सङ्क्रमण बढे पनि आतङ्कित हुनपर्ने अवस्था छैन: मन्त्री त्रिपाठी

  २०७७ चैत २४ गते १६:५६     विकासन्युज

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण बढे पनि आतङ्कित हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।

त्रिकाल प्रोडक्सनले आयोजना गरेको नेपाल स्वास्थ्य सम्मेलन–२०२१ को आज यहाँ उद्घाटन गर्दै उनले छिमेकी मुलुकमा कोभिड–१९ को सङ्क्रमण बढे पनि नेपालमा सङ्क्रमण बढ्न नदिने बताए । उनले भारतमा सङ्क्रमण बढ्दै गएकाले नेपालमा पनि फेरि सङ्क्रमणको जटिलता थपिएको बताए ।

उनले सीमा नाकामा एन्टिजेन परीक्षण गरेर सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गरिने जानकारी दिए । मन्त्री त्रिपाठीले सीमा नाकाबाट आउने सङ्क्रमितलाई राख्न आइसोलेसन, क्वारेन्टिन बनाउने कार्य पनि शुरु गरिएको बताए ।

उनले सञ्चारमाध्यमलाई पनि सङ्क्रमणको त्रास फैलाउने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गरे । ‘अहिले सङ्क्रमणको कारणले आतङ्कित हुनुपर्ने अवस्था छैन’, उनले भने, ‘आतङ्कित हुनु भनेको सङ्क्रमणलाई बढवा गर्नु हो । आतङ्कित नभई कोभिड–१९ को सावधानी र सतर्कता अपनाउनुपर्दछ ।’ मन्त्री त्रिपाठीले पुनः बन्दाबन्दीको अवस्थामा भने नजाने स्पष्ट पारे ।“हामी फेरि मुलुक बन्दाबन्दीको अवस्थामा जाओस् भनेर चाहँदैनौँ’, उनले भने, “बन्दाबन्दीभन्दा अगाडि गर्नुपर्ने महत्वपूर्ण कदम सरकारले चाल्न गइरहेका छ ।”

उनले चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ भोलिदेखि लगाउन शुरु गर्ने जानकारी दिए । भोलिदेखि ४० देखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई उक्त खोप दिइने छ ।

सम्मेलनमा नेपालका लागि अमेरिकाका राजदूत ¥याण्डी वेरीले अमेरिकी सरकारले नेपाललाई स्वास्थ्य क्षेत्रमा सहयोग पु¥याउँदै आएको भन्दै कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सहयोग गर्दै आइरहेको जानकारी दिए ।

सम्मेलनमा स्वास्थ्य क्षेत्रले भोगिरहेका चुनौती र कमजोरीमाथि छलफल गर्दै सरकारलाई स्वास्थ्य नीति निर्माणमा सहयोग पु¥याउने उद्देश्य रहेको छ । सम्मेलनमा स्वास्थ्य साक्षरता, कोभिड–१९ महामारी र दिगो विकास लक्ष्य स्वास्थ्य नीति पुनरावलोकनलगायत विषयमा बहस गरिने छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.