हाम्रो गाउँपालिकाका युवाहरू वैदेशिक रोजगारीको लागि जानुपर्ने अवस्था छैन – अध्यक्ष राईसँगको कुराकानी

  २०७७ चैत २४ गते १८:५०     विकासन्युज

नेपालको प्रदेश १ अन्तर्गत भोजपुर जिल्लामा पर्ने एउटा सुन्दर गाउँपालिका हो साल्पासिलिछो गाउँपालिका । यो गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले फरक विशेषता बोक्न सफल छ भने कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा पनि निक्कै चर्चित छ ।

६ ओटा वडा रहेको यस गाउँपालिका १ सय ९३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस गाउँपालिकामा १३ हजार १ सय ११ जनाको बसोवास रहेको छ । जिल्लाको सदरमुकाम भोजपुरदेखि टाढा रहेको यस गाउँपालिकाले आफ्नै खालको धार्मिक, राजनैतिक र सामाजिक महत्व र विशेषता बोकेको छ । गाउँपालिकाको अधिकांश भाग पहाडी भूभागले ढाकेको छ भने त्यहाँ मिश्रित जातजातिको बसोबास रहेको पाइन्छ । यस गाउँपालिकाको दक्षिणपूर्वमा षडानन्द नगरपालिका, पश्चिममा खोटाङ्ग जिल्ला, पूर्वमा संखुवासभा जिल्ला र त्यसैगरी उत्तरमा सोलुखुम्बु जिल्ला रहेको छ ।

गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरू के–के छन्, गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष महेश राईसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश ।

सर्वप्रथम कृषिकै कुराबाट सुरु गरौं, गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ?

हाम्रो गाउँपालिका कृषि क्षेत्रको लागि उर्भरशील भूमी हो । यहाँका धेरै नागरिकहरूले कृषि पेशा नै अँगालेका छन् । भूगोल अनुसारको पकेट क्षेत्र पनि गाउँपालिकामा छुट्याएका छौं । वडा नं. १ लाई फलफूल पकेट क्षेत्र र २ नं वडालाई तरकारी पकेट क्षेत्रको रूपमा छुट्याएका छौं । ३ नं वडालाई तरकारी जोनको रूपमा छुट्याएका छौं । ५ र ६ नं वडामा किवी खेतीको सुरुवात हुन थालेको छ । गाउँपालिकामा कृषक समुहहरुको पनि गठन भएको छ ।

गाउँपालिकामा अनुदानको पनि कार्यक्रम रहेको छ । भेडीगोठ दुर्लभ हुँदै गएको कारण संरक्षण गर्नको लागि जोड दिएका छौं । आधुनिक कृषि प्रणालीलाई पनि विशेष जोड दिएका छौं । कृषि विकासको लागि हामीले बजेट पनि छुट्याएका छौं । कृषकलाई कृषि सम्बन्धि तालिमको पनि व्यवस्था मिलाएका छौं ।

गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध छन् होला ?

यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । यहाँका नागरिकहरूको मुख्य पेशा कृषि नै हो । प्रतिशतमै भन्नुपर्दा करिब ६० प्रतिशत मानिसहरू कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ । गाउँपालिकामा राम्रो कृषि उत्पादन गर्ने किसानलाई सामान्य पुरस्कारको पनि व्यवस्था मिलाएका छौं । राम्रो कृषि उत्पादन गर्ने कृषकलाई अनुदानको पनि व्यवस्था गरेका छौं ।

गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरू के–के हुन् नि ?

हाम्रो गाउँपालिका भोजपुरको सदरमुकामबाट १८ कोष टाढा पर्छ । स्थानीय निकाय आउनु अघि यहाँका मानिसहरूले सामान बोकेर ओसारपसार गर्नुपथ्र्यो । गाउँपालिकाको प्रत्येक वडारूमा सडक पुगे पनि उचित व्यवस्था हुन सकेको छैन । गाउँपालिकाका धेरै नागरिकको माग नै सडक निर्माण सम्बन्धी रहेको छ ।

