दुई गौरवका आयोजनाः निर्माण नसकिँदै उद्घाटनको तयारी, जस लिने योजनामा ओली

  २०७७ चैत २५ गते ९:४५     विकासन्युज

काठमाडौं । भारतीय नाकाबन्दी र कोरोना महामारीका कारण लामो समयदेखि निर्माण प्रभावित भएका दुई ठूला अन्तराष्ट्रिय विमानस्थल सम्पन्न नै नभई उद्घाटनको तयारी भएको छ ।

भैरहवामा निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरामा निर्माणधिन क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न नभई प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटनको तयारी भएको पाइएको छ । दुबै विमानस्थल निर्र्माणको अन्तीम चरणमा रहेका छन् ।

आगामी बैशाख १ गते दुबै विमानस्थल निर्माण सम्पन्न गर्ने सरकारी योजना पूरा नभए पनि उद्घाटनको भने तयारी भएको छ । प्रधानमन्त्री कार्र्यालयको निर्देशन अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नागरिक उडड्यन प्राधिकरणले उद्घाटनको तयारी गरेका छन् ।

पर्यटन मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयको निर्देशनका आधारमा उद्धघाटनको तयारी गरिएको हो । यसअघि नै प्रधानमन्त्रीले आन्तरिक उडान गर्नेगरी उद्धघाटनको तयारी गरेकोमा पर्यटन मन्त्रालयले रोकेको थियो ।

‘निर्माण नै सम्पन्न नगरी हतार गरेर उद्धघाटन गर्दा समस्या आउनसक्ने भन्दै यसअघि रोकिएको थियो । अहिले पुनः उद्धघाटनको तयारी भएको छ । विभिन्न अवरोधका कारण लामो समयदेखि विमानस्थल निर्माण सम्पन्न हुन सकेको छैन, उद्धघाटन भएपछि झन निर्माण रोकिने देखिएको छ’, स्रोतले भन्यो ।

प्राविधिक कामदार निर्माण क्षेत्रमा नआउँदा एक वर्षदेखि उपकरण जडान लगायतको काम रोकिएको छ । सरासर काम भएमा निर्माणको अन्तिम चरणमा पुगेको भैरहवा विमानस्थल सञ्चालनमा आउँन अझै ६ महिना लाग्छ, काम सक्ने तयारी नगरी उद्धघाटनको हतारो मात्र भएको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

गौतमबुद्ध विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेपनि भारत सरकारले अझै हवाई रुटको अनुमति दिएको छै् । भारत सरकारले उडान अनुमति नदिदा हाल नेपाली सहित नेपाल आउने वायुसेवा कम्पनीहरुले लामो दुरी मार्फत उडान गर्दै आएका छन् ।

भारतले छोटो दुरीको अनुमति नदिदा नेपाललाई उडानै पिच्छे महङ्गो शुल्क लाग्ने गरेको छ ।

सन् २०१५ बाट निर्माण सुरु भएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल ९३ प्रतिशत सम्पन्न भएको छ । निर्माणको सबै काम सकिएपनि उपकरण जडान गर्ने प्राविधिक नहुँदा एक वर्ष अघिदेखि निर्माण प्रभावित हुँदै आएको छ ।

यसैगरी, सन २०२१ जुलाई १० भित्रमा निर्माण सम्पन्न गर्ने गरी २०७४ सालमा निर्माण सुरु भएको पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको हाल ७० प्रतिशत हाराहारी निर्माण सम्पन्न भएको छ ।

सम्झौता अबधिभन्दा ६ महिना अघि नै काम सम्पन्न गर्ने तयारी भएको उक्त विमानस्थल निर्माणले कोरोना महामारीका कारण गति लिन सकेको छैन । कोरोनाका कारण निर्माण एक वर्षअघि देखि सुस्त गतिमा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.