प्रदेश सरकार र महासंघले कर्णालीमा लगानी सम्मेलन आयोजना गर्ने

  २०७७ चैत २० गते १८:४९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कर्णाली प्रदेशले कर्णालीमा संयुक्त रुपमा लगानी सम्मेलन आयोजना गर्ने भएका छन् ।

महासंघका अध्यक्ष शेखर गोल्छा सहित महासंघका पदाधिकारीहरू र कर्णाली योजना आयोगका उपाध्यक्ष डा. सर्व राज खड्का, सदस्य डा. दिपेन्द्र रोकाय र सदस्य योगेन्द्र बहादुर शाही समेतको प्रतिनिधिमण्डल बीच आज महासंघ सचिवालयमा भएको भेटवार्तामा संयुक्त रुपमा सम्मेलन आयोजना गर्ने सहमति भएको हो ।

सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले कर्णालीमा लगानीको पर्याप्त सम्भावना रहेको बताउँदै सरकारले त्यसको लागि सहजीकरण गरिदिनुपर्ने बताए । लगानीकर्ताहरूले कृषि, पर्यटन, जडिबुटी, जलविद्युत लगायतका क्षेत्रमा लगानी गर्ने समेत अध्यक्ष गोल्छाले बताए । उनले लगानीकर्ताहरुसंग महासंघले सहजीकरण गर्ने पनि जानकारी गराए । छलफलमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र अन्जन श्रेष्ठको पनि सहभागिता थियो ।

कर्णाली योजना आयोगका उपाध्यक्ष डा. खड्काले कर्णालीको विकासका लागि लगानी सम्मेलनको खाँचो भएकाले सम्मेलनको अवधारणा अगाडी बढाएको बताउँदै योजना आयोग र महासंघको संयुक्त पहल एवं लगानीमा सम्मेलन गर्दा प्रभावकारी हुने विश्वास व्यक्त गरे । कर्णाली प्रदेशमा परियोजना बैंक बनाएर लगानीको वातावरण सृजना गर्ने समेत डा. खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.