नागरिकको चाहना नै सडक निर्माण रहेको हुनाले गाउँपालिकाले पनि सडक निर्माणलाई नै प्राथमिकतामा राखेको छ । ठुलो बजेट सडक निर्माणमा नै छुट्याएका छौं । सडक निर्माणमा ३ करोड बरबरको बजेट रहेको छ । गाउँपालिकामा कच्चि सडकहरु धेरै रहेका छन् । पहाडी भूभाग भएको कारण गाउँपालिकाको सडकहरु १२ महिनानै सञ्चालन हुन सक्दैन । हाम्रो गाउँपालिकामा केन्द्रीय लाइन रहेको छैन । जल लघुवित्त गाउँपालिकामा सञ्चालन गरेर बिजुली बालिरहेका छौं । केन्द्रीय लाइनको पनि हामीले माग गरिरहेका छौं । यो २ महिनामा गाउँपालिकाको १ र २ नं. वडामा केन्द्रीय लाइन बाल्ने कुरा भइरहेको छ ।

आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ?

हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । प्राकृतिक रूपले पनि हाम्रो गाउँपालिका निक्कै सुन्दर रहेको छ । पर्यटकीयस्थलको रुपमा साल्पा ताल तथा सिलिछो पहाड रहेका छन् । सो साल्पासिलिछो ४१ सय मिटरको उचाईमा रहेको छ । साल्पासिलिछोको नामबाट नै हाम्रो गाउँपालिकाको नामाकरण गरिएको हो । धेरै पर्यटकहरु ट्रेकिङको रुपमा पनि घुम्न आउने गरेका छन् ।

देशका विभिन्न ठाउँबाट यहाँ मानिसहरू आउने गरेका छन् भने विदेशी नगरिकहरुको पनि उपस्थिति रहेको पाइन्छ । पर्यटकीय स्थलसम्म पुग्नको लागि सडक निर्माणको काम पनि अगाडी बढाइरहेका छौं । हिमाली मार्ग पनि गाउँपालिकामा रहेको छ । धार्मिक हिसावले पनि हाम्रो गाउँपालिका निक्कै महत्वपूर्ण रहेको छ । प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा ट्रायल मार्ग अवधारणा पनि अगाडि सारेका छौं ।

शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आइरहेको छ त ?

हाम्रो गाउँपालिकामा ४२ ओटा सामुदायिक विद्यालयहरू रहेका छन् । हाम्रो पालिका विकट भएको कारण बसाइँसराइँ व्यापक भयो र शैक्षिक क्षेत्रमा केही समस्याहरु देखिए । हामीले शिक्षा क्षेत्रमा अनुगमनको अभ्यास पनि गरेका छौं । शैक्षिक विकासको लागि हामीले १ करोड ५० लाख रुपैयाँ बजेट छट्याएका छौं । विद्यालयमा विद्यार्थी संख्याको आधारमा शिक्षक रहनु पर्ने व्यवस्था गरेका छौं । हाल यहाँ विषयगत शिक्षकको अभाव रहेको छ ।

हामीले शिक्षा क्षेत्रमा आएका समस्याहरू प्रदेश सरकार समक्ष पनि राखेका छौं । गाउँपालिकाको अनुदानबाट हामीले विद्यालयमा केही शिक्षक पनि राखेका छौं । पहिलेको तुलनामा त गाउँपालिकाको शिक्षा क्षेत्रमा परिवर्तन आएको छ । गाउँपालिकामा केही विद्यालयका भवनहरु निर्माण भएका छन् । गुणस्तरीय शिक्षामा हामीले विशेष जोड दिइरहेका छौं । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि समय–समयमा छलफल गरिरहेका हुन्छौं ।

गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

गाउँपालिकाका धेरै युवाहरू कृषि पेशामा नै लागेका छन् । यहाँका युवाहरू वैदेशिक रोजगारको लागि जानु पर्ने अवस्था छैन । युवाहरुले सिप विकास गरेर पालिका भित्रनै रोजगारी पाउन सक्छन् । गाउँपालिकामा अलैैंची तथा यर्सागुम्बाजस्ता जडिबुटिहरु पनि हाम्रो गाउँपालिकामा पाइने गरेको छ । रुद्राक्ष बाट पनि नागरिकहरुले धेरै आम्दानी गरिरहेका छन् । काम गर्न चाहने युवाहरू खासै बेरोजगार हुनु परेको छैन । कृषि पेशामा आवद्ध हुने युवाहरूलाई अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । काम गर्न चाहने युवाहरूका लागि धेरै ठाउँमा अवसर छ । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं ।

खेलकुद विकासका लागि गाउँपालिकाले कस्ता योजनाहरू बनाएको छ ?

