बक्यौता भुक्तानी नगरेपछि स्मार्ट टेलिकमकाे सम्पत्ति रोक्का

  २०७७ चैत १८ गते १७:००     विकासन्युज

काठमाडौं । ५ अर्ब रुपैयाँ बढी बक्यौता रकम भुक्तानी नगरेको भन्दै नेपाल दुरसञ्चार प्राधिकरण (एनटीए)ले दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमको सम्पत्ति रोक्का गरेको छ । बक्यौता रकम भुक्तानीमा कम्पनीले वेवास्ता गरेको भन्दै प्राधिकरणले सेयर तथा सम्पत्ति हस्तान्तरणमा रोक लगाएको हो ।

प्राधिकरणले मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई सम्पत्ति रोक्का राखिदिन भन्दै पत्र पठाएको छ । स्मार्ट टेलिकमले अनुमतिपत्र नवीकरण, रोयल्टी, फ्रिक्वेन्सी दस्तुर जस्ता शीर्षकमा सरकार र प्राधिकरणलाई करिब ५ अर्ब रुपैयाँ बक्यौता रकम भुक्तानी गर्न बाँकी छ ।

लामो समयदेखि रकम भुक्तानी नगरेको भन्दै स्मार्ट टेलिकमलगायतका दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई प्रतिनिधि सभा अन्तरगतको अर्थ समितिले २०७५ सालको माघ महिनामा रकम भुक्तानीको निर्देशन दिएको थियो । विभिन्न निकायबाट पटक/पटक रकम भुक्तानीको निर्देशन दिएपनि स्मार्ट सेलले रकम भुक्तानी गर्न आलटाल गर्दै आएको छ ।

बक्यौता रकम भुक्तानी गर्न थप समय

गत चैत १ गते बसेको मन्त्रिपरिषद् बैठकले स्मार्ट टेलिकमलाई बाँकी बक्यौता रकम भुक्तानी गर्न चार महिनाको समय दिएको थियाे । फागुन महिनासम्मको समय रहेको उक्त कम्पनीलाई असार मसान्तसम्मको म्याद थप गरिएको थियो ।

गत भदौ २९ गतेको मन्त्रिपरिषद् बैठकले स्मार्ट टेलिकमलाई फागुन मसान्तसम्म अन्तिम पटकको समय दिएको थियो । मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार दुरसञ्चार प्राधिकरणले तोकिएको समयमा बक्यौता रकम भुक्तानी नगरे सरकारको अधिनमा रहने बताएको थियो ।

यस्तै प्राधिकरणले बक्यौता रकम भुक्तानी नगरेको भन्दै २०७६ को कात्तिकमा कम्पनीको लाइसेन्स नै खारेज गर्ने निर्णय गरेको थियो । तर मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको उक्त निर्णय उल्टाएको थियो ।

स्मार्ट सेलले २०७६ भदौँ मसान्तसम्म २ अर्ब ३२ करोड बढी रकम सरकारलाई बुझाउनुपर्ने थियो । मन्त्रिपरिषद्को निर्णय अनुसार स्मार्ट सेलले पहिलो किस्ता बापतको रकम २०७६ को मन्त्रिपरिषद्ले गत वर्ष पुसमा स्मार्टलाई ५ किस्तामा बक्यौता तिर्ने सुविधा दिएको थियो । हरेक आर्थिक वर्षभित्र बक्यौता बुझाउनुपर्ने भएतापनि उक्त कम्पनीले तोकिएको समयमा रकम भुक्तानी गरेको छैन् ।

स्मार्ट टेलिकमले प्राधिकरणमा अनुमतिपत्र नविकरण दस्तुरबापत मात्रै पहिलो किस्तामा ५९ करोड ८८ लाख ६८ हजार रुपैयाँ बुझाउनुपर्ने थियो । प्राधिकरणले तोकिदिएअनुसार स्मार्टले दोस्रो किस्ताबापत ८३ करोड २३ लाख रुपैयाँ, तेस्रो किस्ताबापत ७७ करोड ४० लाख रुपैयाँ, चौथो किस्ताबापत ७१ करोड ५६ लाख रुपैयाँ र पाँचौं किस्ताबापत ६५ करोड ७२ लाख रुपैयाँ बुझाउनु पर्ने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.