गण्डकी गाउँपालिका, जहाँ सुत्केरी महिलालाई ७ हजार रुपैयाँसम्म भत्ता दिइन्छ

  २०७७ चैत २३ गते १९:३६     विकासन्युज

काठमाडौं । नेपालको गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा पर्ने एउटा सुन्दर एवं रमणीय गाँउपालिका हो गण्डकी गाउँपालिका । यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रुपमा चर्चित हुनुका साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ । ८ ओटा वडा रहेको यो गाउँपालिका १ सय २३ दशमलब ८६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस गाउँपालिका भित्र विभिन्न जातजाती हरु मिलेर बसेका छन् ।

यो गाउँपालिकाको पूर्वतर्फ धादिङ जिल्ला, पश्चिममा चितवन जिल्ला, उत्तरमा शहिद लखन गाउँपालिका र गोरखा जिल्ला, त्यसैगरी दक्षिणमा धादिङ जिल्ला पर्दछन् । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के कस्ता छन् र त्यसैगरी रोजगारीको अवसर सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेलिरहेको छ भन्नेलगायतका विषयमा केन्द्रीत हुँदै हामीले यो सामग्री तयार पारेका छौं ।

कृषि विकास

गाउँपालिकाले कृषि विकासको क्षेत्रमा धेरै काम गर्दै आएको छ । कृषि विकासको लागि गाउँपालिकाले संघीय सरकार तथा स्थानीयस्तरबाट आएका कार्यक्रमहरु स्थानीय वडाका कृषकहरुसँग समन्वय गर्दै अघि बढाएको छ । गाउँपालिकाले ३ र ४ नं वडालाई कुखुरा पकेट क्षेत्रको रुपमा छुट्याएको छ भने वडा नं. १, ५, ६, ७ र ८ लाई बेमौशमी तरकारी खेती पकेट क्षेत्र तथा वडा नं. २ लाई चाहिँ सुन्तला पकेट क्षेत्रको रुपमा छुट्याएको छ ।

गाउँपालिकाले राम्रो कृषि उत्पादन गर्ने किसानलाई सामान्य पुरस्कारको व्यवस्था पनि मिलाएको छ । गाउँपालिकामा विभिन्न किसिमका अनुदानका कार्यक्रमहरु पनि रहेका छन् । गाउँपालिकाका करिब ७५ प्रतिशत नागरिकहरु कृषि पेशामा आवद्ध रहेका छन् । कृषिलाई व्यवसायिकरण र आधुनिकिकरण गर्नको लागि गाउँपालिकाले कृषकहरुलाई आग्रह गर्दै आएको छ ।

गाउँपालिकाका ठुला योजना

गाउँपालिकाको ठूलो योजनाको रुपमा सडक संजाललाई नै लिन सकिन्छ । आग्रीडाँडा, दलभञ्ज्याङ, रानीस्वारा कौदी, पौवा, हटिया, कुवापानी तथा बतासे भञ्ज्याङमा हाल सडक निर्माणको काम भइरहेको छ ।

शैक्षिक विकास

शैक्षिक क्षेत्रको सुधारतर्फ पनि गाउँपालिकाले धेरै काम गर्दै आएको छ । ९ ओटा माध्यमिक विद्यालय र ३६ ओटा आधारभूत गरी जम्मा ४५ ओटा विद्यालयहरु गाउँपालिकामा सञ्चालित छन् । विद्यालयहरुको भौतिक सुधारको कार्यक्रम पनि गाउँपालिकाले गरिरहेको छ । गरिब, जेहेन्दार तथा विपन्न बालबालिकालाई उच्च शिक्षाको लागि छात्रवृत्ती दिने कार्यक्रम पनि रहेको छ ।

गाउँपालिकाले स्थानीय स्रोत शिक्षकलाई तलब भत्ताको व्यवस्था गरेको छ भने विद्यालयहरुलाई अनुदान दिने व्यवस्था पनि मिलाएको छ । विद्यालयका भवनहरु पनि निर्माण भएका छन् । अत्तिरिक्त क्रियाकलाप र खेलकुद पनि विद्यालयमा हुने गरेको छ । गाउँपालिकामा नमुना विद्यालयहरु पनि सञ्चालनमा आएका छन् ।

स्वास्थ्य विकास

गाउँपालिकामा एउटा प्राथमिक स्वास्थ्य केन्द्र, ५ ओटा स्वास्थ्य चौकी, २ ओटा आधारभूत सेवा केन्द्र र १६ ओटा सामुदायिक स्वास्थ्य इकाईहरु रहेका छन् । नेपाल सरकारको नीति बमोजिम यहाँ १५ शैयाको आधारभूत अस्पताल पनि निर्माण भइरहेको छ । गाउँपालिकामा स्थानीय र करार गरी स्वास्थ्य शाखामा जम्मा ७२ जनाको दरबन्दी रहेको छ । गाउँपालिकाले आधारभूत स्वास्थ्यसेवाको नियमित उपलब्धताको सुनिश्चितताको लागि औषधीको नियमित आपूर्ति र भण्डारको व्यवस्था पनि मिलाएको छ ।

