अब १० हजार फिट माथिको नेपाली आकाशमा इन्टरनेट चलाउन पाइने

  २०७७ चैत १८ गते १७:२४     विकासन्युज

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले १० हजार फिटमाथि उडान गर्ने वायुसेवा कम्पनीलाई इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । प्राधिकरणका अनुसार अनुसार अब नेपाली आकाशमा विदेशी वायुसेवा कम्पनीका यात्रुले इन्टरनेट प्रयोग गर्न पाउने भएका हुन् ।

गत चैत ९ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले साे निर्णय गरेको हो । यद्यपि, प्राधिकरणले नेपाली वायु सेवा कमपनीहरुलाई भने साे सेवा उपलब्ध गराउने छैन ।

प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार विदेशी वायुसेवा कम्पनीकाे विमान (जहाज) भित्र प्रयोग हुने ईन–फ्लाईट टेलिकम्युनिकेसन सर्भिसका लागि निवेदन आएमा स्वीकृति दिनेछ । उनले विदेशी वायुसेवा कम्पनीलाई आकाशमा इन्टरनेट सञ्चालनको लागि विभिन्न शर्त पनि राखेकाे पनि बताए ।

प्राधिकरणले १० हजार फिटभन्दा माथि उडान गर्नुपर्ने, अन्तर्राष्ट्रिय दूरसञ्चार संघ, अन्तर्राष्ट्रिय नागरिक उडड्यन संस्था (आइकाओ) ले तोकेका नियम तथा मापदण्डको पालना गर्नुपर्ने लगायतका शर्त पालना गर्नु पर्ने जनाएकाे छ । यी शर्त पालना गरेपछि मात्रै प्राधिकरणले सम्बन्धित विमानमा मोबाइल र इन्टरनेटको प्रयोगको अनुमति दिनेछ ।

यसअघि प्राधिकरणमा आकाशमा इन्टरनेट सेवा सञ्चालनका लागि ३ वटा कम्पनीले आवेदन दिएका थिए । विदेशी कम्पनीको माग (आवेदन) का आधारमा प्राधिकरणले नेपाल नागरिक उड्डयन प्राधिकरण, सञ्चार मन्त्रालय लगायतका निकायसँग छलफल गरी बोर्ड बैठकबाट सेवा सञ्चालनको अनुमति दिने निर्णय गरेको हो ।

यसअघि भारत र अफगानिस्तानले १० हजार फिटभन्दा माथिको आकाशमा इन्टरनेट सेवा प्रदान गर्दै आएका छन् । आकाशमा दूरसञ्चार सेवा उपलब्ध गराउने दक्षिण एसियाकै तेस्रो देश नेपाल बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.