् ?

गाउँपालिकाको नगरिकहरु प्रायःजसो खानेपानी, बाटोघाटो, घरनक्सा पास, राहत सहयोग, न्याय निरूपण, पशुपन्छीको रोग, कृषिसम्बन्धी लगायतका समस्याहरू लिएर आउने गरेका छन् । तर पनि यी सबै समस्याको समाधान गरेर मात्र हामी अगाडि बढी रहेका छौं ।

शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आइरहेको छ त ?

शैक्षिक विकासको लागि पनि गाउँपालिकामा धेरै काम गर्दै आइरहेका छौं । पहिला २ वर्ष त हामीलाई अनुसान कायम गर्न नै लाग्यो । ७ ओटा माध्यमिक तह, आधारभूत तह अन्तर्गत कक्षा ८ सम्म सञ्चालित ७ ओटा विद्यालय छन् र कक्षा ५ वा सो भन्दा तल सञ्चालित २९ ओटा विद्यालय गरी जम्मा ४३ ओटा विद्यालयहरू गाउँपालिकामा रहेका छन् । हाम्रो गाउँपालिकामा कृषि क्यापश पनि सञ्चालनमा आएको छ । विशेष गरेर शैक्षिक सुधारमा राज्यले जोड दिनु पर्ने कुरा पनि हो । गाउँपालिकामा विद्यालयका भवनहरू पनि निर्माण भएका छन् ।

अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ?

हामीले दीर्घकालिन योजनाहरूको सुरुवात गरेका छौं । कतिपय योजनाको भने हामी अन्तिम चरणमा पुगिसकेका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दिर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । पूर्वाधार विकासको कुरामा पनि हामी अगाडि बढिरहेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.