दोश्रो बजारमा भित्रिएका तीन ‘दुलही’: जसकाे सेयरमा झुम्मिए लगानीकर्ता

  २०७७ चैत २४ गते १८:१३     मञ्जरी पौडेल

काठमाडौं । पछिल्लो समय दोश्रो बजारमा तीन लघुवित्तको सेयर मूल्य निरन्तर रूपमा बढ्दै आएको छ । त्यसमध्ये पनि दुई लघुवित्त (एनआईसी एशिया लघुवित्त र वोमी माइक्रोफाइनान्स वित्तीय संस्था) को सेयर मूल्य निरन्तर रूपमा बढेर दैनिक सकारात्मक सर्किट लागिरहेकाे छ ।

एनआईसी एशिया लघुवित्तको सेयर मूल्यले ११०० रुपैयाँ नाघेको छ । अन्य दिनजस्तै, आज(चैत २४ गते)को बजारमा पनि संस्थाको सेयर मूल्य ९.९३ प्रतिशतले बढेर प्रतिकित्ता ११६२ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १०५ रुपैयाँले बढी हो ।

त्यस्तै, वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयरको भाउ बढेर १८०० रुपैयाँ माथि पुगेको छ । मंगलबारको बजारमा संस्थाको सेयर मूल्य ९.९५ प्रतिशतले बढेर प्रतिकित्ता १८२३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतिकित्ता १६५ रुपैयाँले बढी हो ।

अर्काे महिला लघुवित्त वित्तीय संस्था । जसकाे सेयर मूल्य पनि निरन्तर रुपमा बढी रहेको छ । मंगलबारको बजारमा त संस्थाकाे सेयर मूल्यमा सर्किट लागेकाे छ । साे दिन संस्थाकाे सेयर मूल्य ९.९३ प्रतिशतले बढेर प्रतिकित्ता ८४१ रुपैयाँमा अन्तिम काराेबार भएकाे छ ।

किन बढ्यो सेयर मूल्य ?

यी तीन वटै कम्पनी अहिलको बजारको नयाँ दुलहीहरु हुन् । त्यसैले पनि यिनको भाउ निरन्तर बढी रहेको बजारका जानकारहरु बताउँछन् ।

अर्थात् यी तीन वटा कम्पनीको हालै मात्र सेयर बजारमा कारोबार शुरु भएको हो । त्यसैले, बजारको भाषामा हालै सेयर कारोबार शुरु गरेका तथा मर्जपश्चात सेयर कारोबार फुकुवा भएका कम्पनीलाई नयाँ दुलहीको उपमा दिने गरिएको एक जानकारले प्रष्टाए ।

जसमध्ये एनआईसी एशिया लघुवित्तको गत चैत १८ गतेमात्रै दोश्रो बजारमा सेयर कारोबार शुरु भएको हो । यसअघि संस्थाको सेयर कारोबार रोक्का थियो । नेप्सेले मर्जर प्रकृयाको लागि संस्थाको गत साउन ३२ गतेदेखि सेयर कारोबार रोक्का गरिदिएकोे हो । स्वदेशी लघुवित्त वित्तीय संस्थासँग एक आपसमा मर्जर भई एकीकृत कारोबार भएपछि नेप्सले ७ महिनापछि उक्त संस्थाको सेयर कारोबार फुकुवा गरिदिएको हो । र, चैत १८ गतेदेखि दोश्रो बजारमा ‘एनआइसीएलबीएसएल’को नामबाट सेयर किनबेच शुरु भएको हो ।

सो दिनदेखि आजसम्ममा संस्थाको ५ दिन कारोबार भयो । यो अवधिमा संस्थाको सेयर मूल्य ५१.९० प्रतिशतले बढिसकेको छ । प्रतिकित्ता ७६५ रुपैयाँमा कारोबार शुरु भएको संस्थाको सेयर चार दिनमै ३९७ रुपैयाँले बढेर प्रतिकित्ता ११६२ रुपैयाँ पुगेको हो ।

त्यस्तै, मर्जर प्रक्रियामा रहेको वोमी माइक्रोफाइनान्सको पनि हालै दोश्रो बजारमा कारोबार शुरु भएको हो । भदौ २८ गते ग्रामीण स्वयंसेवक लघुवित्तसँग मर्जरमा जाने प्राथमिक सम्झौता भएसँगै संस्थाको सो दिनदेखि सेयर कारोबार रोक्का भएको थियो । उक्त प्रकृया सम्पन्न भई एकीकृत कारोबार भएसँगै नेप्सेले गत चैत ९ गतेदेखि संस्थाको सेयर कारोबार फुकुवा गरिदिएको थियो ।

चैत ९ संस्थाको सेयर कारोबार प्रतिकित्ता ७१७ रुपैयाँदेखि शुरु भएको थियो । कारोबार शुरु भएदेखि निरन्तर बढेको संस्थाको सेयर मूल्य दुई सातामै प्रतिकित्ता ११०६ रुपैयाँ अर्थात १५४ प्रतिशतले बढेको छ । यससँगै आज (मंगलबार) संस्थाको अन्तिम कारोबार प्रतिकित्ता १८२३ रुपैयाँमा भएको हो । जुन अघिल्लो कारोबारको तुलनामा १६५ रुपैयाँले बढी हो ।