गाउँपालिकामा कूल ६६ जना स्वास्थ्यकर्मीहरु कार्यरत रहेका छन् । दीर्घरोगीहरुलाई गाउँपालिकाले निःशुल्क औषधिको पनि व्यवस्था मिलाएको छ । सुत्केरी महिलालाई ७ हजार रुपैयाँसम्म सुत्केरी भत्ता दिँदै आएको छ । आधारभूत स्वास्थ्य उपचारहरु गाउँपालिकामा नै हुने गरेको छ । महामारी रोग तथा सरुवा रोग लगायतका रोगहरुसँग लड्न गाउँपालिका लागि परेको छ । सबै बालबालिका तथा महिलाहरुलाई लगाउनु पर्ने खोप सुविधा समेत गाउँपालिकामा मौजुद रहेको छ ।

खेलकुद विकास

खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकामा खेलकुद समिति गठन भएको छ । खेलकुदका औपचारिक कार्यक्रम पनि गाउँपालिकामा हुने गरेका छन् । गाउँपालिकामा युवा क्लबहरू गठन भएका छन् ।

खेलकुद समिति र युवा क्लबहरूमार्फत विभिन्न किसिमका खेलकुदहरू आयोजना हुने गरेका छन् । प्रायः गरेर बक्सिङ्ग, भलिबल, टेबलटेनिस, कराँते, फुटवल लगायतका खेलहरू गाउँपालिकामा आयोजना गर्ने गरिएको छ । गाउँपालिकाका धेरै युवाहरू खेलकुदतर्फ उत्सुक छन् । गाउँपालिकाले खेल मैदानको पनि व्यवस्था मिलाएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा वडागत खेलकुद प्रतियोगिता पनि गाउँपालिकामा हुने गरेको छ ।

पर्यटकीय स्थल

गण्डकी गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । गाउँपालिकाले आन्तरिक तथा वाह्य पर्यटक ल्याउन जोड दिइरहेको छ । गाउँपालिकाले पर्यटकीय स्थलहरुको पहिचान गरी स्तरोन्नती र प्रचार गर्ने काम पनि अगाडि बढाएको छ । पर्यटकीयस्थलहरुको पहिचान गर्ने तथा मठमन्दिरहरुको निर्माण गर्ने काम पनि सँगसँगै अगाडि बढाइएको छ ।

यो गाउँपालिका धार्मिक हिसाबले महत्वपूर्ण त छ नै साथै पर्यटन विकास गर्ने हेतुले सो सम्बन्धी योजना पनि गाउँपालिकाले तयार पारिसकेको छ । भैरवी मन्थला, मन्थला मन्दिर, महादेव डाँडा, फुजेलर र बुट्टार आदि स्थानहरु गाउँपालिकाका पर्यटकीय स्थलहरुका रुपमा चर्चित छन् ।

नागरिकको समस्या

गाउँपालिकाको नगरिकहरु प्रायःजसो खानेपानी, बाटोघाटो, घरनक्सा पास, संस्था दर्ता, राहत सहयोग, रकम भुक्तानी, न्याय निरुपण, पशुपन्छीको रोग, कृषिसम्बन्धी लगायतका समस्याहरु लिएर आउने गरेका छन् ।

युवा रोजगारी

युवालाई रोजगार सिर्जना गर्नमा पनि गाउँपालिकाले ठुलो भूमिका खेलेको छ । युवालाई लक्षित गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम पनि गाउँपालिकामा सञ्चालन भएको छ । करिव १ हजार ३४ जना व्यक्तिले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारी पनि पाएका छन् ।

गाउँपालिकाले युवालाई निःशुल्क सिप विकास तालिम दिँदै आएको छ । यहाँका धेरै युवाहरु पशुपालन तथा कृषि पेशामा जोडिएका छन् । कृषि पेशा गर्ने युवालाई गाउँपालिकाले अनुदानको व्यवस्था पनि मिलाएको छ ।

जनप्रतिनिधीहरुतर्फको कुरा गर्नुपर्दा यस गण्डकी गाउँपालिकाका अध्यक्ष होम बहादुर राना मगर हुनुहुन्छ भने उपाध्यक्ष चाहिँ ललिता अधिकारी हुनुहुन्छ ।

(गाउँपालिकाका सूचना अधिकारी बेदहरि अधिकारीसँग गरिएको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.