क्यान्सर उपचारमा नर्भिकको फोकस, उपचारकाे संभावित सबै विकल्प खाेज्न ट्यूमर बोर्ड गठन

  २०७७ चैत २३ गते १७:०७     विकासन्युज

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा ट्यूमर बोर्ड गठन भएको छ । अस्पतालले साेमबार ट्यूमर बोर्ड गठन गरेकाे हाे ।

क्यान्सरबाट प्रभावित बिरामीहरुको उपचारमा संभावित सबै विकल्पहरु खोज्ने तथा विदेशकै स्तरीय उपचार सेवा दिने उद्देश्यले नर्भिकमा विशेषज्ञ चिकित्सकहरुको सहभागितामा ट्यूमर बोर्ड गठन भएको अस्पतालले जानकारी दिएकाे छ ।

याे संभवत नेपालकै ठूलो ट्यूमर बोर्ड भएकाे अस्पतालकाे दाबी रहेकाे छ ।

अस्पतालकाे अनुसार क्यान्सरका बिरामीलाई संभावित उत्तम उपचार विधिमा समावेश गर्ने हेतूले गठित ट्यूमर बोर्डमा हाल २३ जना विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहेको छ । बोर्डको आकार बिस्तारै बढाउँदै लगिने अस्पतालले जनाएको छ। यस्तो अभ्यास यूरोप/अमेरिकाका स्तरीय अस्पतालहरुमा समेत हुने गर्छ ।

बोर्डमा नर्भिकका अन्कोलोजिस्ट, प्याथोलोजिस्ट, ग्यास्ट्रोलोजिस्ट, गाइनेकोलोजिस्ट, जनरल तथा जीआई सर्जन, पेड्राटिसियन, न्यूरोलोजिस्ट लगायतका विशेषज्ञ चिकिसत्कहरुको सहभागिता छ । यस्तो टिममा अस्पतालको प्रशासन, व्यवस्थापनबाट समेत प्रतिनिधित्व हुने गर्छ ।

कुनै फरक खालको क्यान्सरको बिरामीको समस्या तथा त्यसको सही उपचार विधिको पहिचानका लागि समेत यस्ता खाले बोर्डमा छलफल हुने गर्दछ । बोर्डमा सहभागी विभिन्न विशेषज्ञ डाक्टरहरुको राय भिन्न भिन्न आउने भएकोले यस्तो समस्याको उपचारमा सबैभन्दा उत्तम विधिमा जान सकिने चिकित्सकहरु बताउँछन् ।

नर्भिक अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाका अनुसार बोर्डमा सहभागी विशेषज्ञहरुले कुनै बिरामीको सही उपचार योजनाको विषयमा साप्ताहिक रुपमा छलफल गर्ने गर्दछन् । कुनै एक विशेषज्ञले हेरिरहेको केसलाई सामूहिक रुपमा हेर्ने गरिन्छ र उपचार विधिलाई अझ गुणस्तरीय बनाउने कोशिश गरिन्छ ।

बोर्डमा कुनै बिरामी, उसको समस्या, भइरहेको उपचार विधि, उसका विभिन्न मेडिकल रिपोर्टहरुको विषयमा समेत छलफल हुने डा. झालर् बताए ।

सो क्रममा कुनै पनि क्यान्सरका बिरामीमा पहिचान भएको ट्यूमरको ग्रेडिङको विषयमा छलफल गरिन्छ । सोसँगै उपयुक्त उपचार विधिको विषयमा समेत बोर्डले निर्णय लिने गर्छ ।
‘विश्वमा हरेक दिन ट्यूमर तथा क्यान्सरको उपचारको विषयमा रिसर्चहरु भइरहेका हुन्छन् । विभिन्न इन्भेष्टिगेसनबाट फरक फरक रिजल्टहरु पनि आइरहेका हुन्छन् ,’ डा. झाले भने–‘उपचारका विधिहरु पनि नयाँ नयाँ आइरहेका हुन्छन् । अन्य देशमा अभ्यासमा ल्याइने आधुनिक विधिहरुलाई कसरी भित्र्याउने, वा त्यस्तै ढंगले कसरी यहाँ उपचार गर्न सकिन्छ भन्ने जस्ता विषय पनि बोर्डमा छलफल हुन्छ ।’

क्यान्सरको उपचारमा विशेष गरी मेडिकल अन्कोलोजिष्ट(औषधिको मद्धतबाट क्यान्सरका बिरामीको उपचार गर्ने व्यक्ति), सर्जिकल अन्कोलोजिष्ट(सर्जरीबाट क्यान्सरको उपचार गर्ने चिकित्सक) र रेडिएसन अन्कोलोजिस्ट(रेडिएसनको मद्धतले क्यान्सरको उपचार गर्ने चिकित्सक) को मुख्य भूमिका हुन्छ । बोर्डमा पनि यस्ता विज्ञको सहभागिता गराउने चलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.