त्यसैगरी, हालै सर्वसाधारणमा सेयर जारी गरी दोश्रो बजारमा प्रवेश गरेको महिला लघुवित्तको पनि सेयर मूल्य दिनानुदिन बढीरहेको छ । गत चैत २ गते दोश्रो बजारमा प्रवेश गरेको संस्थाको सेयर भाउ बढेर प्रतिकित्ता ८४१ रुपैयाँ पुगेको छ । जबकी चैत २ गते संस्थाको पहिलो कारोबार प्रतिकित्ता ४३८ रुपैयाँमा भएको थियो । यो अवधिमा संस्थाको सेयर मूल्य ९२ प्रतिशतले बढीसकेको छ ।

कहिलेसम्म बढ्ला ?

कुनै पनि कम्पनीकाे सेयर मूल्य याे अवधिसम्म बढ्छ भनेर यकिन गर्न त सकिँदैन । तर पनि पछिल्लाे समय निरन्तर बढेका यी कम्पनीको सेयर मूल्य अझै बढ्न सक्ने अनुमान रहेकाे पुँजीबजारका एक जानकारले बताए । मार्केटको एउटा लेभलमा पुगेपछि कम्पनीकाे सेयर मूल्य आफ्नो ठाउँमा आइहाल्ने उनको भनाई छ ।

‘पुराना कम्पनीका तथ्यांक अनुसार यी कम्पनीको सेयर मूल्य थप केही सयमसम्म बढ्न सक्ने छ । किनभने सेयर कारोबार रोकिँदा उनीहरुको सेयर कारोबार एकदमै तल थियो । काराेबारमा आएपछि कुनै पनि कम्पनीकाे सेयर मूल्य मार्केटको एक लेभलमा पुग्छ नै । यी कम्पनी त्याे लेभलमा पुग्न बाँकी नै छ । मार्केटको एउटा लेभलमा पुग्न पनि शुरुमा सर्किट लाग्दै जाने हो । र, त्यसपछि आफ्नो ठाउँमा आइहाल्छ ।’, उनले भने ।

‘जस्तै, कोक, सोडा लगायतका पिय पदार्थ हल्लाएर खोल्दा जसरी फिज बाहिरिन्छ र पछि ठाउँमा आउँछ । बजारमा पनि कम्पनीको सेयर मूल्य त्यस्तै हो । शुरु शुरुमा मूल्य आकासिँदै जान्छ र पछि आफ्नो लेभलमा आइहाल्छ ।’, उनले थप प्रष्ट पार्दै भने ।

कम्पनीकै उदाहरण हेर्ने हाे भने पनि हालै आईपीओ जारी गरेर बजारमा भित्रिएको चन्द्रागिरी हिल्सको सेयर मूल्य पनि शुरु शुरुमा निरन्तर सर्किट लागेकाे लाग्यै थियो ।

प्रतिकित्ता १६१ रुपैयाँमा कारोबार शुरु भएको कम्पनीको सेयर मूल्य निरन्तर बढेर प्रतिकित्ता २०७९ रुपैयाँसम्म पुगेको थियो । करिब साढे एक महिनासम्म कम्पनीको सेयर मूल्य निरन्तर बढेर उक्त उचाईमा पुगेको थियो । त्यसपछिको कारोबारमा घटेर प्रतिकित्ता १९३० रुपैयाँमा झर्यो । आज चैत २५ गतेको कारोबारमा भने संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २३४४ रुपैयाँमा किनबेच भएको छ ।

यद्दपि, बजारमा कुनै पनि कम्पनीको सेयर मूल्य निरन्तर बढ्छ भन्ने हुँदैन । कुनैपनि कम्पनीको सेयर मूल्य मार्केट आफैले नै निर्धारण गर्छ । कहिले बढ्नु त कहिले घट्नु बजारको सुन्दर पक्ष हो ।

भोलिबाट अर्की दुलही भित्रदै

त्यस्तै, भोलि (चैत २५ गते) बाट दोश्रो बजारमा अर्की नयाँ दुलही भित्रिँदै छिन् । अर्की नयाँ दुलही अर्थात हालै आईपीओ जारी गरी बाँडफाँड गरेको ज्योति लाईफ इन्स्योरेन्स भाेलिदेखि दाेश्राे बजारमा प्रवेश गर्ने भएकाे छ । कम्पनीकाे सेयर कारोबार भोलिदेखि शुरु हुँदै छ । जसकाे पहिलो कारोबारको लागि नेप्सेले न्युनतम प्रतिकित्ता १२०.२९ रुपैयाँ र अधिकतम ३६०.८७ रुपैयाँ तोकेको छ । त्यस्तै, कम्पनीको ‘जेएलआई’ सिम्बोलबाट सेयर कारोबार हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.