हामीले गाउँपालिकास्तरको खेलकुद प्रतियोगिता आयोजना गर्ने गरेका छौं । खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकामा खेलकुद समिति गठन भएको छ । खेलकुदका औपचारिक कार्यक्रम पनि गाउँपालिकामा हुने गरेका छन् ।

गाउँपालिकामा युवा क्लबहरू गठन भएका छन् । खेलकुद समिति र युवा क्लबहरूमार्फत विभिन्न किसिमका खेलकुदहरू आयोजना हुने गरेका छन् । प्रायः गरेर भलिबल तथा फुटबल लगायतका खेलहरू गाउँपालिकामा आयोजना गर्ने गरिएको छ । गाउँपालिकाका धेरै युवाहरू खेलकुदतर्फ उत्सुक छन् । गाउँपालिकाले खेल मैदानको पनि व्यवस्था मिलाएको छ ।

गाउँपालिकामा स्वास्थ्य क्षेत्र विकासको लागि कसरी काम गर्दै आइरहनुभएको छ ?

स्वास्थ्य क्षेत्रको विकासका लागि पनि हामीले गाउँपालिकामा धेरै काम गर्दै आएका छौं । स्वास्थ्य क्षेत्रलाई पनि हामीले प्राथमिकतामा नै राखेका छौं । गाउँपालिकामा रहेका सबै नागरिकहरुको पहुँच प्राथमिक स्वास्थ्य सेवासम्म पुगेको छ । पहुँच पुगेपनि ठुलो रोगको त उपचार गाउँपालिकामा हुन सक्दैन ।

२ नं वडामा सामुदायिक अस्पताल पनि सञ्चालनमा आएको छ । स्वास्थ्यकर्मीहरूसँग बेलाबेलमा छलफल गर्ने र तालिम दिने काम पनि हामीले गरिरहेका छौं । हाम्रो गाउँपालिकाको प्रत्येक वडामा स्वास्थ्य चौकीहरु रहेका छन् ।

स्वास्थ्य सेवालाई राम्रो बनाउनको लागि केही बजेट पनि छुट्याउँदै आएका छौं । गाउँपालिकामा स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएका छन् । राज्यले दिने औषधी हामीले नागरिकलाई निःशुल्क दिने गरेका छौं ।

तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन होला ?

हाम्रो गाउँपालिकामा खासै ठुला उद्योग छैनन् । व्यापारीकस्थलहरु भर्खरै निर्माण हुन थालेका छन् । धेरै ठुलो मूल्यमा अलैंची तथा रुद्राक्षको व्यवसाय हुने गरेको छ । यहाँ गरिने प्रमुख पेशा भनेको खेती किसानी नै हो । केही कृषकहरूले भने कुखुरापालन, बाख्रापालनजस्ता कामहरू पनि गरिरहेका छन् । पालिकामा होटल व्यवसाय पनि सञ्चालनमा आएका छन् ।

गाउँपालिकामा विकास निर्माणका कामहरू कत्तिको प्रभावकारी भएका छन् ?

विकास निर्माणको कामहरू प्रभावकारी नै भइरहेको छ । विकास राम्रो भएकाले जनताहरू मसँग खुसी नै छन् जस्तो लाग्छ । विकास निर्माणको काम प्रभावकारी भएर जनताको आवश्यकता पुरा भयो भने त्यो नै मेरो लागि सन्तुष्टि हो ।

अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ?

हामीले पालिकास्तरको योजना तयार परेका छौं । यो योजना पुरा गर्नमा हामीले विशेष जोड दिएका छौं । हामीले दिर्घकालिन योजनाहरूको सुरुवात गरेका छौं । कतिपय योजनाको भने हामी अन्तिम चरणमा पुगिसकेका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दिर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । पूर्वाधार विकासको कुरामा पनि हामी अगाडि बढिरहेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.